कोशी


विराटनगरमा भाटभटेनीबाट लुटिएका सामान फिर्ता गराउँदै पारुल

विराटनगरमा भाटभटेनीबाट लुटिएका सामान फिर्ता गराउँदै पारुल

नेपालखबर
भदौ २८, २०८२ शनिबार १६:३२, विराटनगर

विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्री शनिबार दिउँसो घरमा हस्याङ फस्याङ गर्दै जुत्ता लगाउँदै थिए। उनी कुनै ठाउँमा जान हतारिएका थिए। 

उनी यहाँस्थित भाटभटेनीबाट लुटिएका सामान फिर्ता गराउने अभियानमा छन्। उनी यो अभियानमा लागेको दुई दिन भयो।

जेनजी आन्दोलनको मौकामा यही भदौ २४ गते दिउँसो उच्छृंखल समूहले भाटभटेनीमा लुटपाट गरेको थियो।

पारुल अहिले त्यही सामान खोजीखोजी फिर्ता गराउने अभियानमा लागेका हुन्। 

यसका लागि उनले लुटपाटमा संलग्न व्यक्तिहरूबारे जानकारी दिन र सामान फिर्ता गराउनका लागि सहयोग गर्न भनी माइकिङ गर्दै तथा सामाजिक सञ्जालमा भिडिओ सन्देश राखी आग्रह गरिरहेका छन्।  

यसपछि मानिसहरूले दिएको सूचनाका आधारमा उनले चोरेर लगिएका सामान सम्बन्धित पक्षलाई फिर्ता गराइरहेका छन्। 

शनिबार बिहान पनि उनले विद्यार्थीहरू बस्ने कोठामै पुगेर तपाईँहरूले भाटभटेनीबाट के के सामान ल्याउनुभएको छ, त्यो तपाईँहरू नै फिर्ता गरिदिनुस् भनेका थिए। विद्यार्थीहरूले सुरुमा ल्याएको छैन भने पनि पछि सामान फिर्ता दिएका थिए। 

‘अहिलेसम्म एक्लो ज्यान लागिरहेको छु, कोही नेता, कोही सांसद, कोही मेयर, कोही जनप्रतिनिधिहरू अहिलेसम्म छैनन्, अभियन्ता पारुलले भने, ‘विराटनगरलाई मुर्दा सहर बनाउनु त भएन नि, हामी अझै ज्युँदै छौँ।’

चोरिएका सामानहरूको भिडिओ सार्वजनिक गरेपछि मान्छेहरू डराएर सामान फिर्ता गर्न थालेको उनको भनाइ छ। 

त्रिमूर्ति चोक, सरोचिया, झरना चोक, जतुवाबाट सामान फिर्ता ल्याइसकेको सुनाउँदै क्षेत्रीले यो अभियान सुरु भएपछि धेरै ठाउँबाट खबर आइरहेको बताए। 

विराटनगरमा हरित अभियान सञ्चालन गरिरहेका क्षेत्री अहिले भाटभटेनीबाट चोरी भएका तथा लुटिएका सामान फिर्ता गराउने काममा लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad