भान्सामा काम गर्दै गरेकी ५२ वर्षीया एक महिलाको अनुहारमा गम्भीर चोटका निशान छन्। विवाहको ३३ वर्षमा उनले धेरै कष्ट भोगिन्-श्रीमानको मदिरा सेवन, बारम्बार कुटपिट, गालीगलौज, र घरमै असुरक्षित जीवन।
प्रहरीलाई पटक–पटक खबर गरे पनि सुधार भएन। अन्ततः छिमेकीको सहयोगमा मात्रै उनको ज्यान जोगियो। उनले आफ्नै घरमा सुरक्षित महसुस गर्ने अधिकार कहिले पाउने भन्ने प्रश्न अझै बाँकी छ।
यो पीडादायी अनुभव कोशी प्रदेशमा महिलामाथि हुने हिंसाको सामान्य चित्रमात्र हो। महिला पुनर्स्थापना केन्द्र (ओरेक) र तरंगिनी फाउन्डेसनले बुधबार विराटनगरमा संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रियामा महिलाको अबस्थाको बारेमा गरिएको अध्ययन सार्वजनिक गरेको छ।
जनवरीदेखि जून २०२५ सम्म संकलन गरेको तथ्याङ्क अनुसार उदयपुर, सुनसरी र मोरङमा महिलामाथि भएका २११ घटनामध्ये १४० घटना, अर्थात् ६६.४ प्रतिशत घरेलु हिंसासँग सम्बन्धित छन्।
ओरेक कार्यक्रम संयोजक शोभा बजगाईँले सोचको कारणले गर्दा आज पनि महिलाको शरीरमाथि स्व–निर्णय स्थापित हुन नसकेको बताइन्। परिवार महिलाका लागि सबैभन्दा सुरक्षित स्थल हुनुपर्ने हो तर त्यहीँ महिलामाथि सबैभन्दा बढी हिंसा भइरहेको उनले बताइन्।
प्रतिवेदनअनुसार, घरेलु हिंसा १४० घटना (६६.४ प्रतिशत), यौन हिंसा ४६ घटना (२१.८७ प्रतिशत), सामाजिक हिंसा १२ घटना (५.७५ प्रतिशत), र अन्य १३ घटना (६.२४ प्रतिशत) रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
सामाजिक हिंसामा बहुविवाह, बालविवाह, चरित्र हत्या र गालीगलौज, अन्यमा विद्युतीय अपराध, सार्वजनिक अपमान र अलपत्र पार्ने घटनाहरू समावेश छन्।
ओरेकले भनेको छ,‘यी त सार्वजनिक भएका घटनाहरू मात्र हुन्। अझै सयौं महिलाहरू पितृसत्तात्मक सोच, न्यायिक प्रक्रियाको ढिलासुस्ती र परिवार समाजबाटको बहिष्कारका कारण मौन बस्न बाध्य छन्।’
ओरेकले महिलामाथि हुने हिंसा अन्त्यका लागि सामाजिक चेतना अभिवृद्धि, न्यायमा सहज पहुँच, कानुनी कार्यान्वयन र दिगो सामाजिक न्याय आवश्यक ठहर गरेको छ। तरंगिनी फाउन्डेसनका कार्यक्रम संयोजक रोमा रिजालले महिलामाथि हुने हिंसा निजी विषय नभई यो समाजकै संरचनागत समस्या भएको बताइन्।
समाधानका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको जानकारी दिइन्। कार्यक्रममा फाउन्डेसनले गर्दै आएको कामको बारेमा जानकारी गराइएको थियो।
Shares

प्रतिक्रिया