कोशी


एमाले कोसी प्रदेश कमिटी बैठक धनकुटामा, जनप्रतिनिधिलाई जवाफदेही बनाउने प्रस्ताव

एमाले कोसी प्रदेश कमिटी बैठक धनकुटामा, जनप्रतिनिधिलाई जवाफदेही बनाउने प्रस्ताव

नेपालखबर
साउन २७, २०८२ मंगलबार २०:२८, विराटनगर

नेकपा एमालेको कोसी प्रदेश कमिटी बैठक धनकुटामा सुरु भएको छ।

पार्टी सङ्गठन सुदृढीकरण, संरचना परिमार्जन, वार्षिक कार्य योजना, बजेट र सदस्यता प्रणालीमा सुधारबारे विस्तृत छलफल गर्न बैठक केन्द्रित भएको छ। मङ्गलवार सुरु भएको बैठक दुई दिनसम्म चल्नेछ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले ‘मिसन–८४’ अभियानलाई अगाडि बढाउने, महिलाको क्षेत्रमा क्रियाशीलता र पहुँच विस्तार गर्ने, युवालाई रोजगारी, व्यवसाय र इमानदारितासँग जोडेर पार्टी र सङ्गठन परिचालन गर्न सबैलाई आग्रह गरे।

मिसन ८४ लाई लक्षित गरेर अहिले देखि नै अभियान चलाउनु पर्ने भएकोले जनप्रतिनिधिहरूको कामलाई प्रत्यक्ष जनताको समस्यासँग सम्बन्धित बनाउनेमा केन्द्रित हुन निर्देशन दिए।

उनले  विद्या भण्डारीलाई लक्षित गर्दै भने, ‘पार्टी भित्रका विभिन्न टिका टिप्पणीहरू केन्द्रीय कमिटीको बैठक पछि अन्त्य भएका छन्, पार्टीलाई सबै सङ्गठनहरूलाई परिचालन गरेर जानु पर्छ।’ 

महासचिव पोखरेलले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको संविधानबिचको भिन्नता स्पष्ट गर्दै पार्टीभित्रका असन्तुष्टि र भ्रम चिर्ने प्रयास गरेका थिए।

बैठकबारे प्रदेश बारेमा जानकारी दिँदै प्रदेश कमिटी सचिव राजकुमार भण्डारीले बैठकमा ३९ जना सदस्यहरूले सक्रियता पूर्वक सहभागिता जनाएको जानकारी दिए।

भण्डारीका अनुसार, बैठकमा प्रदेश र स्थानीय तहमा सङ्गठनलाई थप प्रभावकारी बनाउन पार्टी बैठकको नियमितता, युवा र जनसङ्गठन परिचालन, सरकारका कामलाई जनताको आवश्यकतासँग जोड्ने र स्थानीय जनप्रतिनिधिलाई जिम्मेवार बनाउने विषयमा छलफल भएको छ।

बैठकमा सहभागी सदस्यहरूले पार्टीको सङ्गठनात्मक संरचना सानो बनाउनु पर्ने, विभिन्न तहका कमिटीमा आवश्यक सङ्ख्या कटौती, सङ्गठनभित्र अराजकता र गलत गतिविधि रोक्ने र सदस्यता प्रणालीलाई दुई प्रकारमा वर्गीकरण गर्ने प्रस्ताव राखेका छन्। 

हालैको सदस्यता विवाद र संवैधानिक पदाधिकारीको भूमिकाबारे समेत बैठकमा चर्चा भएको छ। 

केही सदस्यहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रसङ्ग उठाउँदै ठूला संवैधानिक पदमा रहेकाले सक्रिय राजनीतिमा फर्किन नहुने धारणा राखे पनि केहीले भने सदस्य बन्न रोक्ने कुरा ठिक नभएकोले सदस्य खुला राख्न सकिने सुझाव दिए।

बैठकमा विधि–पद्धति, प्रणाली र पदाधिकारीको सदस्यता सम्बन्धी प्रष्टता ल्याउने विषयमा समेत छलफल भएको सचिव भण्डारीले जानकारी दिए।

बैठकलाई समग्रमा सकारात्मक भएको उल्लेख गर्दै पार्टीलाई सङ्गठनात्मक रूपमा अझ सुदृढ बनाउन सबैको प्रतिबद्धता दोहोर्‍याइएको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad