कोसी प्रदेशमा पछिल्लो ७ वर्षमा ९९ जनाको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको छ। आर्थिक वर्ष २०७५/०७६ सालमा सबै भन्दा धेरै ४९ जनाको एकै वर्षमा हात्तीको आक्रमणबाट मृत्यु भएको तथ्याङ्कमा देखिन्छ। त्यसपछि गत आर्थिक वर्ष २०८१/०८२ मा हात्तीले १३ जनालाई आक्रमण गरी मारेको छ।
त्यस्तै अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १० जना, आर्थिक वर्ष २०७७/७८ मा ९ जनाको हात्तीको आक्रमणबाट मृत्यु हुँदा २०७९/८० मा ८ जना, २०७८/७९ मा ७ जना र २०७६/०७७ मा३ जनाको मृत्यु भएको कोसी प्रदेश वन निर्देशनालयले जनाएको छ।
सरकारी तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०८१/०८२ सम्मको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट ९९ जनाको ज्यान गएको छ। यस्तै, सोही अवधिमा करिब २१ वटा जङ्गली हात्तीको पनि मृत्यु भएको उल्लेख गरिएको छ।
एक वर्षको अवधिमा १४ जनाले जङ्गली जनावरको आक्रमणबाट ज्यान गुमाएका छन्। त्यस मध्ये १३ जना हात्तीको आक्रमणबाट ज्यान गुमाउने छन्। आर्थिक वर्ष २०८१/०८२ मा वन्यजन्तुबाट भएको क्षति तथा राहत विवरणको तथ्याङ्क अनुसार १४ जनाको मृत्यु हुँदा १ करोड ३९ लाख राहत सरकारले उपलब्ध गराएको छ।
जङ्गली जनावरको आक्रमणबाट ४ जना गम्भीर घाइते भएका, १ जना साधारण घाइते, घर गोठ १७६ वटा भत्काएको छ। यो एक वर्षको अवधिमा प्रदेश सरकारले २ करोड २७ लाख १५ हजार९९९ रुपैयाँ राहत उपलब्ध गराएको प्रदेश वन निर्देशनालय धरानले जनाएको छ।
हात्तीबाट भएको मानव तथा भौतिक क्षतिको राहत स्वरूप हालसम्म ७ वर्षको अवधिमा करिब १० करोड ५९ लाख रुपैयाँ बराबरको राहत रकम वितरण गरिएको सरकारी तथ्याङ्क छ।
२१ वटा हात्ती मारिए
आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म ९९ जनाको हात्तीको आक्रमणबाट मृत्यु हुँदा २१ वटा हात्ती मारिएका छन्। यो ७ वर्षको बिचमा सबैभन्दा धेरै हात्ती २०८०/०८१ सालमा ६ वटा मारिएका छन्।
गत आर्थिक वर्षमा ५ वटा हात्ती मारिँदा आर्थिक वर्ष २०७५/०७६ र २०७९/०८० मा ३/३ वटा हात्ती मारिएका थिए। आर्थिक वर्ष २०७८/०७९ मा २वटा, २०७६/०७७ र २०७७/०७८ मा एक एक वटा हात्तीको मारिएको सरकारी तथ्याङ्क छ।
कोसी प्रदेश वन निर्देशनालयको आयोजनामा दुई दिनसम्म चलेको समीक्षा कार्यक्रममा वन क्षेत्रको सुदृढीकरणकोलागि तल्लो तहबाट आएको सुझावलाई कार्यान्वयन गर्न नसकिएको निष्कर्ष निकालेको छ।
वन्यजन्तुबाट हुने क्षतिको राहत वितरणको कार्य तथा गस्ती परिचालनमा खटिने वन कर्मचारीको सुरक्षा तथा बिमाका सन्दर्भमा निर्देशिकामा समावेश गरेर जाँदा धेरै समस्या समाधान हुने सुझावहरू आएको निर्देशक डा।इन्द्रप्रसाद सापकोटाले जानकारी दिए।
कोसी प्रदेशमा प्रदेश तथा सङ्घीय सशर्त तर्फ वन तथा वातावरण क्षेत्रमा कुल विनियोजित १ अर्ब ८२ करोड ११ लाख ७० हजार मध्ये कुल खर्च १ अर्ब ४९ करोड ३४ लाख २३ हजार खर्च भएको निर्देशक डा।सापकोटाले बताए। यसबाट ८२ प्रतिशत वित्तीय प्रगति भएको उल्लेख गरे।
Shares

प्रतिक्रिया