मोरङबाट प्रहरीले जरायोको सिङ सहित दुई जनालाई पक्राउ गरेको छ। मोरङको पथरीशनिश्चरेबाट वन्यजन्तु जरायोको सिङसहित दुई जना पक्राउ परेका व्यक्तिको बारेमा सोमबार प्रहरीले जानकारी गराएको हो।
पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राईलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए।
विशेष सूचनाका आधारमा निरज गुरुङको गएको प्रहरी टोलीले खानतलासी गर्दा ३ वटा जरायोको टाउकोसहितको सिङ फेला परेको चिमरियाले बताए। गुरुङको घरबाट ३ जोर (६ वटा) सिङ बरामद भएको छ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सब डिभिजन वन कार्यालय पथरीको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
जरायोको सिङ कहाँबाट ल्याइएको थियो भनेर यकिन भइसकेको छैन। वन कार्यालयले थप अनुसन्धान अघि बढाएको छ।
Shares

प्रतिक्रिया