कोशी


वडाध्यक्षले ‘हुलहुज्जत’ गरेको बिर्तामोडका उपमेयरको आरोप

कार्की भन्छन्ः सामाजिक सञ्जालमा के लेखेको भनेर स्पष्टीकरण माग्न गएको हुँ
वडाध्यक्षले ‘हुलहुज्जत’ गरेको बिर्तामोडका उपमेयरको आरोप

नेपालखबर
साउन १५, २०८२ बिहिबार २१:५५, विराटनगर

बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की र नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाबीच कार्यकक्षमै भएको भनिएको झडपलाई लिएर विवाद चुलिएको छ।

नेकपा एमाले बिर्तामोड नगर कमिटीले कार्कीले उपप्रमुखमाथि ‘गुण्डागर्दी र कुटपिट प्रयास’ गरेको आरोप लगाउँदै घटनाप्रति आपत्ति जनाएको छ। 

एमाले नगर कमिटीले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलामाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीले बुधबार हुलहुज्जतसहित उपप्रमुखको कार्यकक्षमा प्रवेश गरी गालीगलौज तथा अभद्र व्यवहार गरेको भन्दै एमाले नगर कमिटीले आपत्ति जनाएको हो।

एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनप्रतिनिधि जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट यस्तो असभ्य र अपमानजनक व्यवहार हुनु निन्दनीय र भर्त्सनायोग्य रहेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘कार्यालयमा बेखाएको गुण्डागर्दी र अशोभनीय हर्कतले स्वयम् वडाध्यक्षको चरित्र उजागर भएको छ।’

घटनाका सम्बन्धमा पार्टीले कानुनको पालना गर्दै दोषीहरूमाथि आवश्यक कारबाही हुनुपर्ने माग गरेको छ।

‘कुनै पनि सार्वजनिक वा निजी स्थानमा हुलहुज्जत गर्ने, कानुन हातमा लिने छुट कसैलाई छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘उपप्रमुखमाथि कुटपिटको प्रयास गर्ने वडाध्यक्ष अजय कार्की र अन्य संलग्न सबैलाई कानुनी दायरामा ल्याइनुपर्छ।’

साथै, एमालेले सबै जनप्रतिनिधिहरूलाई सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी नगरी जिम्मेवारपूर्ण ढंगले जनताको सेवामा क्रियाशील रहन पनि अपील गरेको छ।

घटनाका सम्बन्धमा उपप्रमुख संग्रौलाले भने, ‘वडा सदस्य र मलाई पैसा खाएको भन्दै प्रचार गर्दै हिँडेको छ। अहिले पनि ठाउँठाउँमा बोलेर हिँडिरहेको छ। यस्तो झुटा आरोप सहनु कि प्रतिकार गर्नु भन्ने बारेमा  हैरान छु।’

विवाद भएको दिन वडा अध्यक्ष कार्की झण्डै ३०–३५ जना समूह लिएर उपप्रमुखको कार्यकक्षमा पुगेका थिए।

संग्रौलाले भने, ‘त्यहाँ हातपात नभए पनि रक्सीको मातमा आएका केही व्यक्तिहरूले अशोभनीय व्यवहार देखाए।’

वडाअध्यक्ष अजय कार्कीले आफू स्पष्ट हुन मात्रै त्यहाँ पुगेको बताएका छन्।

कार्कीले भने, ‘कता हान्नु हो हामी जस्ता पीडित मान्छेलेहरू कुट्ने कुरा होइन, नगरपालिकाको एक पोस्टमा उपमेयरले अपमानजनक कमेन्ट लेखेका थिए। त्यसको स्पष्टीकरण माग्न गएका थियौँ।’

कार्कीका अनुसार, केही दिनअघि सामाजिक सञ्जालमा नगरपालिका सम्बन्धी एउटा पोस्टमा आफूहरूलाई ‘नागरिकता बेचुवा’ भनी टिप्पणी गरिएको थियो।

‘उहाँले अदालतको फैसला लम्ब्याएर चुनाव जित्ने, फेरि भोट हाल्नुपर्ने भनेर लेख्नुभएको रहेछ। त्यसैको बारेमा सोध्न गएको मात्र हो,’ कार्कीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad