कोशी


प्रदेश सभामा किसानका कुराः खेतमा राखिएका ब्याड सुके, मकै सुत्लामै मर्न थाले

प्रदेश सभामा किसानका कुराः खेतमा राखिएका ब्याड सुके, मकै सुत्लामै मर्न थाले

नेपालखबर
साउन ११, २०८२ आइतबार १७:३२, विराटनगर

कोसी प्रदेश सभाका सांसदहरूले तत्काल नागरिकलाई राहत दिने खालको कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन्।

कोसी प्रदेश सभामा आइतबारको शून्य समयमा बोल्दै सांसदहरूले किसानले मध्य वर्षामा समेत पानी नपर्दा किसानहरू खेत बाँझै राख्नु पर्ने अवस्थामा रहेकाले त्यसको समस्या समाधानमा सरकारका तर्फबाट गरिनु पर्ने पहलहरू नभएकोले तत्काल अध्ययन विश्लेषण गरी समस्या समाधानमा ध्यान दिन आग्रह गरे। 

झापाका प्रदेश सभा सदस्य गोपालबहादुर विश्वकर्माले पानी नपर्दा किसानले सास्ती बेहोरेको बताए।  अन्न भण्डारको रूपमा रहेको झापा, मोरङ र सुनसरीमा किसान लक्षित कार्यक्रम ल्याउन आग्रह गरे।  

तेह्रथुमकी प्रदेशसभा सदस्य कमला दर्नालले खडेरीका कारण किसानहरू मारमा परेको बताइन्। कोसी प्रदेशमा ६१ दशमलव ६९ प्रतिशत मात्रै खेत रोपाई भएको प्रदेश कृषि निर्देशनालयसँगको तथ्याङ्क जानकारी दिँदै १४ जिल्लामा सबैभन्दा कम ताप्लेजुङमा करिब ४४ प्रतिशत र तेह्रथुममा ४८ प्रतिशत मात्रै रोपाइँ भएको बताइन्।

किसानका समस्या बढ्दो रहेको बताउँदै दर्नालले भनिन्,  ‘सभामुख ज्यू, कतिपय स्थानहरूमा खेत रोप्ने सिजन सकिएको छ, तर केही ठाउँमा साउन १५ गतेसम्म धान रोप्न पाए हुन्थ्यो भनेर किसान आकाश हेरेर धान रोपाइँ गर्न पर्खिएर बसेका छन्। खेतमा राखिएका ब्याडहरू सुके, मकैहरू सुत्लामै मर्न थालेको अवस्था छ।’

उनले भनिन्, ‘सरकारले १४ जिल्लाकै अध्ययन गरी समस्याको समाधान निकाल्न आग्रह गर्दछु।’ 

अर्का प्रदेश सभा सदस्य सुनिताकुमारी गुरुङले किसाने मल, बिउ, पानी नपाउँदा अहिले अवस्था दर्दनाक बन्दै गएका बताइन् । किसानले धान रोप्ने बेलामा पानी नपर्दा समस्या भोगिरहेको भए पनि अलिअलि पानी भएका ठाउँमा पनि किसानले मल नपाएको सुनाइन्। 

सांसद गणेश उप्रेतीले धान रोपाइँको बेलामा समेत सरकारले किसानलाई नचिनेको बताए। नजिकै रहेको साल्ट्रेडिङ  र कृषि कम्पनी लिमिटेडले किसानको गुनासालाई सुनुवाइ नगरेको आरोप लगाउँदै मल वितरणलाई व्यवस्थित गर्न माग गरे।

हात्ती आतङ्क 
झापाका प्रदेश सभा सदस्य होमबहादुर थापाले हात्ती समस्याको बारेमा जानकारी गराए। आज बिहान ४ बजेतिर बाटो हिँडिरहेका २जनालाई घाइते बनाएको बताए।

एक जनाको दुवै खुट्टा भाँचिदिएको र एक जनाको कम्मर भाँचिएकोले उपचारको व्यवस्था मिलाउन उनले सभामुख मार्फत ध्यानाकर्षण गराए।

सदनमा कुरा उठाउने तर कुरा सेलाउने गरेको भन्दै सदनमा उठेका विषयलाई समाधान गरेर जान सरकारलाई उनले आग्रह गरे। हात्ती आक्रमणको दिगो समाधान निकाल्न उनले सरकारसँग माग गरे। 

प्रदेश सभा सदस्य मानबहादुर लिम्बुले मोरङको बेलवारी नगरपालिका ८ बाँसबारीका किस्मत राजवंशीको खेत हिल्याउन पानीको मुहानमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी गराए। त्यस्तै अर्का अमित लिम्बु घाइते भएको जानकारी दिए। उनले मृतक र घाइतेको उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरे। 

अर्का प्रदेश सभा सदस्य मैयाँ श्रेष्ठले  प्राकृतिक प्रकोप, त्यसबाट निम्तिएको विपद्ले गरेको क्षतिको बारेमा  जानकारी गराउँदै पुल बनाउने विषयमा अझै पनि धेरै समस्या हुँदै आएको बताइन्।  सोलुखुम्बुका सांसद गम्बु शेर्पाले सिखु खोलाले ल्याएको गेग्र्यानका कारण दुधकोशीमा रहेको पुल पिलर बाङ्गिएको र पुरेको बारेमा जानकारी गराए। 

७६सालमा ठेक्का लागेको पुल सञ्चालनमा नआउँदै पुरिएपछि यसको प्राविधिक  डिजाइन माथि नै प्रश्न उठाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad