पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत निर्माण हुने प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास भएको छ।
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वविद्यालयले अब नेतृत्वदायी भूमिका निर्वाह गरेर विदेश पलायन हुने विद्यार्थीहरूलाई रोक्न सक्ने धारणा व्यक्त गरे।
संरचनाहरू सुधार्दै अगाडि बढेमा तुलनात्मक रूपमा कम लागतमा गुणस्तरीय शिक्षा दिन सकिने बताए। यसले विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्न सक्ने मुख्यनमन्त्री कार्कीको भनाइ छ।
मुख्यमन्त्री कार्कीले नेपालमा नै विदेशी विद्यार्थी ल्याएर अध्ययन गराउन सक्ने वातावरण बनेमा देशको आर्थिक समृद्धिमा टेवा पुग्ने र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा बिजु थपलियाका अनुसार विश्वविद्यालयकै स्रोतमा यो अस्पताल निर्माण कार्य सुरु गरिएको हो। उनले पहिलो चरणमा १२ करोड ४ लाख रुपैयाँ लागतमा अस्पताल निर्माणको काम आगामी २०८३ सालको पुस महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको बताए।
पूर्ण रूपमा निर्माण सम्पन्न गर्न करीब ४३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको र पहिलो चरण सम्पन्न भएपछि थप संरचना निर्माणको काम अघि बढाइने उपकुलपति थपलियाले जानकारी दिए।
शिलान्यास गरिएको उक्त अस्पताल मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित विश्वविद्यालय परिसरभित्र निर्माण हुनेछ। विश्वविद्यालयले शिक्षण अस्पतालको सेवा र स्तर वृद्धि गर्ने उद्देश्यले नयाँ अस्पताल निर्माण थालेको हो।
Shares

प्रतिक्रिया