कोशी


खोटाङबाट सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएका शिशुको उपचारका क्रममा मृत्यु

खोटाङबाट सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएका शिशुको उपचारका क्रममा मृत्यु

नेपालखबर
साउन ६, २०८२ मंगलबार १३:५७, खोटाङ

खोटाङ जिल्ला अस्पतालमा जन्मिएका शिशुको काठमाडौँमा लगेर उपचार गर्ने क्रममा मृत्यु भएको छ।

शल्यक्रियामार्फत जन्माइएका शिशुलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो। 

शिशुलाई समस्या देखिएपछि गर्भवतीका लागि राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत आमासहित शिशुलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो।

जिल्ला अस्पतालमा सोमबार शल्यक्रियामार्फत जन्मिएका शिशुको काठमाडौँको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको हो। 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्क मालाका जानुका खत्री र सर्वकुमार खत्रीको दोस्रो सन्तानका रूपमा जन्मिएका शिशुको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन्। उद्धार गरिएका शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ। 

जन्मिएलगत्तै श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि थप उपचारका लागि शिशुलाई आमासहित काठमाडौँ पठाइएको अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले बताए।

जन्मिने समय एक हप्ता नाघेपछि पनि व्यथा नलागेपछि शल्यक्रियामार्फत बच्चा निकालिएको अस्पतालले जनाएको छ। तीन पटकसम्म औषधि चलाउँदा समेत व्यथा नलागेपछि शल्यक्रिया गरिएको डा सङ्ग्रौलाले बताए।

शिशुको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीले घटना भएको आरोप लगाउन थालेका छन्। 

गत असार २२ गते ५० शय्यामा स्तरोन्नति गरिएको जिल्ला अस्पतालमा दक्ष जनशक्ति र आवश्यक उपकरण नहुँदा उपचारमा आउने बिरामीका लागि दैनिकजसो हेलिकप्टर चार्टर गरेर अन्यत्र लैजानुपर्ने बाध्यता छ।

बिना पूर्वाधार कोसी प्रदेश सरकारका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति भएको घोषण गरेदेखि नै आलोचना सुरु भएको थियो। 

विक्रम संवत् २०४९ वैशाख १ गते स्थापना भएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नतिका लागि निर्माणाधीन भवन अलपत्र अवस्थामा छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad