इलामको माईजोगमाई गाउँपालिका-२ का २३ वर्षीय प्रकाश चापागाईको छुरा प्रहारबाट हत्या गर्ने आरोपमा एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले सुर्योदय नगरपालिका-१ का ३३ वर्षीय किरण शेर्पालाई मानेभञ्ज्याङबाट पक्राउ गरेको हो।
असार ३२ गते राति सुर्योदय नगरपालिका-१ स्थित ससुराली घरमा आएका प्रकाश चापागाई र उनका दाजु ३२ वर्षीय निरोज चापागाईमाथि सामान्य विवादको क्रममा किरण शेर्पाले धारिलो हतियार प्रहार गरेका थिए।
छुरा प्रहारबाट प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने दाजु निरोज गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। हाल निरोजको उपचार झापाको बी एण्ड सी अस्पताल, बिर्तामोडमा भइरहेको छ।
घटनापछि फरार रहेका शेर्पालाई खोजतलासका क्रममा मानेभञ्ज्याङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया