धरान उपमहानगरपालिकामा मेयर र उपमेयरको झगडाले आर्थिक वर्षको अन्त्य मा भुक्तानी गर्नुपर्ने ठूलो रकम रोकिएको छ। मेयरले बहुभाषिक पाठशाला जोगाउन लगाइएको तार जाली (मालमिटर)को पैसा भुक्तानी नहुँदासम्म अरू पैसा भुक्तानी हुन नदिने अडान कसेपछि अहिले मेयर उपमेयरको झगडाले धरानको अन्य भुक्तानीका कार्यहरू पनि रोकिएको कर्मचारीहरूले बताएका छन्।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र उपमेयर आइन्द्रविक्रम बेघाका बिचमा श्रमदानको नाममा पैसा वितरण गरिएको विषयमा उत्पन्न विवादका कारण आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट नीति तथा कार्यक्रम आउन त सकेन नै भुक्तानी गर्नुपर्ने रकमसमेत भुक्तानी हुन सकेको छैन। यस विषयले मेयर राई र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंको बिचमा समेत दुरी बढेको छ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले प्रमुख प्रशासकीय अधिकृतलाई करिब दुई महिनादेखि रोकिएको योजनाको भुक्तानीबारे कारण खुलाउन निर्देशन दिएका छन्। मेयर राईले जारी गरेको पत्रमा धरान–१६ मा बाढीबाट बहुभाषिक पाठशाला जोगाउन लगाइएको तार जाली (मालमिटर) को भुक्तानीका लागि सम्झौता र प्रक्रिया पूरा भइसकेको अवस्थामा समेत अहिलेसम्म भुक्तानी नदिइएको भन्दै कारण स्पष्ट गर्न पत्र काटेका हुन्।
पत्रमा ‘योजनाको सार्वजनिक परीक्षण समेत भइसकेको तर भुक्तानी नहुनुको कारण के हो?’ उनले सोधेको स्पष्टीकरणमा उल्लेख गरिएको छ।
‘एक योजनाको भुक्तानी गर्ने तर अर्कोलाई नदिने विभेदपूर्ण अभ्यास भएको आशङ्का व्यक्त गरिएको छ,’ उनले पत्रमा भनेका थिए, ‘एउटै योजनामा भुक्तानी रोकिँदा अन्य योजनाहरूको भुक्तानी समेत प्रभावित भई असहज परिस्थिति सिर्जना भएको छ। समाधान कसरी खोज्न सकिन्छ लिखित जवाफ पेस गर्न आदेश दिइन्छ।’
मेयर राईले बहुभाषिक पाठशालाको तार जाली लगाएको रकम भुक्तानी नगरिएपछि अन्य फाइल समेत कब्जामा लिएको उपमहानगरपालिका स्रोतले जनाएको छ। सबै प्रक्रिया पूरा भएर आएका फाइलहरू पनि अहिले मेयरले कब्जामा लिएर सबै भुक्तानी रोकिदिएको महानगरपालिकाका कर्मचारीहरूले बताएका छन्।
स्रोतका अनुसार, अहिले ३५–४० वटा भुक्तानी फाइल थन्किएका छन्, जसमा पाँचदेखि सात करोड रुपैयाँसम्मको दायित्व रोकिएको छ।
मेयर राईले पुराना विवाद समाधान नभएसम्म कुनै भुक्तानी नगर्ने भन्दै फाइलहरू कब्जामा लिएपछि भुक्तानीहरू रोकिएका छन्।
‘पहिलेको विवाद समाधान नगरी कुनै पनि भुक्तानी नगरिने भनेपछि सबै फाइल रोकिएका छन्’ स्रोतले भन्यो, ‘यसकै कारण नगरपालिकाको भुक्तानी प्रक्रिया ठप्प छ।’
भुक्तानी रोकिँदा ठेकेदारदेखि सेवाग्राहीसम्म प्रभावित भएका छन् भने आगामी आर्थिक वर्षका लागि आर्थिक दायित्व पनि थपिँदै जाने कर्मचारी बताउँछन्। रोकिएका फाइलहरूको रकमबारे अझै यकिन तथ्याङ्क नआए पनि करिब ७ करोड रुपैयाँ भन्दा बढी भुक्तानी रोकिएको बताइएको छ।
नगरपालिकाका एक कर्मचारीले भने, ‘फाइल तयार गरेर प्रमुख प्रशासकीयकोमा पुगेका फाइलहरू तथा लेखा शाखामा पठाइएका फाइलहरू समेत मेयरका अडानका कारण सबै प्रक्रियाहरू ठप्प भएको हो।’
स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृतले मेयरलाई विवाद टुङ्ग्याउन आग्रह गरेका छन् तर सहमति नजुटेपछि स्थिति थप जटिल भएको हो। आर्थिक वर्षको अन्त्यमा भएको यस्तो विवादले सर्वसाधारणका काम त रोकिन्छन् नै भुक्तानी प्रक्रिया समेत लामो समयसम्म अवरुद्ध हुने देखिएको छ। भुक्तानीको लागि असार २४ गतेसम्म फरफारक हुनु पर्ने व्यवस्था छ।
मेयरले काम गर्न असहज परिस्थिति सिर्जना गरेपछि प्रमुख प्रशासकीय अधिकृत चौलागाइँ सरुवा लिएर अन्यत्र जाने तयारीमा लागेको कर्मचारी स्रोतले जनाएको छ।
Shares

प्रतिक्रिया