नेपाल सरकारको नयाँ कर नीतिविरुद्ध नेपाल सुन चाँदी व्यवसायी संघ विराटनगर, मोरङ निरन्तर आन्दोलनमा छ। व्यवसायीले आइतबार विराटनगरमा मोटरसाइकल र्याली निकालेका छन्।
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा सुन गहनाको बिक्रीमा २ प्रतिशत विलासी कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) थप गरेको तथा सुन आयातमा पहिले नै १० प्रतिशत भन्सार महसुल रहेको भन्दै व्यवसायी आन्दोलित बनेका हुन्।
असार १३ गतेदेखि अनिश्चितकालीन पसल बन्द गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीले शुक्रबार पैदल र आइतबार मोटरसाइकल र्याली गरेर विरोध जारी राखेका छन्।
आइतबार विराटनगरको ट्राफिक चौकस्थित सन्सारी माईस्थान मन्दिरबाट सुरु भएको र्याली १० किलोमिटर टाढा पुगेर महेन्द्र चौकमा फर्किएर विरोधसभामा गरेको थियो।
विरोधसभामा नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगरका अध्यक्ष शशिभुषण साहले सरकारले गलत कर नीति लागू गरी कर आतङ्क मच्चाएको आरोप लगाउँदै खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए।
महासंघको कोशी प्रदेश समितिका कोषाध्यक्ष मनोज अग्रवाल, प्रदेश सदस्य महेशकुमार साह स्वर्णकार, संघका संस्थापक सदस्य जुगलकिशोर राठीलगायतले सरकारले जनतालाई भार पर्ने गरी ल्याएको कर नीति सच्याउन माग गरेका थिए।
संघमा हाल १२५ भन्दा बढी व्यवसायी आवद्ध छन्। आइतबारको मोटरसाइकल र्यालीमा दुई सय भन्दा बढी व्यवसायी सहभागी थिए।

प्रतिक्रिया