कोशी


सहकारीको ऋण नतिर्ने सदस्यलाई कारबाही गर्ने महानगरको चेतावनी

सहकारीको ऋण नतिर्ने सदस्यलाई कारबाही गर्ने महानगरको चेतावनी

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १४:५७, विराटनगर

विराटनगर महानगरपालिकाले सहकारी संस्थाहरुका ऋणी सदस्यहरुलाई ऋणको सावाँ र ब्याज चुक्ता गर्ने सम्बन्धी सूचना जारी गर्दै ऋणको सावा र ब्याज नतिर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

एक सूचना जारी गर्दै विराटनगर महानगरपालिकाले पछिल्लो समयमा कतिपय सदस्यहरुले आफ्नो नाममा लिएको ऋण चुक्ता नगरी अरु संस्थामा सदस्यता लिने, शेयर खरिद गर्ने, पुनः ऋण लिने जस्ता कार्य गरिरहेको पाइएकोले अधिकांश संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेको जनाएको छ।

सूचनामा भनिएको छ, ‘सहकारी संस्थामा सदस्यहरुको बचत रकम नै ऋण स्वरुप सदस्यहरुलाई प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै नियमानुसार आफूले लिएको सावाँ तथा व्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्ता समयमै हुन नसकी थप जटिलता सिर्जना हुन जान्छ।’

विराटनगर महानगरपालिकाको सहकारी ऐन, २०७५ (दोश्रो संशोधन, २०८०) को परिच्छेद १४ को दफा ५८ देखि दफा दफा ६५ र विराटनगर महानगरपालिकाको डड सहकारी नियमावली, २०७७ को नियम १९ देखि नियम २३ मा सहकारी संस्थाहरुले कानुनी तवरले ऋण तथा बाँकी बक्यौता असुल उपर गर्ने सम्बन्धी व्यवस्थाहरु रहेको समेत महानगरले जानकारी गराएको छ। 

सहकारी संस्थाहरुलाई आफ्ना शेयर सदस्यहरुको बचत समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ समेत थप क्रियाशील रहन महानगरले सूचना मार्फत ध्यानाकर्षण गराएको छ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले जारी गरेको सूचनामा सहकारी संस्थाबाट लिएको ऋण तिर्ने जिम्मेवारी स्वयम् सदस्यकै हुने भएकोले सम्पूर्ण ऋणी सदस्यहरुलाई प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवम् मापदण्डको बर्खिलाप नहुने गरी जुन सम्झौता वा शर्त बमोजिम ऋण लिएको हो सो बमोजिम ऋणको सावाँ, व्याज लगायतका रकम सम्बन्धित सहकारी संस्थामा समयसीमाभित्रै चुक्ता गर्न भनिएको छ। 

जिम्मेवार शेयर सदस्यको कर्तव्य पूरा गरी वित्तीय अनुशासन कायम गर्दै सहकारी संस्थाहरुको कारोबारलाई मर्यादित र पारदर्शी तवरले सुसञ्चालन गर्न सहयोग पुर्‍याउन महानगरपालिकाले आग्रह गरेको छ। स्वावलम्बन र पारस्परिकता सहकारी संचालनको आधारभूत मूल्य मान्यता भएको स्मरण गराउँदै  वर्तमान समयमा सहकारी ऐन, कानुन अनुसार सदस्यहरुले गर्ने सम्पूर्ण आर्थिक कारोबार पारदर्शी र नियमानुसार गर्न पनि भनेको छ।

विराटनगर महानगर पालिका सहकारी  शाखा प्रमुख चाँदनी राईले सहकारीबाट रकम उठाउन समस्या भएकोले सहयोग गरिदिन आग्रह आएपछि महानगर पालिकाले ताकेतम सहितको सूचना गरिदिएको बताइन्। 

सहकारी डुब्ने अबस्थामा आउँदा पनि सदस्यहरूले सावाँ तथा ऋण तिर्न  चसो नदिएपछि महानगरले सबैलाई ऋण चुक्ता गर्न आग्रह गरिएको उनले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad