कोसी प्रदेश सभाका सांसदहरूले सडक दुर्घटना न्यूनीकरण, सांसदहरूले माग गरेका योजनाहरूको श्रोत सुनिश्चित तथा आगलागी पीडितहरूले अहिलेसम्म राहत तथा क्षतिपूर्ति पाउन नसकेको विषयहरू उठान गरेका छन्।
कोसी प्रदेशको सातौँ अधिवेशनको मङ्गलवारको आठौँ प्रदेश सभाको बैठकमा बोल्ने अधिकांश सांसदहरूले नागरिकका समस्यालाई सम्बोधन गर्ने गरी काम गर्न सरकारलाई आग्रह गरेका हुन्।
प्रदेश सभाको शून्य समयमा बोल्दै उदयपुरका सांसद गीतादेवी रेग्मीले उदयपुर, सिन्धुली र मकवानपुरका नागरिकको जीवन स्तर सुधार गर्नको लागि बनेको मदन भण्डारी राजमार्ग अहिले जनताको लागि अभिशापको रूपमा अघि बढ्दै गएको हो कि भन्ने त्रास सिर्जना भएको बताइन्।
उनले भनिन, ‘मदन भण्डारी राजमार्ग नागरिकका लागि वरदान हो कि अभिशाप!’
उनले यो राजमार्ग अन्तरगतको उदयपुर जिल्लामा मात्रै वैशाख महिनामा १७८ वटा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएकोले यो असाध्यै ठूलो विषय भएको प्रदेश सभालाई जानकारी गराइन्।
उदयपुर, सिन्धुली र मकवानपुरवासीको भाग्य र भविश्यसग जोडिएको भित्री मधेशको यो राजमार्गको दुर्घटना न्यूनीकरणका लागि सरकारले योजना बनाउनु पर्ने बताइन्।
राजमार्गमा अत्यधिक दुर्घटना भएको, दैनिक एउटा दुर्घटना भएको, उदयपुरको अँधेरी क्षेत्रमा धेरै दुर्घटना भएको जानकारी दिइन्। घुम्ती र मोडहरूको इन्जिनियरिङलाई मिलाउन आवश्यक भएको समेत माग गरिन्।
उदयपुरका अर्का सांसद हिमाल कार्कीले नैतिकताको खडेरी भएको भन्दै भिजिट भिसाको नाममा गृहमन्त्रीमाथि आक्रमण भएको बताए। उनले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु गलत भएको बताए। माननीयहरूले पैसा नमागेको तर विकास निर्माण मार्फत जनतासँग जोडिएर माग गरिएको योजनाका विषयहरू सांसदले माग गरेको योजनामा यथेष्ट बजेट विनियोजन गर्न आग्रह गरे।
इलामका सांसद गोविन्द गिरीले इलाम क्षेत्र नम्बर २ ९१०मा पर्ने इलामको राक्सेङ–काँक्रेभञ्ज्याङ–जीतपुर–बेलासे–सोक्तिम सडक दुवै तिरबाट कटान भएर आवत जावतमा समस्या भएको बताए। ६ किलोमिटर बाटो बन्द भएको बताउँदै पटक पटक जानकारी गराएको भए पनि त्यसको बारेमा सरकार गम्भीर नभएको, पटक पटक बजेट माग गर्दा पनि काम हुन नसकेको जानकारी दिए।
चालु वर्षमा ५ लाख विनियोजन भएको बजेट कहिले पुग्छ थाहा छैन, देउमाई र इलाम नगरपालिकाको पहलमा भत्किएको सडक पुर्ने कामे भए पनि प्रदेश सरकारले विनियोजन गरेको ५ लाख कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना गरे। नेपाल टार–मङ्गलवारे सडक पनि अस्तव्यस्त भएकोले त्यस सडकलाई बजेट सुनिश्चित गर्न माग गरे।
भोजपुरका प्रदेश सभा सदस्य विनोद राईले पहाड भित्तामा बस्नेलाई सङ्कटै सङ्कट आएको जानकारी दिए। भोजपुरमा २०८१ वैशाख ४ गतेदेखि एकै दिन आगलागी ३ ठाउँमा आगलागी भएको जानकारी दिए।
भोजपुरमा ५० घरहरूमा आगलागी भएको बताउँदै एक जना बालकको जलेर मृत्यु हुँदा समेत राहत र क्षतिपूर्ति नपाएको उनले बताए। आगलागी रोकथामको लागि सूचना तथा सन्देश, टिनको छाने निर्माण गर्ने र पीडितलाई राहत र क्षतिपूर्ति दिने विषयमा सरकार गम्भीर बन्न आग्रह गरे।
Shares

प्रतिक्रिया