कोशी


कोसीकी एक जना सांसदले कर्णाली पुगेर खल्लो बनाएको अन्तर प्रदेश छलफल

कोसीकी एक जना सांसदले कर्णाली पुगेर खल्लो बनाएको अन्तर प्रदेश छलफल

सुमन सुस्केरा
जेठ ३, २०८२ शनिबार २०:५१, विराटनगर

कोसी प्रदेशसभाका सभामुख, उपसभामुख राजनीतिक दलका प्रमुख सचेतक सचेतक तथा कोसी प्रदेशसभा सचिवालयका कर्मचारीहरू अन्तर प्रदेश अनुभव आदानप्रदानका लागि कर्णाली प्रदेशमा पुग्छन्। 

वैशाख २४ गते त्यहाँका सभामुख, उपसभामुख र सचिवालयका कर्मचारीहरूसँगको समय मिलाइन्छ। कोसीबाट कर्णालीमा पुगेको प्रदेशसभाका पदाधिकारी तथा सचिवालयका कर्मचारीहरूसँग  छलफल कार्यक्रमको आयोजना गरिएको हुन्छ। सबै जना भेला हुन्छन्। पाहुनाहरूलाई स्वागत गर्न कर्णाली प्रदेशसभा सचिवालयका कर्मचारीहरू लागिरहेकै हुन्छन्। 

सभामुख,उपसभामुख सहितको दलका प्रमुख सचेतकहरू पुगेकाले पनि फूलका बुकेहरू सहित खाँदा र मालाले स्वागत गरिन्छ। अनि औपचारिक छलफल सुरु हुनभन्दा अघि सहभागीहरूलाई बस्ने ठाउँमा नेम प्लेटसहितको व्यवस्था गरिएको हुन्छ।  

सहभागीहरूलाई आसन ग्रहण गराइन्छ। कर्णाली प्रदेशमा सांसदहरूको नेम प्लेट राख्ने नियम अनुसार नै पूर्व तयारी गरेर सबैको नेमप्लेट राखिएको थियो। सभामुख, उपसभामुख, प्रमुख सचेतक, सचेतक  तथा प्रदेश सभा सचिवालयका कर्मचारीको नामहरू र पदसमेत उल्लेख गरिएको थियो। 

यसरी राखिएको नाममा सुरुमा सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार, नेपाली कांग्रेस संसदीय दलका सचेतक शोभा पालुङवा, त्यसपछि नेकपा माओवादीका प्रमुख सचेतक गीता तिम्सिना, लगत्तै राप्रपा संसदीय दलका सचेतक गोपालबहादुर विश्वकर्मा अनि त्यसपछि नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक विद्या चाम्लिङ पछि जनता समाजवादी पार्टी (जसपा)का सचेतक निर्मला लिम्बूको नाम राखिएको थियो। 

यही नामपछिको आफ्नो पदमा निर्मला लिम्बूले असन्तुष्टि जनाइन्। कार्यक्रममा सहभागी एक सांसदका अनुसार, आफू संसदीय दलको नेता भएको तर हेपेर  बोर्डमा सचेतक लेखिएको भन्दै कार्यक्रमबाट जुरुक्क उठिन् र बाहिर निस्किन्।

‘आफू दलको नेता भएको हैसियतले पनि सभामुख उपसभामुखपछि वरियतामा आफू पर्ने दाबी उहाँले गर्नुभएको थियो’, सहभागी एक सांसदले भने, ‘मुख्य कुरा उहाँको पदमा सचेतक लेखिएको रहेछ अनि सभामुख, उपसभामुख नजिकै उहाँको बस्ने व्यवस्था नहुँदा उहाँ रिसाउनु भएको थियो।’

जब कार्यक्रम अगाडि बढ्दै गयो, त्यसपछि उनले आफ्ना असन्तुष्टि व्यक्त गर्दै बाहिरिन्। सानो दल भएको, दलको नेतामा महिला भएको र त्यसमा पनि लिम्बू भएका कारण आफूलाई हेपिएको उनले कार्यक्रमै भन्न भ्याएकी थिइन्। जसपा सांसद निर्मला लिम्बू र कोसी प्रदेशसभा सचिवालयका निमित्त सचिव गौतम अमात्य एउटै सोफामा थिए।

अमात्यले त्यहाँको सचिवालयलाई समन्वय गरे र नेम प्लेट फेर्न आग्रह गरे। त्यो बेलासम्म लिम्बू कार्यक्रमबाट बाहिरिसकेकी थिइन्। उनी कर्णाली प्रदेशसभा भवनको बाहिर फोनमा कुरा गरेजस्तो गर्दै व्यस्त भएको कर्णाली प्रदेश सभा सचिवालय स्रोतले जनाएको छ। 

सांसद लिम्बूले असन्तुष्टि जनाएको बारेमा कार्यक्रम स्थलमा सबैलाई थाहा भइसकेको थियो। कार्यक्रम अघि बढ्दै गयो त्यसपछि कोसी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार लिम्बूलाई फकाउन बाहिर निस्किन्। 

उपसभामुख दनुवारले उनलाई निकै सम्झाउने प्रयास गरे पनि उनले नमानेको निकट स्रोत बताउँछ। ‘माननीय निर्मला लिम्बू रिसाएको थाहा पाएपछि उपसभामुखज्यू फकाउन बाहिर जानुभएको थियो,’ कर्णाली प्रदेश सभा सचिवालय स्रोतले भन्यो,  ‘उपसभामुखज्यूको कुरालाई पनि उहाँले खासै वास्ता गर्नुभएन बाहिरै बस्नुभयो।’

लगत्तै कर्णाली प्रदेशसभाका उपसभामुख यशोदा न्यौपाने पनि सम्झाउन पुगिन्। उपसभामुख न्यौपानेले केही कमीकमजोरी त्रुटि भएको भए क्षमा गर्न आग्रह गर्दै उनले माफी मागिन्। अनि मात्र सांसद लिम्बू भित्र जान राजी भएको सचिवालय स्रोत बताउँछ।

घटनाको बारेमा प्रदेशसभा सदस्य निर्मला लिम्बूलाई नेपाल खबरले सम्पर्क गरी जानकारी लिँदा उनले आफू महिला भएकै कारण दलको नेताको हैसियत नदिएको गुनासो गरिन्। लिम्बूले भनिन् , ‘सुरुमा सभामुख उपसभामुख बसिसक्नु भएपछि यता हाम्रोतर्फ नेपाली कांग्रेसको शोभा माननीयज्यू बस्नुभयो त्यसपछि गीता मान्य ज्यू बस्नुभयो, क्रमशः  त्यसपछि विद्या माननीयज्यूलाई बोलाइयो, मलाई चाहिँ तपाईँ यहाँ बस्नु भनेर उहाँहरूले छेउमा बोलाउनुभयो। मलाई अन्तिममा राख्नुभयो।’

कोसी प्रदेशसभा सचिवालयले भने यो विषय सभामुख, उपसभामुख, प्रमुख सचेतक, सचेतकसँग जोडिएकोले यो कुनै ठूलो समस्या नभएको बताएको छ। निमित्त सचिव गौतम अमात्यले सामान्य प्राविधिक विषय भएकोले खासै ठूलो समस्याको रूपमा लिन नहुने बताए।

माओवादी केन्द्रका प्रमुख सचेतक गीता तिम्सिनाले कोसी प्रदेशकै टिममा बसेर छलफल गर्नुपर्ने विषय कार्यक्रममा सार्वजनिक हुनु सुहाउँदो नदेखिएको टिप्पणी गरिन्। ‘कतिपय अवस्थामा उताको कमीकमजोरी थियो भने त्यसलाई सहज रूपमा हामीले लिन सक्नुपर्थ्यो’, उनले भनिन्, ‘हाम्रोतर्फबाट कमीकमजोरी थियो भने टिमभित्रै बसेर यसलाई समीक्षा गरेर मिलाउनु पर्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad