गृहमन्त्री रमेश लेखकले संविधान संशोधन अहिलेको समयको आवश्यकता भएको बताएका छन्।
नेपाल प्रेस युनियन मोरङद्वारा बुधबार आयोजित पत्रकारसँगको छलफल’ कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनको १० वर्षपछि संशोधन आवश्यक भएको बताए।
संविधान कार्यान्वयनको दशकपछि अभ्यासका क्रममा देखिएका कमजोरीहरुको विश्लेषण गरेर सुधार गर्न संशोधन अपरिहार्य देखिएको उनको भनाइ छ।
लेखकले यसका लागि नेकपा एमाले र नेपाली कांग्रेसबीच संयुक्त कार्यदल गठनको विषयमा छलफल भइरहेको पनि जानकारी गराए।
त्यस्तै गृहमन्त्री लेखकले प्रहरी समायोजन गर्ने नीति सरकारको रहेको भएपनि विधेयक समितिमा रहेकाले सांसदहरूले नै सहयोग गर्नुपर्ने बताए।
‘संसद्को अधिकारलाई मन्त्रीले केही गर्न सक्दैन’, उनले भने, ‘विधेयक अहिले समितिमा रहेकोले समितिबाट आउने वितिकै अघि बढ्छ। उनले ७० वर्ष पुरानो कानुन र नियमावलीको आधारमा प्रहरी चलिरहेको समेत बताए।
‘२०१२ सालको ऐनले प्रदेशमा प्रहरी रहने कुरा उल्लेख गरेको छैन’, लेखकले भने, ‘त्यसैले कानुनी तथा नीतिगत व्यवस्थामार्फत मात्रै प्रहरी समायोजन सम्भव छ।’
प्रहरी संगठनलाई व्यवसायिक, स्थिर र अनुमानयोग्य बनाउने कार्य सुरु गरिएको भन्दै उनले अहिले प्रहरी ऐन, नागरिकता ऐन र सशस्त्र प्रहरी ऐन राज्य व्यवस्था समितिमा विचाराधीन अवस्थामा रहेको उल्लेख गरे।
Shares

प्रतिक्रिया