कोशी


ताप्लेजुङमा बोलेरोमा आगलागी: ललितपुरवासी आमाछोरालाई काठमाडौँ लाने तयारी

ताप्लेजुङमा बोलेरोमा आगलागी: ललितपुरवासी आमाछोरालाई काठमाडौँ लाने तयारी

ताप्लेजुङमा सोमबार बिहान करेन्टले जलेको बोलेरो।


नेपालखबर
बैशाख ८, २०८२ सोमबार ९:४५, विराटनगर

सोमबार बिहान ताप्लेजुङमा गुडिरहेको बोलेरो गाडीमा करेन्टबाट आगलागी हुँदा गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लाने तयारी गरिएको छ।

आज बिहान ताप्लेजुङबाट पाथिभरातर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा करेन्ट प्रवाह भई एक्कासि आगो लागेको हो। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। 

घाइते भएका ललितपुरवासी ४५ वर्षीया सविना आचार्य र उनका छोरा १० वर्षीय भविमय आचार्यलाई  फुङ्लिङस्थित जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपश्चात् काठमाडौँ लग्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। 

प्रहरी निरीक्षक बस्नेतका अनुसार उनीहरूलाई अन्नपूर्णको हेलिकप्टरबाट काठमाडौँको ह्याम्स हस्पिटल लग्ने तयारी भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनामा एकै परिवारका ३ सदस्यसहित ४ जनाको मृत्यु भएको छ। 

दुर्घटनामा झापा भद्रपुर-८ स्थित अस्पताल चोकका  ७० वर्षीय  विनोद पौडेल, उनकी पत्नी ६९ वर्षीया सरिता पौडेल, उनीहरूकै छोरीतर्फकी नातिनी ललितपुर महानगरपालिका-१० वासी १६ वर्षीया आध्या आचार्यको मृत्यु भएको हो। 

त्यस्तै दुर्घटनामा बोलेरोका चालक फुङलिङ नगरपालिका-१० का दुर्गा भट्टराईको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुई जनालाई भने तत्काल उद्धार गरी बचाउन सकिएको प्रहरीले जनाएको छ।

आज बिहान करिब ५ बजे बिजुलीको पोलबाट चुँडिएर सडकमा लत्रिएको तारमा बलेरो गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad