कोशी


कोसी प्रदेशमा लगानी सम्मेलनको तयारी,  ५४ परियोजनामा डेढ खर्ब भित्र्याउने लक्ष्य

कोसी प्रदेशमा लगानी सम्मेलनको तयारी,  ५४ परियोजनामा डेढ खर्ब भित्र्याउने लक्ष्य

सुमन सुस्केरा
बैशाख ३, २०८२ बुधबार ११:२, विराटनगर

कोसी प्रदेश सरकारले १ खर्ब ३९अर्बको लगानी भित्र्याउन अन्तिम चरणमा पुगेको जनाएको छ। 

लगानी सम्मेलनबारे विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले लगानीको वातावरण बनाई ५४ परियोजनाको १ खर्ब ३९ अर्ब सोकेसिङका लागि सुनिश्चितसहित लगानी भित्र्याउने गरी लगानी  सम्मेलनको तयारी भएको सरकारले जनाएको छ। 

लगानी सम्मेलनमा विषयगत सत्रहरूमा कृषि, पर्यटन, ऊर्जा, उद्योग स्वास्थ्य सेवा, पूर्वाधारका विविध पक्षमा छलफल हुने प्रदेश सचिव  पवनकुमार तिमिल्सेनाले जानकारी दिए। लगानी सम्मेलनमा आठ वटा क्षेत्रका करिब ५४ वटा परियोजना सोकेस हुने प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताए। 

कोइरालाका अनुसार, पर्यटनको १५ वटाबाट ३७ अर्ब ९७ करोड, भौतिक पूर्वाधारको १४ वटाको ३१ अर्ब १ करोड, कृषिमा ९ परियोजनाको ३ अर्ब ८ करोड, उद्योग क्षेत्रमा ९ वटाको ६५ अर्ब ४० करोड,  इनर्जीमा ३ योजनाको २ अर्ब ७७ करोड आईटिसीमा २ वटाको ४७ करोड, उत्पादनमा ६० करोडको परियोजना सोकेसिङ हुनेछ।

लगानी सम्मेलनमार्फत प्रदेशमा लगानीको लागि आवश्यक स्रोतको सुनिश्चितता गरी औद्योगिकीकरणको वातावरण सिर्जना हुने सरकारको दाबी छ। प्रदेश लगानी प्राधिकरणका अध्यक्ष एवं कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा स्वदेशी, निजी एवम् प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नवीनतम प्रविधि तथा ज्ञान परिचालनका लागि यो सम्मेलनले आधार तय गर्नेछ। 

साथै कानुनी र नीतिगत एवं प्रक्रियागत सुधार गरी प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण हुने बताए। ‘यो सम्मेलनपछि कोसी प्रदेश नेपालकै एक प्रमुख लगानी गन्तव्यको रूपमा परिचित र स्थापित हुने अपेक्षा गरिएको छ’, उनले भने,  ‘लगानी सम्मेलनले प्रदेशको दोस्रो आवधिक योजनाले आर्थिक विकासमा लिएका लक्ष्य पूरा गर्दै ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन सोच हासिल गर्न प्रत्यक्ष रूपमा सहयोग पुग्नेछ।’


मुख्यमन्त्री कार्कीका अनुसार कोसी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ घोषणा गरेर प्रदेशमा नयाँ उत्साह र जाँगर पैदा गरेको अवस्थामा पर्यटनमार्फत प्रदेशको समृद्धिलाई अगाडि बढाउन सकिन्छ भन्ने विश्वासका साथ घोषणा सँगसँगै कार्यान्वयनमा ल्याइएको बताए। मुख्यमन्त्री कार्कीले सय भन्दा बढी  योजना आए पनि सफल बनाउने खालका योजनाहरूलाई मात्रै अघि सारिएको बताए।

कार्कीका अनुसार प्रदेश सरकार यति बेला आर्थिक समृद्धि र विकासका लागि कोसी प्रदेश सरकारले कोसी प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्दै रोजगारी सिर्जना गर्न र व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्नका लागि आगामी वैशाख १८ र १९ गते विराटनगरमा लगानी सम्मेलन गर्ने मिति तय गरेर काम अघि बढिरहेको छ।

लगानी सम्मेलनमार्फत कोसी प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न सम्भावनाका नयाँ क्षेत्रहरू खोजी गरी उद्योगहरू स्थापनामार्फत पूँजी निर्माण, गरिबी निवारण र रोजगारी सिर्जना गर्नका लागि प्रेरित गर्ने उद्देश्य सरकारले लिएको छ। लगानी सम्मेलन पहिलो पटक आयोजना गर्न लागिएकोले स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा लगानी सम्मेलनको तयारी अगाडि बढेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए। 

आवश्यक पर्ने कानुनी प्रवन्धकोलागि पनि काम भइरहेको उनेले जानकारी दिए। कोसी प्रदेशमा सार्वजनिक, निजी साझेदारी अन्तर्गतका परियोजनाहरूलाई कार्यान्वयनका लागि सरलीकृत वातावरण निर्माण गर्न कानुनी, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गर्ने मन्त्री भण्डारीले जानकारी दिए। 

प्रधानमन्त्रीले उद्घाटन गर्ने भनिएको सम्मेलनमा ७ देशका विदेशी लगानी कर्ता र एनआरएनको सहभागीता रहने भनिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad