कोशी


गणतन्त्रका पक्षमा एमालेले दमकमा ‘एक लाख’ कार्यकर्ता उतार्दै, सम्बोधन गर्न प्रधानमन्त्री ओली आउँदै

गणतन्त्रका पक्षमा एमालेले दमकमा ‘एक लाख’ कार्यकर्ता उतार्दै, सम्बोधन गर्न प्रधानमन्त्री ओली आउँदै

दमकमा शनिबार हुने एमाले जागरण सभाका लागि भइरहेको तयारी।


सुमन सुस्केरा
चैत ३०, २०८१ शनिबार ९:४६, विराटनगर

नेकपा एमालेले आज (चैत ३० गते) झापाको दमकमा जनप्रदर्शनसहित जागरण सभा गर्दै छ।

एमाले कोसी प्रदेश कमिटीको आयोजनामा लोकतन्त्र, गणतन्त्र र संघीयताविरुद्ध अराजक गतिविधि हुन थालेपछि नागरिकलाई सचेत गराउन जागरण सभा गर्न लागेको हो।

जागरण सभालाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।

जागरण सभाको पूर्वसाध्यमा शुक्रबार मोटरसाइकल र्‍याली निकालिएको थियो।

आज बिहानैदेखि तयारी तीव्र पारिएको नेकपा एमाले कोसी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।

अवाञ्छित शक्तिहरूले लोकतन्त्र, गणतन्त्र र संघीयता अराजक गतिविधि गर्न थालेपछि जागरण सभा गर्नुपरेको उनको भनाइ छ।

सभाका क्रममा बिहान १० बजेदेखि कलाकार टोलीले सांस्कृतिक कार्यक्रम गर्ने बताइएको छ।

त्यसपछि पश्चिमतर्फ गोरखा डिपार्टमेन्ट स्टोरबाट र्‍यालीसहित कार्यक्रम स्थलमा जाने र पूर्वतर्फ पुल पारिबाट दमकको पशु बजारमा नेता कार्यकर्ता केन्द्रित हुने कार्यक्रम रहेको अध्यक्ष खतिवडाले बताए। 

प्रधानमन्त्री ओली दिउँसो १२:३० बजे कार्यक्रम स्थलमा आइपुग्ने र कार्यक्रमको औपचारिक उद्घाटन गरिने उनले जानकारी दिए।

कार्यक्रम २ घण्टासम्म चल्ने आयोजकले जनाएको छ।

खतिवडाका अनुसार, कार्यक्रममा नेकपा एमाले कोसी प्रदेशका इन्चार्ज शेरधन राईले प्रदेशको अवस्थाबारे धारणा राखेपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

कार्यक्रममा ३ जनालाई बोल्न दिने भनिएको छ।

कार्यक्रममा सहभागी हुन ताप्लेजुङदेखि एमाले कार्यकर्ताहरू प्रस्थान गरेका छन्।

त्यस्तै उदयपुरबाट ४० भन्दा बढी ठूला तथा साना गाडीमा कार्यकर्ताहरू दमक आइरहेको एमाले कोसीले जनाएको छ।

झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, इलाम र पाँचथरलगायत ठाउँबाट कार्यकर्ताहरू आइरहेको एमाले कोसी प्रदेश कमिटीका प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए।

जनजागरण सभामा एक लाख जना सहभागी हुने अपेक्षा आयोजकले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad