नेकपा एकीकृत समाजवादी समाजवादीको मोरङ जिल्ला अधिवेशनले एक हप्ता बितिसक्दा समेत अझै नेतृत्व छान्न सकेको छैन।
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आएर उद्घाटन गरेको अधिवेशन नेतृत्व छान्ने विषयमा अलमलिएको हो।
नेतृत्व चयन पेचिलो बनेपछि अधिवेशनस्थलबाट अध्यक्षमण्डल तथा निर्वाचन समिति बाहिरिएर पार्टी कार्यालयमा सहमतिको प्रयास गरिरहेको छ।
आकाङ्क्षी धेरै भएपछि अध्यक्षमण्डलले अब निर्वाचनमा नगई जबरजस्ती नेतृत्वको नाम टाँस्ने तयारी गरेको छ।
अध्यक्षका आकाङ्क्षीहरूले आफ्नो दाबी छाडेका छैनन्। नेकपा एकीकृत समाजवादी मोरङ आयोजक समितिका संयोजक चन्द्रवीर राईलाई नै अध्यक्ष घोषणा गर्ने गरी तयारी थालेको पार्टी स्रोतले जनाएको छ।
अध्यक्ष मण्डलको घोषणा गर्न लागेको नामलाई अध्यक्षमा दाबी गरेका आकाङ्क्षीहरूले अस्वीकार गर्दै आएपछि नयाँ कार्यसमितिको घोषणा हुन ढिलाइ भएको हो।
‘चन्द्रवीरलाई नै अध्यक्ष बनाउने अन्तिम तयारी भएको छ’, स्रोतले भन्यो, ‘अध्यक्ष मण्डलले अध्यक्षको दाबी गरेका डा उद्धव पोख्रेल र दीपक ढकाललाई उपाध्यक्षमा राख्नको लागि अन्तिम तयारी गरेको छ।’
अध्यक्ष मण्डलका एक सदस्यका अनुसार, सचिवमा तुलसी ढकाललाई घोषणा गरेर जाने तयारी छ।
अधिवेशनको बन्द सत्रले चन्द्रवीर राईकै नेतृत्वमा सर्वसम्मत नेतृत्व कमिटी घोषणा गर्न म्याण्डेट दिएको दाबी ती नेताको छ।
अध्यक्ष मण्डलले चन्द्रवीरको नेतृत्वको कार्यसमिति घोषणा गर्ने तयारी भए पनि उपाध्यक्षमा राख्ने भनिएका दुवैले उपाध्यक्षमा बस्न अस्वीकार गरेका छन्।
नेतृत्वमा ल्याउन लागिएका चन्द्रवीर राई सिनियर नेता भएकालाई आधार बनाएको अध्यक्ष मण्डलको दाबी छ।
अध्यक्ष मण्डलका अध्यक्ष तथा एकीकृत समाजवादीका सचिव बलदेव चौधरी नै नेतृत्व टुङ्ग्याउन छाडेर हिँडेपछि थप समस्या भएको हो। उनी प्रदेश अधिवेशनको तयारी भन्दै हिँडेका छन्।
अध्यक्ष मण्डलका अध्यक्ष हिँडेपछि सदस्य तथा पोलिटब्युरो सदस्य महेश रेग्मीको नेतृत्वले छलफल सहित नेतृत्व छनौटको अन्तिम प्रक्रिया टुङ्गो लगाउने जनाइएको छ। रेग्मीले अहिले पनि छलफल नै भइरहेको बताए। उनले सम्भवतः आज रातिसम्ममा नेतृत्व टुङ्गो लगाउने दाबी गरे।
अध्यक्षका आकांक्षी डा उद्धव पोख्रेलले आफू अध्यक्ष बाहेक अन्य पदमा नबस्ने बताए।
उनले भने,‘मैले अध्यक्षको दाबी गरेको हो। हिजो लुकी लुकी संयोजकको रूपमा काम गरेको हो। अहिले अधिवेशनमा आइसकेपछि सहमतिका नाममा पाखा लगाउने काम भइरहेको छ।’
विराटनगरको मनास्लु होटेलमा सुरु भएको नेकपा एकीकृत समाजवादी मोरङको नेतृत्व चयनमा सकस देखिएपछि अध्यक्ष मण्डल नै निर्वाचनसँग सम्बन्धित कागजात बोकेर पार्टी कार्यालय गएको थियो।
बुधवार दिउँसो नै आकाङ्क्षी मध्ये केहीलाई मात्र बोलाएर नेतृत्वको नाम टाँस गर्ने तय गरिएको थियो। त्यसको विरोध भएपछि निर्वाचन प्रक्रियामा लगिएको थियो।
नेतृत्वको नाम टाँस्ने तयारी भएपछि प्रतिनिधिले विरोध गरेका थिए। त्यसपछि निर्वाचन समितिले मनोनयन फाराम वितरण गरेको थियो।
अध्यक्षका निम्ति संयोजक चन्द्रवीर राई, उपाध्यक्ष उद्धव पोखरेल सहित दीपक ढकाल, कविराज घिमिरे, पुरुषोत्तम सुवेदी, हितबहादुर थापा, पदम सुब्बा र ध्रुव डाँगीले मनोनयन पत्र दर्ता गराएका छन्।
दुई जना उपाध्यक्ष र एक सचिवका लागि चार/चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपसचिवमा पाँच जनाले मनोनयन पत्र दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।
अध्यक्ष मण्डलको अध्यक्षमा बलदेव चौधरी छन्। सदस्यमा ओसिम आलम, महेश रेग्मी, विद्या चाम्लिङ, सीता पौडेल, निलम ढुङ्गेल र सेमन्तराज भण्डारी रहेका छन्।
समाजवादी मोरङको अधिवेशनमा ४३६ प्रतिनिधि सहभागी छन्।अधिवेशनले ८२ जना सदस्यहरू निर्विरोध रूपमा चयन गरेको छ। पदाधिकारीमा चरम विवाद देखिएको छ।
Shares

प्रतिक्रिया