कोशी


कोसी पर्यटन वर्ष : उद्घाटन पछिका छैनन् कार्यक्रम

कोसी पर्यटन वर्ष : उद्घाटन पछिका छैनन् कार्यक्रम

नेपालखबर
चैत १७, २०८१ आइतबार २१:३०, विराटनगर

कोसी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई  पर्यटन  वर्षको रूपमा मनाउने तयारी गरेको छ। पर्यटन वर्ष सुरु हुन १२ दिन बाँकी रहँदा समेत पर्यटन वर्षको कुनै तयारी देखिँदैन।  पर्यटन वर्षको पूर्व तयारीमा जसरी काम गर्नु पर्ने हो त्यो अनुसारको तयारी नै नभएको स्वयम मन्त्रालयले नै स्वीकार गर्दै आएको छ।

आन्तरिक तयारी बिना प्रदेश पर्यटन वर्ष मनाउन लागेको भन्दै पर्यटन क्षेत्रका केही व्यवसायीले विरोध समेत गरेका थिए।  केही दिन अघि काँकडभिट्टाका पर्यटन व्यवसायीले पर्यटन वर्ष नै बहिस्कार गर्ने चेतावनी दिएपछि त्यहाँ पर्यटन वर्ष २०८२ आयोजक समितिको सचिवालय टोली पुगेर छलफल गरेको थियो।

पर्यटन वर्ष २०८२ मूल आयोजक समितिका सह संयोजक भविश श्रेष्ठ र कृष्ण साह सहितको टोली त्यहाँ पुगेर पर्यटन व्यवसायीलाई पर्यटन वर्ष सफल बनाउने काममा सहयोग गर्न आग्रह गरेका थिए।  

पर्यटन क्षेत्रको विकास, विस्तार, पर्यटन पूर्वाधार, कानुनी सुधार, पर्यटन नीति निर्माण गर्ने लगायतका विषयलाई प्राथमिकतामा राख्ने गरी आधार वर्षको रूपमा कोसी प्रदेशमा पर्यटन वर्ष घोषणा गरिएको सरकारका मन्त्रीहरू बताउँछन्।   

स्वयम् विभागीय पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल आफैँ अन्योलमा रहेका छन्। ‘कोसी प्रदेश पर्यटन वर्ष २०८२’को शुभारम्भ आगामी चैत २७ गते गर्ने तय भएको भनिएको छ। त्यस भन्दा पछिका कार्यक्रमको बारेमा मन्त्री मण्डल कार्यक्रमको खाका तयार भइरहेको तर के गर्ने भन्ने अझै निक्र्यौल नभइसकेको बताउँछन्।

यद्यपि पर्यटन वर्ष मनाउने सन्दर्भमा  प्रधानमन्त्रीलाई निम्ता गर्न मन्त्री मण्डल र सचिव विशाल घिमिरे आइतबार प्रधानमन्त्री कार्यालय पुगेका थिए।  कोसी प्रदेशको महत्त्वपूर्ण पर्यटकीय स्थल तीनजुरे मिल्के जलजलेमा पर्यटन वर्षको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले  उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। तेह्रथुम जिल्लामा पर्ने तीनजुरे मिल्के जलजले क्षेत्र लालीगुराँसको राजधानी पनि हो।   

पर्यटन वर्ष उद्घाटन गरिने पालिका लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले प्रधानमन्त्रीले उद्घाटन गर्ने पर्यटन वर्षको कार्यक्रममा पालिकाले सहभागी  र झाँकीको व्यवस्थापन बाहेक कुनै कार्यक्रमको नभएको बताए। 

‘प्रदेश सरकारले गर्ने कार्यक्रमको सहभागी जुटाउने र झाँकी व्यवस्थापन गर्ने काम हामीलाई भनिएको छ’, उनले भने, ‘प्रधानमन्त्रीज्यू आउने भएकोले सुरक्षाको कुरा हाम्रो भएन, उद्घाटन पछिको कार्यक्रम के हो भन्ने बारेमा मन्त्रालयले कुनै पनि जानकारी गराएको छैन।’

सचिवसँगको छलफलमा पनि उद्घाटन पछिको एक वर्ष के के गर्ने भनेर योजना बनाएर मात्रै उद्घाटन गरिनु पर्नेमा त्यस्तो तयारीको बारेमा थाहा नभएको बताए।

पर्यटन व्यवसायीहरू भनेँ पर्यटन वर्षले  पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताउँछन्। पर्यटन व्यवसायको दर्ता तथा नवीकरण प्रक्रियालाई सहज बनाउनुपर्ने, भारतीय पर्यटकहरूको गाडीमा पहेँलो स्टिकर टाँस गर्ने तथा चेकपोस्टलाई एकद्वार प्रणालीमा ल्याउने बिषयमा यस अघि प्रदेश सरकारले जनाएको प्रतिबद्धता समेत कार्यान्वयन नभएको बताएका छन्।  

होटल तथा अन्य पर्यटन पूर्वाधारलाई पर्यटनमैत्री बनाउन नसकेको,  नाकाहरूमा प्रचार–प्रसारका होर्डिङ बोर्डहरू राख्ने काम नभएको भन्दै पर्यटन वन तथा वातावरण मन्त्रालयको आलोचना हुँदै आएको छ।

‘८२ सालका लागि ८२’ पर्यटकीय गन्तव्य सूची तयार गरेको मन्त्रालयले जनाएको छ। कोसी प्रदेशमा नेपालकै होचो क्षेत्र झापाको केचनाकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासमेत पर्छ। विश्वका १० अग्ला हिमालमध्ये ५ वटा मकालु, ल्होत्से, कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल यस प्रदेशमा पर्छ। पर्यटन वर्षका लागि सरकारले १० करोड बजेट विनियोजन गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad