कोशी


परिवार नै नागरिकताविहीन

परिवार नै नागरिकताविहीन

राजु विश्वकर्मा/रासस
चैत ४, २०८१ सोमबार १३:२५, शम्भुनाथ (सप्तरी)

परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर यो यर्थाथ हो। सप्तरीको शम्भुनाथ नगरपालिका-३ कचन्दाहाका मागैन सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्न ठूलै संघर्ष गरिरहेको छ।

नेपालमै जन्मिए, यहीँ हुर्किए तर अहिलेसम्म आफू नेपाली भएको कुनै पहिचान नै पाउन नसकिएको ६० वर्षीय मागैन सदाको गुनासो छ।

घरकै मूली व्यक्ति मागैनको नागरिकता नबन्दा उनका श्रीमती ५५ वर्षीया उर्मिलादेवी सदा, जेठो छोरा २२ वर्षीय गोविन्दा, कान्छो छोरा १९ वर्षीय दीपक नागरिकताविहीन छन्। नेपाली भएको प्रमुख पहिचान नै नागरिकता नपाएका उनीहरूले अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै सेवा-सुविधाबाट वञ्चित भएको दुखेसो गरे। 

स्थानीय साहुमहाजनमा खेतीपातीको काम गर्ने मागैनले नागरिकताका लागि सबै निकाय धाए पनि पहिचान पाउन नसकिएको बताए। 

जन्मेपछि कानुनी रूपमा राज्यको नागरिकको फेहरिस्तमा नाम जोडिनुपर्छ तर  बुबा फनी सदा र आमा चरी सदाको नागरिकता नहुँदा अहिले मागैन सदाको पूरै परिवार नै पहिचानबाट वञ्चित छन्।

‘बुबाको नागरिकता नहुँदा मेरो जन्मदर्ता बन्न सकेन, अहिले मेरो नागरिकता नहुँदा श्रीमती र छोराहरूको पहिचान बन्न नसकेको हो’, उनले भने, ‘जन्मदर्ता नबन्दा छोराहरूले विद्यालयमा पढ्न पाएनन् र उनीहरू सानै उमेरमा कमाउन भारत जानुपर्ने अवस्था आयो।’

आर्थिक विपन्नताका कारण केही समय रोजगारीका लागि भारतको पञ्जाब गएर फर्केका मागैन अब स्वदेशमै मेहेनत गर्न चाहे पनि नेपाली भएको कुनै पहिचान नहुँदा समस्या भइरहेको बताउँछन्। उनका अनुसार नागरिकताका लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म नागरिकताको सिफारिसका लागि धाए तर पाएनन्। 

‘नागरिकताको सिफारिसका लागि जन्मदर्ता खोज्छन्, श्रीमान्‌को नागरिकता र आमाबुबाको नागरिकता माग्छन्’, उर्मिला सदा भन्छन्, ‘तर न आफ्नो जन्मदर्ता छ, न श्रीमान्‌को नागरिकता नै, नेपाली भएको कुनै प्रमाण नै छैन। त्यसैले नेपाली भएर पनि आफ्नो जीवन नै व्यर्थ भएको महसुस भइरहेको छ।’ 

नागरिकता नहुँदा राज्यको मात्र होइन, समाज तथा समुदायबाट पनि अलग हुनुपरेको दुखेसो सुनाउँदै उर्मिला थप्छिन्, ‘नागरिकताकै अभावमा गाउँस्तरमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउन सकिरहेकी छुइनँ।’

यस्तै समस्यासँग जुध्दै छन्- सोही ठाउँका चन्दर सदाको परिवार पनि। उनका बुबा धोथर सदाको नागरिकता नहुँदा चन्दरको सिङ्गो परिवार नै नागरिकता पाउनबाट वञ्चित छन्।

चन्दरको नागरिकता नहुँदा उनका ३५ वर्षीया श्रीमती कदमीदेवी, जेठी छोरी १७ वर्षीया पूजा, १५ वर्षीया छोरी श्रद्धा, १० वर्षीय छोरा फुलेशरा, ६ वर्षीया छोरी फुलेश्वरी सदा र ४ वर्षीय छोरा आयुष सदा पनि जन्मदर्ता र नागरिकताबाट वञ्चित छन्। चन्दर सदाका बुबा धोथर सदाको नागरिकता नबन्दा अहिले पूरै परिवार पहिचानविहीन छ।

यो समस्या सप्तरीको शम्भुनाथ नगरपालिकामा मात्र होइन, सप्तरीको विभिन्न स्थानीय तहमा छ। सप्तरीका विभिन्न स्थानीय तहमा जन्मदर्ता, विवाह दर्ता र नागरिकताको ठूलो समस्या पाइएपछि व्यक्तिगत घटना दर्ताका लागि सचेतना कार्यक्रमसमेत सुरु गरिएको छ।

द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सप्तरीमा हरवाचरवा दलित समुदाय लक्षित घटना दर्ता अभियान सञ्चालन गरेको हो। अभियानका क्रममा शम्भुनाथ नगरपालिकाका विभिन्न वडा तथा जिल्लाका विभिन्न स्थानीय तहमा नागरिकताबाट वञ्चित भएकाहरूको तथ्याङ्क सङ्कलन गरी जन्मदर्ता र नागरिकता बनाउनसमेत पहल गरिरहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता बिजली रामले जानकारी दिए। 

उनका अनुसार सप्तरीको शम्भुनाथ, बोदेबर्साइन, डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा तथ्याङ्क सङ्कलनसँगै नागरिकता जन्मदर्ता बनाउने अभियान सञ्चालन गरिरहेको छ। यसरी जन्मदर्ताबाट वञ्चित रहेकामध्ये अधिकांशले जन्मदर्ताकै कारण पढ्न नपाएकोसमेत पाइएको छ।

चेतना आभावमा नागरिकता र जन्मदर्ताको महत्त्व नबुझेर पूर्वजहरूले समयमै जन्म, विवाह र मृत्युदर्ता बनाउन होस नपुर्‍याउँदा अहिलेको सन्ततिले नराम्ररी दुःख पाइरहेको शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिताकुमारी चौधरीले बताइन्। 

‘त्यतिखेर पूर्वजहरूले नागरिकताको खासै महत्त्व बुझेन र बनाउने प्रयास पनि गरेन’, कार्यवाहक नगरप्रमुख चौधरीले भनिन्, ‘अहिले त्यही भएर सन्ततिले दुःख पाइरहेका छन्, अब कानुनी जटिलता छ, हामीले चाहेर पनि नागरिकताका लागि सिफारिस गर्न सक्ने अवस्था छैन।’

प्रमाण जुटाउन नसक्दा जन्मदर्ता र नागरिकताको सिफारिस गर्न कठिनाइ भइरहेको सुनाउँदै शम्भुनाथ नगरपालिका–३ का वडाध्यक्ष नवीनकुमार चौधरी ती परिवारको नागरिकता समस्या समाधानका लागि पहल गरिरहेको बताउँछन्।

७२ वर्षमा पनि पाइनन् सतोदेवीले भत्ता

शम्भुनाथ नगरपालिका-३ कचन्दाहाका सतोदेवी सदा ७२ वर्ष पुगिसकेकी छन् तर अझै नागरिकता पाएकी छैनन्। पच्चीस वर्षकै उमेरमा पति धोतर सदालाई गुमाएकी सतोदेवीले नागरिकता नभएकै कारण अझै राज्यबाट प्राप्त हुने हरेक सुविधाबाट वञ्चित हुनुपरेको दुखेसो उनले गरिन्। 

दलित मुसहर बस्तीमा एउटा फुसको छाप्रोमा कष्टकर जीवन बिताइरहेकी सतोदेवीले नागरिकताका लागि थुप्रै ठाउँमा गुहारे पनि सफलता पाइनन्।

‘छोराहरू सानै थिए, त्यत्तिबेलै पतिको मृत्यु भयो, पतिको नागरिकता थिएन’, सतोदेवी भन्छिन्, ‘पतिको नागरिकता नहुँदा मेरो नागरिकता पनि बन्नेन, अहिले सबै सुविधाबाट वञ्चित छु। बुढेसकालमा पेट पाल्न न त कुनै काम गर्न सकिरहेकी छु, न सरकारले कुनै सुविधा नै दिन्छ, त्यसैले त अहिले गाउँ बस्तीमै भिक्षाटन गरेर भए पनि दुई छाक पेट पाल्दै छु।’

यसो भनिरहँदा उनका आँखाबाट आँशु झरिरहेको थियो। 

‘श्रीमान्‌को मृत्यु भएको करिब ४५ वर्ष भन्दा बढी भइसक्यो, तर म अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउन सकेकी छुइनँ’, उनले अगाडि भन्दै गइन्, ‘सामाजिक सुरक्षा भत्ताका लागि नागरिकता खोज्छ, तर नागरिकता नै छैन।’

श्रीमान्‌को मृत्युपश्चात् हरेक एकल महिलाले राज्यबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ। तर नागरिकता नहुँदा आफू ती सुविधाबाट वञ्चित हुनुपरेको सतोदेवीको भनाइ छ।

नागरिकता बनाइदिन वडाध्यक्षदेखि सीडीओसम्म गुहारिन् तर अझै नागरिकता बन्न सकेन। 

 ‘वडाध्यक्षकहाँ पुग्दाँ पतिको नागरिकता ल्याउनु, सनाखत गर्ने मान्छे बोलाउनु भन्छन्’, सतोदेवी सुनाउँछिन्, ‘तर न पतिको नागरिकता छ, न सनाखत गर्ने भाइभतिजा नै छन्।’

‘एउटा भाइको मृत्यु भइसक्यो, अर्को भाइबुहारी रोजगारीका लागि भारत गएका उतै हराए, त्यसैले सनाखत गर्ने व्यक्ति नै पाइनँ। जीवनको अन्तिम क्षणसम्म पनि नागरिकता पाउने सपना पूरा हुनसकेको छैन’, उनले थपिन्। 

नागरिकताविहीन हुँदा राज्यबाट पाउनुपर्ने हरेका सेवा सुविधाबाट वञ्चित मात्र होइन, आफ्नै देशभित्र गैरनागरिकका रूपमा बस्नुपर्ने अवस्था रहेको दुखेसो उनले गरिन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad