नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’ अन्तरगत आज सुनसरीमा अभियान गर्दै छ।
बुधबार बिहान विराटनगरमा पत्रकारसम्मेलन पछि काठमाडौँ गएका पुष्पकमल दाहाल प्रचण्ड साँझ फेरि विराटनगर आएका छन्।
दिलबहादुर रम्तेल स्मृति दिवसअन्तर्गत पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सहभागी हुन बुधबार दिउँसो प्रचण्ड केही घण्टाका लागि काठमाडौँ आएका थिए।
साँझको विमानबाट विराटनगर आएका दाहालले आज सुनसरीका जिल्लाको अभियानमा सहभागी हुने नेकपा माओवादी केन्द्र कोसी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ (मिक्सो) ले जानकारी दिए।
आज बिहान बर्जु-शुक्रबारे बजारमा बिहान सहिद गेट अवलोकन, उखु किसानसँग छलफलसँगै अभियानको शुभारम्भ हुने जनाइएको छ।
बर्जु ताल निरीक्षणपछि त्यही कोणसभा गर्ने कार्यक्रम गरिनेछ।
दिउँसो १ बजेसम्म देवानगन्जमा कार्यकर्तासँग भेटघाटपछि हरिनगरका मुस्लिम समुदायसँग भेट्ने कार्यक्रम रहेको नेम्वाङले जानकारी दिए।
हुलाकी राजमार्गकेन्द्रित अभियानअन्तर्गत सत्तेरझोडामा जनसभा, इनरुवा नगरपालिकाको जाल्पापुरमा नगर अधिवेशन उद्घाटन गर्दै कोसी गाउँपालिकामा जनभेटघाट कार्यक्रम रहेको नेम्वाङले बताए।
भोक्राहा नर्सिङ गाउँपालिकाका कार्यकर्ताहरूसँग भेटघाटलगायत एक दर्जन कार्यक्रमपछि साँझ वराहक्षेत्रको मधुवनमा बस्ने तालिका रहेको उनले जानकारी दिए।
अभियानका क्रममा अध्यक्ष प्रचण्डले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णयमा पुगिएको बताउने गरेका छन्। यसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काउने उनको दाबी छ।
प्रचण्डले अब समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै समाजवादको अभ्यास गर्ने नीति पार्टीको रहेको कार्यकर्तामाझ भन्ने गरेका छन्। जनतासँग माओवादी तराई-मधेस जागरण अभियान पनि त्यहीभित्रको एउटा अभ्यास भएको प्रचण्डको भनाइ छ।
माओवादी केन्द्रले यही फागुन १२ गते ‘जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’ झापाको कचनकवलबाट सुरु गरेको हो।
फागुन १३ गते मोरङमा सञ्चालित माओवादी अभियान आज सुनसरी आइपुगेको हो।
अभियान: कहाँ, कहिले?
कोसी प्रदेश
झापा: फागुन १२ गते
मोरङ: फागुन १३ गते
सुनसरी: फागुन १५ गते
मधेस प्रदेश
सप्तरी: फागुन १६ गते
सिरहा: फागुन १७ गते
धनुषा: फागुन १८ गते
महोत्तरी: फागुन १९ गते
सर्लाही: फागुन २१ गते
रौतहट: फागुन २२ गते
बारा: फागुन २३ गते
पर्सा: फागुन २४ गते
बागमती प्रदेश
चितवन: फागुन २५ गते
गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व): फागुन २६ गते
लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम): फागुन २७ गते
रुपन्देही: फागुन २८ गते
कपिलवस्तु: चैत्र २ गते
दाङ: चैत्र ३ गते
बाँके: चैत्र ४ गते
बर्दिया: चैत्र ५ गते
सुदूरपश्चिम प्रदेश
कैलाली:चैत्र ६ गते
कञ्चनपुर: चैत्र ७ गते
यस्तो छ माओवादी केन्द्रको भनाइ:
जनतासँग माओवादी हुलाकी मार्गकेन्द्रित तराई-मधेस जागरण अभियान किन?
प्रतिगमनको खतराविरुद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न।
सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न।
दलाल, बिचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न।
अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरंकुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिन।
दलित समुदायमाथि हुने जातीय छुवाछूत तथा महिलामाथिको हिंसाको विरोध गर्दै उत्पीडित वर्ग एवं समुदायका संवैधानिक हक सुनिश्चित गर्न।
दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि एवम् सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा देखिएको उदासिनताको विरोध गर्न।
सहकारी ठगी कारबाही सन्दर्भमा सत्ता-गठबन्धननिकट व्यक्तिलाई संरक्षण गर्ने सरकारको पूर्वाग्रही र भेदभावपूर्ण रवैयाको विरोध गर्दै सहकारी पीडितलाई बचत रकम उपलब्ध गराई न्याय दिलाउने वातावरण बनाउन।
हाम्रो पार्टी नेतृत्वको सरकारले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याज समस्या समाधानका लागि गरेको ऐतिहासिक पहलकदमीको स्वामित्व स्थापित गर्दै हाल मिटरब्याज पीडितको समस्या समाधान गर्न।
सरकारले देखाएको चरम उदासीनताप्रति भर्त्सना गर्दै मिटरब्याज पीडितको न्यायको पक्षमा आवाज उठाउन।
नागरिकताविहीन हजारौँ नेपालीलाई नागरिकता दिन हाम्रो पार्टी नेतृत्वको सरकारले कानुन निर्माणमा लिएको पहलकदमीको अपनत्व लिँदै यससम्बन्धी देखिएका व्यावहारिक कठिनाई हटाउनका लागि ध्यानाकर्षण गराउन।
राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्र हितको पक्षमा दृढ अडान र देशभक्त शक्तिलाई एकता र सहकार्यका लागि आह्वान गर्न।
सरकारले संविधान संशोधनका नाममा महिला, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिमलगायत उत्पीडित समुदायले प्राप्त गरेको समानुपातिक प्रतिनिधित्वको अधिकार खोस्न सक्ने खतराप्रति सचेत गराउँदै उत्पीडित समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रण गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखपूर्ण समानुपातिक निर्वाचन प्रणाली, पहिचानलगायतका हाम्रो पार्टीको मतलाई मूल आधार बनाएर संविधान संशोधनको मुद्दा उठाउन।
मैथिली, भोजपुरी, अवधि, थारूलगायतका राष्ट्रभाषालाई सरकारीको कामकाजको भाषाको रूपमा स्थापित गर्न, तराई मधेसमा सामुदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि सशक्त आवाज उठाउन।
किसानले मल, बीउ, बजार सुनिश्चिततालगायतका भोग्दै आएका समस्या हल गर्न स्थानीय कृषि उत्पादनमा वृद्धिमार्फत आत्मनिर्भर ग्रामीण अर्थतन्त्र निर्माणका लागि दबाब दिन।
जनतासँग प्रत्यक्ष संवाद र अन्तर्क्रियाबाट स्थानीय जनसरोकार, जनजीविका तथा विकास निर्माणसँग सम्बन्धित समस्याबारे जानकारी लिई पार्टीका तर्फबाट आवश्यक पहलकदमी गर्न। विकास निर्माणमा भइरहेको ढिलासुस्तीप्रति खबरदारी गर्दै समयमै योजना सम्पन्न गर्न, योजनाको पारदर्शिता र गुणस्तरीयताको सुनिश्चितताका लागि ध्यानाकर्षण गराउन।
वैदेशिक रोजगारीका क्रममा हुने शोषण र ठगीमाथि पूर्ण नियन्त्रण गर्दै सम्मानजनक प्रवासन तथा रिटर्नीलाई उद्यमशीलताको अवसर प्रदानका लागि आवाज उठाउन।
कांग्रेस, एमालेको सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयकमार्फत् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेकाले त्यसको विरोध गर्दै पूर्ण प्रेस स्वतन्त्रतासहित सामाजिक सञ्जालको नियन्त्रण होइन, नियमन गर्ने कानुन बनाउनका लागि दबाब दिन।
हुलाकी मार्गको निर्माणलाई यथाशीघ्र सम्पन्न गर्न तथा यसलाई कृषिजन्य उत्पादन र ग्रामीण उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्न राज्यलाई दबाब दिन।
जीर्ण तथा रुग्ण उद्योगलाई सञ्चालनको साटो निजीकरण गरेर कराडौँको राष्ट्रिय सम्पत्ति दोहन गर्ने सरकारी षड्यन्त्रको भण्डाफोर गर्न। विभिन्न प्राकृतिक प्रकोपका पीडितलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि दबाब सिर्जना गर्दै आगामी दिनमा बाढी,पहिरो, खडेरी जस्ता विपदबाट बच्न पूर्वतयारीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने गरी पार्टीको तर्फबाट पहलकमदमी लिन, यसमा तिनै तहका सरकारको ध्यानाकर्षण गराउन र जलवायु परिवर्तनले निम्त्याएको पर्यावरणीय संकटबारे आम जनतालाई जागरूक बनाउन।
Shares

प्रतिक्रिया