कतै थुपारिएको छ माटो। कतै राखिएका छन् निर्माण सामग्री। जताततै खाल्डाखुल्डी।
सडकमा काम गरिरहेका पनि भेटिन्छन्, केही कामदार। हुत्तिएर आउने टिप्परको धुलोले छपक्कै ढाक्छ।
यस्तै छ- मिर्चैया–कटारी–घुर्मी सडकको अवस्था। यात्रुले यो सास्ती बेहोरेको निकै लामो समय भयो।
१५ वर्षदेखि जीर्ण सिद्धिचरण राजमार्गअन्तर्गतको यस सडकले ओखलढुंगा, सोलुखुम्बु र खोटाङलाई जोड्छ।
अति भएपछि २०७८ वैशाखमा स्थानीयले आन्दोलनसमेत गरे। अनिश्चितकालका लागि बाटो अवरुद्ध पारे। तर, अवस्था उस्तै रह्यो।
कहिले बन्दै नबन्ने, बनिहाले गुणस्तरमा ध्यान नदिने। बनेका संरचना कमसल हुँदा छोटो समयमा नै भत्किने समस्या उनीहरूले झेल्नुपरेको छ।

हरेक दिन कटारी तथा मिर्चैया आउजाउ गरिरहने कृष्ण तिमल्सिना सडक नबन्दाको हैरानी यसरी पोख्छन्, ‘सडकको अवस्थाले हिँड्न मात्र गाह्रो भएको छैन। जाँदा धुलैधुलो हुन्छ। फर्किँदा मान्छे नचिनिने गरी फर्किन्छु।’
त्यसो त सोलुखुम्बुका प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी सडकको विस्तार र स्तरोन्नतिको लागि पटकपटक कुरा उठाए पनि सम्बन्धित निकायले वास्ता नगरेको गुनासो सुनाउँछन्।
उनी भन्छन्, ‘सडकमार्गबाट सगरमाथा पुग्न सबैभन्दा छोटो दूरीको मिर्चैया–कटारी–घुर्मी सडक द्रुतगतिमा बनाउने हो भने सोलुखुम्बु, ओखलढुंगा, खोटाङमा भारतीय पर्यटकको भीड लाग्छ। तर गर्नु? जिम्मेवार निकायले काम नगरेपछि...।’
भारतीय पर्यटकलाई सहजै सल्लेरी हुँदै सगरमाथा देखाएर हलेसीबाट फर्काउने वातावरण बनाउन पनि तत्काल सडक स्तरोन्नतिको कामलाई द्रुत बनाउनुपर्ने राजभण्डारी बताउँछन्।

अहिले मिर्चैया–कटारी खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ। घुर्मी सडक खण्ड पनि स्तरोन्नति तयारीमा छ।
सडक विभागले यस खण्डको स्तरोन्नति गर्ने प्रयोजनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पारी स्वीकृत गराइसकेको छ। तर ३० महिनामा काम सक्ने भनिए पनि प्रक्रिया अघि बढाउन नै समस्या देखिएको छ।
चालू आर्थिक वर्षका लागि आएको १ अर्ब ५ करोड बजेट खर्च गर्ने भनिए पनि अझै ठेक्का लगाइएको छैन।
मधेस प्रदेशको सिराहा जिल्ला मिर्चैया चोकबाट सुरु भई कोसी प्रदेशको उदयपुर जिल्लाको घुर्मी बजार पुगेर यो खण्ड सकिन्छ।
यसबीचमा सिराहातर्फको चुरे फेदीसम्म करिब ५ किलोमिटर सडक कालोपत्रे भए पनि त्यसमाथि चुरे क्षेत्रको अवस्था अस्तव्यस्त छ। बेलसोतदेखि गरास क्षेत्रको चुरेमा पनि सडकको नाला निर्माणको काम हुँदै छ।
पुल निर्माणका काम पनि भइरहेझैँ देखिन्छन्। तर कामले गति लिएको छैन। हर्कपुरदेखि माथि सल्लेरीसम्म सहज यात्रा गर्न सकिने भए पनि मिर्चैयादेखि कटारी हुँदै घुर्मी सडक असाध्यै जीर्ण छ।

मिर्चैया–कटारी–घुर्मी सडक आयाेजनाका प्रमुख पशुपति ज्ञवालीले मिर्चैया घुर्मी सडक ७२ किलोमिटरमध्ये २८ किलोमिटर कटारीसम्म पर्ने बताए। यसमध्ये कटारीदेखि मिर्चैयासम्मको सडक मर्मत र स्तरोन्नतिको काम भइरहेको उनको भनाइ छ।
‘२८ किलोमिटरको सामान्य मर्मत चलिरहेको छ’, उनले भने, ‘कटारीदेखि माथि ईआईए पास नभएर काम हुन सकेको थिएन। भर्खरै ईआईए पास भएको छ। अब प्रक्रिया अघि बढ्ला।’
कटारी मिर्चैया सडकको काम मर्मतसँगै स्तरोन्नतिको मापदण्डअनुसार नै भइरहेको उनको दाबी छ।
चुरे क्षेत्रको चुरिया मन्दिर आसपासमा गाडी नै नचल्ला कि भन्ने अवस्था आएपछि सडक विस्तारसहितको मर्मतको काम भएको उनले बताए। कटारीदेखि दक्षिणमा चारवटा पुल खोक्सा, सिमानपुर, ताराघारी र गिद्दबर निर्माणको चरणमा छन्।
त्यस्तै चुरियामाई र बेलसोत क्षेत्रमा पनि काम भएको उनले बताए।

विस्तारको आशा
जीर्ण अवस्थामा रहेको मिर्चैया–कटारी–घुर्मी सडक विस्तारको लागि कुरा उठेकै लामो समय बितिसकेको छ।
नेताहरूले भाषण गर्ने तर काम नहुने यो सडक अब स्तरोन्नति हुन्छ कि भन्ने आशा पलाएको छ।
सडक विभागले सडकको स्तरोन्नति तथा विस्तारको लागि ईआईए स्वीकृत भएसँगै यो कामले गति लिने बताएको छ।
७२ किलोमिटर स्तरोन्नति तथा विस्तारको लागि करिब ९ अर्ब ४७ करोड लाग्ने अनुमान छ। साँघुरो सडकलाई फराकिलो बनाउने गरी विभागले प्रतिवेदन स्वीकृत गराएको छ।

सडकलाई सहरी इलाकामा १३ मिटर, ग्रामीण भेग (पहाड)मा ८.५ मिटर र तराईमा १० मिटर फराकिलो हुने गरी सडक विस्तार गरिने योजना रहेको मिर्चैया कटारी घुर्मी सडक आयोजनाले जनाएको छ।
आयोजनाभित्र ३ वटा ठूला पुल पर्छन्। ७ वटा साना पुल, २ सय ८९ पाइप कल्भर्ट, ८ बक्स कल्भर्ट, २६ स्ल्याब कल्भर्ट र ५ वटा कजवे निर्माण गर्नुपर्ने विभागले स्वीकृत गरेको ईआईएमा उल्लेख छ।
यो सडक स्तरोन्नतिबाट मिर्चैया नगरपालिकाका वडा नम्बर ६ र ७ तथा कटारी नगरपालिका १, २, ३, ४, ८, ११ र १४ नम्बर वडालाई प्रत्यक्ष लाभ मिल्ने समेत प्रतिवेदनमा उल्लेख छ।
यो सडकले सोलुखुम्बु सल्लेरीलाई पूर्व-पश्चिम राजमार्गसँग जोड्नेछ। अहिले दैनिक ५ सय ठूला साना सवारीसाधन गुड्ने गरेको तथ्याङ्क छ।
यही सडकले सङ्खुवासभा, ओखलढुंगा र खोटाङ जिल्ला सदरमुकाम समेत जोड्छ। आयोजना एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने प्रतिवेदनमा उल्लेख छ।
थप तस्बिर



Shares

प्रतिक्रिया