कोशी


जब माओवादी सांसदले प्रदेश सभामै रामबहादुर थापालाई ‘गद्दार’ भने

जब माओवादी सांसदले प्रदेश सभामै रामबहादुर थापालाई ‘गद्दार’ भने

नेपालखबर
फागुन १, २०८१ बिहिबार २०:५४, विराटनगर

कोसी प्रदेश सभामा नेकपा माओवादीकी सांसद नेकपा माओवादी केन्द्रका सांसद गीता तिम्सिनाले माओवादीका पूर्वनेता रामबहादुर थापालाई ‘गद्दार’ भनेकी छन्।

कोसी प्रदेश सभाको शून्य समयमा बोल्दै सांसद तिम्सिनाले हाल नेकपा (एमाले) का उपाध्यक्ष रहेका थापालाई गद्दारको संज्ञा दिएकी हुन्।

माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई थापाले केही दिनअघि हिंसा भनेका थिए।

फागुन १ गतेलाई नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। तर, अन्य दलले भने जनयुद्ध स्वीकार गरेका छैनन्।

सांसद तिम्सिनाले रामबहादुर थापा जस्ता हिजो जनयुद्धको नेतृत्व गर्ने गद्दारहरूले प्रयोग गर्ने शब्दावली र सर्वोच्चको विचाराधीन वा अन्तरिम आदेश यी सबैले गर्दा जनयुद्ध शब्द अलमलिएको भन्न भ्याइन्।

‘यदि जनयुद्ध भएको थिएन भने अहिले सदनमा भएको महिलाको उपस्थिति हुन सक्ने थिएन, आवाजविहीनहरूले बोल्न सक्ने थिएनन्,’ उनले भनिन्, ‘जनताले चलाएको युद्धलाई जनयुद्ध भनिन्छ। १८ वर्षको उमेरदेखि लामबद्ध भएर जनयुद्धमा हिँडेको व्यक्ति मट्याङ्ग्रा र गुलेली चलाउनको निम्ति खेल मैदानमा होमिएको थिइनँ।’  

अर्का सांसद गणेशप्रसाद उप्रेतीले ३० वर्ष पहिला जनयुद्धलाई जन्माउने काम गरेको स्मरण गरे। उनले सायद जनयुद्ध नभएको भए कोसी पनि प्रदेश सभामा हुने अवस्था आउँदैन थियो होला भन्दै कविता सुनाएरै शून्य समय बिताई दिए।

सांसद सपना दर्जीले जनयुद्ध रक्तपात पूर्ण लडाइँ मात्र नभई समृद्ध समाज निर्माणको निम्ति बलीदानीपुर्ण सशस्त्र सङ्घर्ष भएको बताइन्। 

‘जनयुद्धले शासन परिवर्तन मात्रै गरेन समाजका हरेक तह र तप्काको अधिकारको संरक्षणको लागि संविधान मार्फत सुनिश्चित गरेको छ’, उनले भनिन्।

अर्का सांसद गम्बु शेर्पाले जनयुद्धको स्मरण गर्दै यो ३० वर्षमा आवाज विहीनलाई आवाज दिएको, अधिकारविहीनलाई अधिकार दिलाउने काम गरेको बताए।

अहिलेको संविधानको जग जनयुद्ध भएको समेत दाबी गरे। उनले जनयुद्ध र जनयोद्धाको लागि शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकारसँग आग्रह गरे।  

सांसद बन्दना झाँगर तथा राजन किराँतीले जनयुद्धको जगमा ३ तहको सरकार, राज्यमा समावेशिता कायम भएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad