कोशी


सामाजिक सञ्जालमा चिनजान- एक्लै सिमापार

सामाजिक सञ्जालमा चिनजान- एक्लै सिमापार

नेपालखबर
माघ २९, २०८१ मंगलबार १५:३९, विराटनगर

माइती नेपालले एक वर्षमा सिमानाकाबाट २०२ जनाको उद्धार गरेको छ।  

माइती नेपालले २०२४ मार्चदेखि २०२५ फेब्रुअरी १० सम्म मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सफलता तथा चुनौती बारे प्रतिवेदन सार्वजनिक गरेको हो।
प्रतिवेदन अनुसार जोखिममा रहेर सीमावर्ती नाकाबाट फिर्ता गरिएकाहरू २०२ जना रहेका छन्।

माइती नेपालले ३ जनालाई भारतको कटिहारबाट फिर्ता गरिएको जनाएको छ।

हराएर आएका ३४ जनाको निवेदन मध्ये ७ जना भेटिएको माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए। उनका अनुसार, माइती नेपालमा घरेलु हिंसाका ४८ वटा उजुरी, सीमा नाकाबाट नै फर्काइएको १३ जना र १३२ जनाको काउन्सिलिङ गरिएको छ।

जोखिममा रहेर फर्काइएका २०२ जनामध्ये जनजाति ५२ जना, मधेसी ४८, ब्राह्मण क्षेत्री ३६ जना, चौधरी र राजवंशी ३६, दलित २८ जना र २ जना मुस्लिम समुदायका रहेको पोखरेलले जानकारी दिए।

‘मोरङका ८० जना मध्ये विराटनगर र रतुवामाइ नगरपालिकाका ८÷८ जना तथा सुन्दरहरैचाका ७ जनालाई उद्धार गरेका छौँ,’ उनले भने, ‘सुनसरीका ४४ जना, झापाका १५ जना रहेका छन्, अरू उदयपुरका ८, सिराहा र सप्तरीका ५–५ जना रहेका छन्।’

खोटाङ, धनकुटा, तेह्रथुम, इलाम, सिन्धुपाल्चोक, भोजपुर,  पाँचथर, संखुवासभा, सर्लाही, सल्यान, दोलखाका समेत उद्धार भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। भारतको दार्जिलिङ सहित नेपालका २३ जिल्लाका जोखिममा परेकालाई विराटनगरबाट उद्धार भएको पोखरेलको भनाइ छ। गत वर्ष २२ जिल्ला रहेकोमा यो वर्ष नयाँ दुई जिल्ला थपिएको बताए।

सामाजिक सञ्जालको प्रयोग गर्ने र किशोरी एक्लै सीमा पार हुने नयाँ प्रयोग हुने गरेको पनि माइती नेपालले जनाएको छ। त्यस्तै नेटवर्किङबाट धेरै तेस्रो देश जाने, अर्केष्ट्रा नाच्न लगाउनेहरू दैनिक जस्तो आउने गरेको तथा दैनिक ५०० भारु पाउने हुँदा जानेको आकर्षण रहेको बताए।

कामको सिलसिलामा जानेहरूको सङ्ख्यामा पनि बढोत्तरी भएको माइती नेपालकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले जानकारी दिइन्।  

विराटनगर महानगरपालिकासँगको समन्वयमा पैदल यात्री, ट्याक्सी, रिक्सा र सीमाबाट सचेतना फैलाउने गरेको जानकारी दिइएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad