मोरङ जिल्ला स्तरीय वादविवाद प्रतियोगिताको पुरस्कार सेन्ट जोसेफ र सत्यनारायण माध्यमिक विद्यालयले बाजी मारेको छ। चुडाकवि फाउन्डेसनको आयोजनामा बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कुलमा भएको प्रतियोगितामा पक्षको तर्फबाट सेन्ट जोसेफका रिजन मिश्र र विपक्षमा सत्यनारायण माविका युनिसा गौतम प्रथम भएका छन्।
पक्षमा पोखरिया माध्यमिक विद्यालयकी रागिनी न्यौपाने द्वितीय हुँदा विपक्षमा मोरङ पब्लिकका आज्ञा ओली भए। तृतीयमा पुरस्कार पक्षमा एभरेस्ट माविका खिलराज ढकाल र विपक्षमा साजिलाल माविका आरती अधिकारीले प्राप्त गरे।
पुरस्कृत हुने विद्यार्थीहरू प्रक्ष र विपक्षमा प्रथम द्वितीय र तृतीयले क्रमशः २० हजार, १५ हजार र ११ हजार रुपैयाँ प्राप्त गरे। वादविवाद प्रतियोगितामा उत्कृष्ट पक्ष र विपक्ष दुवै समूहलाई नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो। सहभागी हुने सम्पूर्ण विद्यालयहरूलाई विशेष प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगितामा मोरङ जिल्लाका सामुदायिक तथा संस्थागत तर्फका ३४ वटा माध्यमिक विद्यालयहरू सहभागी थिए। प्रतिस्पर्धी विद्यालयहरूबाट प्रत्येक विद्यालयका एक÷एक जना छात्र र छात्रा सहभागिता थिए। सिस्नु पानी नेपालका सरोज घिमिरे, साहित्यकार तथा लेखक सुविन भट्टराई, शिक्षा क्षेत्रका भेषजा काफ्लेले प्रतिस्पर्धीको निर्णायकको भूमिका निभाएका थिए।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ‘भौतिक पूर्वाधार विकास कि सामाजिक पूर्वाधार विकास’ शीर्षकमा विद्यार्थीहरूले आफ्नो पक्ष र विपक्षमा तर्कहरू प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले युवाहरूलाई देशको विकासमा लगाउन सक्नु पर्नेमा जोड दिइन्। अहिलेको युवा विदेश पलायन रोक्ने खालका कार्यक्रम ल्याउन सके देशले समृद्धि प्राप्त गर्ने बताइन्।
पूर्व राष्ट्रपति भण्डारीले १५ देखि ६० वर्ष उमेर समूहलाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नु पर्नेमा जोड दिइन्। यो उमेरको जनसङ्ख्यालाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सक्ने हो भने देशले धेरै फाइदा लिन सकिने बताइन्। देशको विकासका लागि राजनीतिक स्थिरता, दिगो शान्ति र सुशासन अपरिहार्य रहेको उनको भनाई थियो।
प्रतिष्ठानका महासचिव रिता न्यौपानेले यसअघि स्मृति बोर्डिङ स्कुलको नेतृत्वमा हुँदै आएको यो प्रतियोगिता यस वर्षदेखि चुडाकवि प्रतिष्ठान आफ्नो बुबा र आमाको नाममा हरेक वर्ष हुँदै आएको जानकारी दिइन्। विगत चार वर्षदेखि हुँदै आएको प्रतियोगितालाई यो वर्ष सबैको अपनत्व हुने गरी प्रतिष्ठान मार्फत गरिएको बताइन्।
प्रतिष्ठानले बुढीगंगा गाउँपालिकामा कार्यरत ३८ जना महिला स्वयंसेविकाहरूलाई पूर्व राष्ट्रपति भण्डारीबाट सम्मान गरेको छ।
Shares

प्रतिक्रिया