कोसी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले आफूमाथि आक्रमण गर्नेलाई आफू ‘दुईचार मुक्का लगाउने पक्षमा’ रहेको बताएका छन्। सोमबार कोसी प्रदेशसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। थापामाथि शनिबार झापाको जामुनबारी चोकमा आक्रमण भएको थियो।
‘सदनलाई नढाँटी भन्नुपर्छ, म पनि त्यहाँ पुगेर दुईचार मुक्का लगाउने पक्षमा थिएँ,’ आफूमाथिको आक्रमणबारे प्रदेशसभामा जानकारी गराउँदै उनले भने, ‘मलाई साथीहरूले पक्रनुभयो। अरू साथीहरू अर्को गाडीमा हुनुहुन्थ्यो। अरू साथीहरूले त्यसलाई दुईचार मुक्का लगाउनुभयो। तर त्यो बीचमा प्रहरी आइसकेको थियो।’
आक्रमणबारे प्रदेशसभामा थापाः
हामी यो प्रदेशमा सुरक्षा थ्रेटमा रहेका छौँ। प्रदेश संवेदनशील हुनुपर्छ। यो कुनै नियोजित घटना थिएन। कुनै उद्देश्य बोकेर गरिएको हैन। प्रेस युनियनको साधारणसभा थियो, त्यो सकेर मसहित मेरो टिम फर्किँदै थियो।
सडकमा भिडभाड थियो। सवारीका साधनहरू बाक्लो थिए। अगाडि एउटा गाडी थियो। अलिक चाँडो जाऊँ भन्दै गर्दा मेरो चालकले हर्न बजायो, साइड माग्यो। मभन्दा अगाडि हिँड्ने गाडीले अलिकति पनि साइड दिन चाहेन। मसँग मलाई सरकारले दिएको सेक्युरिटी पनि थियो। उसले पनि गाडीबाट बाहिर हात निकालेर गाडी 'रोक-रोक' भनेर भन्दै गर्दा पनि त्यो गाडी रोकेन। साइड दिएन।
अनि यस्तो अवस्थामा गाडी रोक्यो कि अहिले सडक बन्दै छ। त्यो गाडी रोकेको ठाउँ डाइभर्सनमा थियो। त्यहाँ एउटा ठूलो ट्रक अगाडि बढ्दै गरेको अवस्थामा गाडी रोकियो।
मसँगै रहेको (सुरक्षाकर्मी)सेक्युरिटी गाडीबाट झरेर गए र त्यो गाडीलाई सोध्यो, ‘तपाईंले किन साइड दिनुभएन? पछाडि भीआईपीको गाडी छ, ड्राइभरले हर्न बजाउँदा किन रोक्नुभएन? मैले रोक भनेर झ्यालबाट मुख निकालेर भन्दा पनि रोक्नुभएन, कारण के हो?’ तपाईंले साइड नदिने भनेर राम्रै ढंगले सुरक्षाले सोधेको थियो।
भित्रबाट यस्तो जवाफ आयो, ‘को भीआइपी? किन भीआईपीलाई साइड चाहिने? भीआईपीलाई साइड दिन जरुरी छ? हामी अगाडि आगलागी भइरहेको छ।आगो निभाउन हिँडेको।’
म पनि गाडीभित्रै थिएँ, मैले पनि गाडी भित्रैबाट सोधेँ ,‘ल भाइ तपाईंले भीआइपीलाई साइड दिनु भएनछ, ठिक छ। हामीलाई साइड दिन जरुरी छैन, ठिक छ। सडकमा त भीआईपी मात्र हैन, धेरै यात्रुहरू हिँड्छन्। एउटा सडकको नियम पनि हो कि साइड माग्दा साइड दिनुपर्ने।’
भीआईपीलाई साइड दिनुभएन तर पछाडिको गाडीमा बिरामी पनि हुन सक्छ। बच्चा हुन सक्छ, वृद्ध हुन सक्छ, सुत्केरी हुन सक्छन्, अस्पताल लैजानुपर्ने मान्छे हुन्छन्। विभिन्न कारणले अगाडि जानुपर्ने खालका मान्छे पनि हुन सक्छन्। साइड त दिनुपर्छ, किन दिनुभएन भनेर मैले पनि सोधेको थिएँ।
सुरक्षा निकायले ऊसँग केही जिज्ञासा राख्न खोज्दै गर्दा ऊ अगाडि बढ्न खोज्यो। मेरो सेक्युरिटीले उसलाई रोक्न खोज्यो। मेरो सेक्युरिटीलाई हातले पन्छाएर अगाडि बढ्न खोज्दै गर्दा म झ्यालमा थिएँ। मेरो आँखामा लाग्यो। मलाई लागेपछि सुरक्षा मतिर फर्कियो, गाडी अगाडि बढ्यो, अघि बढ्दै जाँदा हामी पनि पछ्याउँदै गयौं। एउटा बिन्दुमा पुगेर पक्रियौं।
सदनलाई नढाँटी भन्नुपर्छ, म पनि त्यहाँ पुगेर दुईचार मुक्का लगाउने पक्षमा थिएँ। मलाई साथीहरूले पक्रनुभयो। अरू साथीहरू अर्को गाडीमा हुनुहुन्थ्यो। अरू साथीहरूले त्यसलाई दुईचार मुक्का लगाउनुभयो। तर त्यो बीचमा प्रहरी आइसकेको थियो। नजिकै रहेको सुरुङ्गा प्रहरी चौकीलाई खबर भइसकेको रहेछ। प्रहरीले उसलाई पक्रिएर अहिले नियन्त्रणमा लिएको छ। अहिले पनि हिरासतमा छ, सरकार संवेदनशील छ।
मैले सरकारलाई भनिरहेको छु, मेरो कुनै संलग्नता, उजुरी जाहेरी छैन। सरकारले छोडे हुन्छ भनेको छु। जो नियतवश गर्ने व्यक्तिहरू छन्, त्यस्तालाई भोलि प्रोत्साहन हुन्छ मात्रै भन्ने हो। वास्तवमा हो पनि। अधिवक्ता दिनेश त्रिपाठीको घटना अहिले हाम्रो आँखा अगाडि छ। यो कुरालाई लिएर सरकार संवेदनशील नै छ। घटना यही हो, मैले सदनलाई सबै जानकारी गराएँ। मान्छेले आफ्नो अनुकूलतामा लेख्छन्, भन्छन्। तर यो प्रदेश सुरक्षाको हिसाबले निक्कै संवेदनशील छ।
Shares

प्रतिक्रिया