कोशी


एउटा मन्त्रालयबाट अर्कोमा गएको फाइल पाँच दिनभित्र टुंग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन

एउटा मन्त्रालयबाट अर्कोमा गएको फाइल पाँच दिनभित्र टुंग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १९:४२, विराटनगर

कोसी प्रदेश सरकारले अन्तरमन्त्रालयको कामलाई चाँडो सक्ने गरी गृहकार्य थालेको जनाएको छ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल २ दिनदेखि ५ दिनभित्र टुङ्ग्याउने बारेमा गृहकार्य भइरहेको बताए।

प्रदेश सरकारको आर्थिक वर्ष २०८१।०८२ को अर्धवार्षिक समीक्षा कार्यक्रममा फायल मन्त्रालयमा रोकिँदा काम ढिला हुने गरेको भन्दै सरकारको आलोचना हुँदै आएको थियो।

नागरिक तहबाट आएको गुनासा र अन्तर मन्त्रालयको कामलाई सजिलो बनाउनकोलागि पनि फाइल २ बढीमा ५ दिन भित्र अर्को मन्त्रालयमा टुङ्ग्याउन सचिवलाई निर्देशन दिए।

‘जेठको अन्तिम लागेपछि कार्यक्रममा जानको लागि हैरान हुन्छ, दिनमा तीन चारवटा कार्यक्रम हुन्छन्, त्यसले नतिजा पनि दिएको छैन र जनताले पनि पचाएका छैनन्’ कार्कीले भने, ‘यस्तो काम रोक्ने गरी अघि बढ्नु पर्छ।’  

कम्तीमा हप्तामा तीनदेखि चार दिन मन्त्री र सचिवलाई सँगै बसेर मन्त्रालयको काम गर्न उनले निर्देशन दिए।

‘हाम्रो नीति, कार्यक्रम तथा बजेट खर्चको अवस्था अहिलेसम्म सन्तोषजनक छैन, पर्फर्मेन्स गर्न लागौँ, बेरुजू फछ्यौट र शासकीय सुधारलाई पहिलो स्थानमा राखेर काम गरौँ।’  

समीक्षामा नयाँ विधेयकका कुरा
आगामी माघ ७ गतेदेखि सुरु हुने प्रदेश सभाको हिउँदे अधिवेशनमा नयाँ विधेयक र संशोधन गर्नुपर्ने ऐन पनि छिटो पेस गर्ने गरी तयारी थाल्नुपर्ने बताए। प्रदेश सभामा मन्त्रालयका विषयमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले ढिलोमा एक हप्ता भित्र जवाफ दिने गरी तयारी गर्नसमेत मन्त्रीहरूलाई आग्रह गरे।

प्रदेश सभालाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सबै लाग्नु पर्ने बताउँदै कार्कीले २०७७ सालपछिको सबै भन्दा प्रभावकारी र राम्रो यही अधिवेशन हुने उल्लेख गरे। 

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले ऐन र नियमावलीमार्फत काम गर्नु पर्ने बताउँदै कार्यविधि र निर्देशिकाबाट काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए।

प्रमुख सचिव केदारनाथ शर्माले मन्त्रालयहरूले समय सीमा अनुसार काम गर्नुपर्नेमा त्यो अनुसारको प्रगति हुन नसकेको स्वीकार गरे।

‘एकै पटक नियमावली र कार्यविधि ल्याएर काम गर्ने कुरा ठिक भएन, उनले भने, पुँजीगत खर्च कसरी बढाउन सकिन्छ त्यसमा लाग्नु पर्छ।’

मन्त्रालयहरूले यसमा ध्यान दिन नसकेको उनले बताए।  समीक्षा कार्यक्रममा कोसी प्रदेश सरकारका सबै मन्त्री तथा राज्यमन्त्री, मन्त्रालयका सचिवहरूको उपस्थिति थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad