कोशी


विराटनगरको पन्ध्रौँ अधिवेशन: ६ महिनामा आन्तरिक आय २३ करोड ३५ लाख मात्र

विराटनगरको पन्ध्रौँ अधिवेशन: ६ महिनामा आन्तरिक आय २३ करोड ३५ लाख मात्र

नेपालखबर
पुस २१, २०८१ आइतबार १७:२८, विराटनगर (मोरङ)

विराटनगर महानगरपालिकाको आन्तरिक आय कमजोर देखिएको छ।

पछिल्लो ६ महिनामा आन्तरिक आम्दानी जम्मा २३ करोड ३५ लाख मात्र देखिएको छ। विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौँ अधिवेशनमा भएको छलफलमा अहिलेसम्मको आम्दानीको बारेमा छलफल भएको थियो। 

महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत् राखेर नगर सभाको पन्ध्रौँ अधिवेशन सम्पन्न भएको हो। अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो। तर यस अधिवेशनले चालु आवको नीति तथा कार्यक्रममा परेका योजना र कार्यक्रमको शीर्षक मात्रै परिवर्तन गरेको छ।

नगर सभा अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८१-०८२ का लागि संशोधित आयव्यय प्रस्तुत गरिन्। उनले चालु आर्थिक वर्षको पुस १५ गतेसम्म १ अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ अर्थात् ३५ प्रतिशत मात्रै यथार्थ आय भएको बताइन्।

चालु आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय अनुमान गरिएको थियो। त्यस्तै ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार कुल व्यय अनुमान गरिएकोमा पुस १५ गतेसम्म ६९ करोड ५४ लाख ३८ हजार रुपैयाँ अर्थात् १९ दशमलव ८७ प्रतिशत मात्रै खर्च भएको छ।

उक्त खर्चमध्ये १४ करोड ४० लाख ६३ हजार पुँजीगत र ५५ करोड १३ लाख ७५ हजार रुपैयाँ प्रशासनिक एवं चालुतर्फ खर्च भएको उपमेयर कार्कीले प्रस्तुत गरेको संशोधित आयव्ययमा उल्लेख छ। 

त्यसैगरी १ अर्ब १० करोड ७९ लाख १० हजार रुपैयाँ आन्तरिक आय अनुमान गरिएकोमा चालु आर्थिक वर्षको साउनदेखि पुस १५ गतेसम्म २३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् २१ दशमलव ०८ प्रतिशत मात्रै सङ्कलन भएको छ। त्यस्तै राजस्व बाँडफाँडबाट प्राप्त राजस्वतर्फ प्रदेश सरकार सवारी साधन कर, घरजग्गा रजिस्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क गरी कुल ८३ करोड ५४ लाख ७४ हजार अनुमान गरिएकोमा १६ करोड ३४ लाख ७६ हजार रुपैयाँ अर्थात् १९ दशमलव ५६ प्रतिशत मात्रै रकम प्राप्त भएको उपमेयर कार्कीले पन्धौं नगर सभामा संशोधित बजेट तथा कार्यक्रममा उल्लेख छ।

अन्तर सरकारी वित्तीय हस्तान्तरण सङ्घीय सरकारतर्फ १ अर्ब २२ करोड १० लाख ७५ हजार अनुमान गरिएकोमा ६७ करोड ९२ लाख ७२ हजार रुपैयाँ अर्थात् ५५ दशमलव ६२ प्रतिशत अनुदान प्राप्त भएको छ। प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ २ करोड ५७ लाख १६ हजार प्राप्त भएको छ। प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ८ करोड ३९ लाख ७२ हजार प्राप्त हुने अनुमान गरिएको छ। 

अधिवेशनमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नु निकै चुनौती देखिएको बताए।  सीमित स्रोत र साधनको अधिकतम प्रयोग गर्दै भौतिक संरचनाको विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा परिणाममुखी काम गर्न सफल भएको मेयर कोइरालाको भनाइ थियो। बहु वर्षीय योजनाअन्तर्गत निर्माणाधीन विराट राजाको दरबार, रानीपोखरी, मण्ठापोखरी, पूर्व प्रधानमन्त्री पार्क, सन्ध्याकालीन आरतीस्थल, बाल उद्यान, महानगरको बहु प्राविधिक शिक्षालयको भवन, महानगरको प्रशासनिक भवनसहितका ठुला परियोजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए।

पछिल्लो अढाई वर्षमा करिब ३१ किलोमिटर कालोपत्रे र ४८ किलोमिटर नयाँ सडकमा ग्राभेल,  ४६ किलोमिटर नाला, १७८ वटा कल्भर्ट, ९२ किलोमिटर आरसिसी सडक ढलान र ७५ किलोमिटर  वाल निर्माण सम्पन्न गरेको मेयर कोइरालाले बताए। उहाँका अनुसार बहु वर्षीय योजना अन्तर्गत ५ करोड ३८ लाख रुपैयाँको लागतमा हालै मात्र कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ। राजवंशी चोक पश्चिम पुल्चोकदेखि करिब साढे ५ किलोमिटर नहरको बाटोलाई ३ करोड ८२ लाख रुपैयाँको लागतमा कालोपत्रे गर्नका लागि काम सुरु भइसकेको उहाँले बताउनुभयो। विराटनगरको ट्राफिक व्यवस्थापनका लागि विभिन्न पाँच स्थानमा ७७ लाख रुपैयाँको लागतमा ट्राफिक लाइट जडान भई सञ्चालन आइसकेको छ। 

पुष्पलालचोक–पानी टङ्की सडकअन्तर्गत करिब १२ सय मिटर सडक जीर्णोद्धार सम्पन्न गरिएको, विराटनगरको खानेपानी समस्या जाइकाको अनुदान सहयोगमा धमाधम पाइप बिछ्याउने काम भइरहेको, विराटनगरमा भएका बैङ्क तथा वित्तीय संस्थाहरूको आर्थिक सहयोगमा बरगाछी–रानी सडकको सौन्दर्य करण परियोजना जारी रहेको जनाइएको छ। 

मदिरा तथा सुर्तीजन्य पदार्थसहित सञ्चालनमा रहेका होटल, रेस्टुराँ, सभ्य र मर्यादित रूपमा सञ्चालन गर्न सचेत गराउने र नियमन गर्ने कार्य भइरहेको समेत मेयर कोइरालाले कताए।  गीत, गजल र दोहोरी साँझका कारण बढ्दो ध्वनि प्रदूषणलाई अनुगमन समिति बनाएर नियन्त्रण गर्ने कार्य जारी रहेको, रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई जोड्ने उद्देश्यले महानगरले रोजगार मेला आयोजना गरी १९३ जनालाई रोजगारदाताहरूसँग जोडिएको मेयर कोइरालाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad