उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षमा माओवादीको जित भएको छ।
आइतबार भएको मतदानमा माओवादीका भरत घिमिरे नयाँ वडाध्यक्षमा निर्वाचित भएका हुन्। एमाले उम्मेदवारलाई हराएर ३२ वर्षीय घिमिरे निर्वाचित भएका हुन्।
उनले निकटतम प्रतिद्वन्द्वी एमालेका मोहन खड्कालाई हराएका हुन्।
अन्तिम मत परिणामअनुसार माओवादीका घिमिरेले ५५९ मत पाउँदा एमालेका मोहन खड्काका पक्षमा ५२५ मत परेको छ। घिमिरेले खड्कालाई ३४ मतले पछि पारे।
नेपाली कांग्रेसका नवराज बस्नेत ४०४ मतका साथ तेस्रो स्थानमा पुगेका छन्।
आइतबार राति १० बजे नै गणना सुरु भए पनि विवादका कारण लामो समय अवरुद्ध भएको थियो। बदर मत धेरै भएको भन्दै गणनामा बसेका माओवादीका प्रतिनिधिले निवेदन दिएका थिए। माओवादीको विरोधपछि आइतबार राति १ बजेबाटै गणना रोकिएको थियो।
यसअघि बदर भनिएको मत पनि पुनः गणना गर्ने सहमति सोमबार दिउँसो भएको हो। यसअघि ५०० मत गन्दा २२० मत बदर भएको थियो। त्यतिन्जेल एमालेका मोहन थापाले ८५ मतसहित अग्रता लिएका थिए। माओवादीका भरत घिमिरेले ८० र कांग्रेसका नवराज बस्नेतले ६२ मत पाएका थिए।
बेलका ९ को वडाध्यक्षमा ७ जना उम्मेदवार थिए। २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका पदमबहादुर खड्का निर्वाचित भएको यो स्थान यसपालि माओवादीले खोसेको छ। त्यसबेला एमाले उम्मेदवार दोस्रो हुँदा माओवादी उम्मेदवार चौथो भएका थिए। सो वडामा माओवादी उम्मेदवार हरिबहादुर श्रेष्ठ जोशीले १७६ मत मात्र ल्याएका थिए।
Shares

प्रतिक्रिया