कोशी


इलाम बजारमा कुकुरमा अल्झिएर सवारी दुर्घटना हुने क्रम बढ्दै

इलाम बजारमा कुकुरमा अल्झिएर सवारी दुर्घटना हुने क्रम बढ्दै

फाइल तस्बिर


नेपालखबर
कात्तिक १२, २०८१ सोमबार ८:४५, काठमाडौँ

इलामको इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ। जसका कारण कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो। छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएका छन्। कुकुरको टोकाइबाट धेरै घाइते भएका छन्। 

कात्तिक सुरु भएयता मात्र इलाम बजारमा ३० जनालाई कुकुरले टोकेको छ। चालु आर्थिक वर्षको असोजसम्ममा ७० जनालाई कुकुरले टोकिसकेको तथ्यांक जिल्ला अस्पतालसँग छ। घरपालुवा र सडकमा डुल्ने कुकुरले टोकेका दैनिक पाँच देखि सात जना बिरामी आउने गरेको इलाम अस्पतालका आकस्मिक सेवा इन्चार्ज टीका लुइँटेलले जानकारी दिइन्। गत आव २०८०/८१ मा भने सात सय ३५ जनालाई कुकुरले टोकेर भ्याक्सिन लगाएको उनले बताइन्। 

फिक्कलबाट आइतबार सदरमुकाम आइपुगेका सन्देश खड्काको मोटरसाइकल  कुकुरमा अल्झिएर लड्यो। ‘कुकुर जोगाउने हुँदा बाइक हुत्तिएर नालिमा लड्यो र बचेँ, गाडीमा ठोक्किएको भए ज्यान जाने थियो’,’ उनले भने, ‘स्थानीय सरकार, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायत सबै सरकारी निकाय यहीँ छन्। छाडा कुकुर व्यवस्थापन गर्नु उनीहरूको दायित्त्व हो।’

छाडा कुकुरको व्यवस्थापन इलाम नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालयले गर्नुपर्ने सर्वसाधारणको भनाइ छ। विष हालेर मार्दा पशु अधिकारकर्मीको चर्को विरोध आएपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको स्थानीयले बताए। 

नगरपालिकाले कुकुर व्यवस्थापनका लागि बजेट विनियोजन गरेर योजना अघि बढाएको जनाएको छ। छाडा कुकुरको सङ्ख्या बढ्दै गएका कारण मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएपछि नगरपालिकाले छाडा कुकुर व्यवस्थापनको पहल थालेको जनाएको हो। 

इलाम बजारका छाडा कुकुरको दीर्घकालीन व्यवस्थापन गर्न कुकुरको बन्ध्याकरण शिविर चलाउन लागिएको नगरपालिकाका प्रमुख केदार थापाले बताए। ‘छाडा कुकुरका कारण इलाम बजार अव्यवस्थित तथा दुर्घटनाको जोखिमसमेत बढेकाले कुकुरहरूको यथोचित् व्यवस्थापनका लागि बन्ध्याकरण उपयुक्त विकल्प भएको निष्कर्षसहित तयारीमा लागेका छौँ’, नगर प्रमुख थापाले भने, ‘छाडा कुकुरले जथाभावी मानिसलाई टोक्ने गरेपछि त्यसको व्यवस्थापनका लागि कुकरलाई रेबिजविरुद्धको खोप दिने र बन्ध्याकरण गरिनेछ। योजना कार्यान्वयनसँगै सडकमा हिँडडुल गर्ने नागरिक कुकुरबाट सुरक्षित हुनेछन्, रेबिज रोगको जोखिम कम हुनेछ।’

कुकुरको टोकाइबाट रेबिज सर्ने सम्भावना ९० प्रतिशत हुन्छ। विभिन्न जिल्लामा ‘नो बेबी, नो रेबिज’ भन्ने नाराका साथ रेबिजविरुद्धको खोप लगाउने गरिएको छ। अरू जिल्लामा व्यवस्थापनसहित विभिन्न अभियान चलिरहेको भए पनि इलाममा छाडा कुकुर व्यवस्थापन गर्न नसकिएको पशु प्राविधिक प्रदीप गुरुङले बताए। बजार क्षेत्रमा मात्र दुई सय हाराहारीमा छाडा कुकुर रहेको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad