ad ad

कोशी


सोलुखुम्बुमा गाउँ नै बगाउने थामे बाढी, पानीको मात्रा केही कम भए पनि कटान जारी

सोलुखुम्बुमा गाउँ नै बगाउने थामे बाढी, पानीको मात्रा केही कम भए पनि कटान जारी

थामे बाढीले पुर्‍याएको क्षति। तस्बिर : रासस


नेपालखबर
भदौ १, २०८१ शनिबार ८:३१, सोलुखुम्बु

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान गर्ने क्रम जारी छ। शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीले खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान गरिरहेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीले खोलामा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको बताए।

बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ।

खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ। उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। 

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ। बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र सारेको छ।

उक्त बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ। बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ।

पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ।

प्रहरी नायब उपरीक्षक घिमिरेले भने, ‘बाढीले जिल्लाको तल्लो क्षेत्रमा पनि क्षति पुर्‍याएको खबर छ, सोताङ र थुलुङ दूधकोसी जोड्ने दिप्लीघाटस्थित दूधकोसी नदी छेउमा राखिएको बेलीबृजको सामान बगाएको छ, नदी आसपासका बस्तीमा पनि सामान्य क्षति पुगेको छ। बाढी आउनुको कारण खुल्न सकेको छैन।’

हेर्नुहोस् बाढीको भिडिओ-

खुम्बु क्षेत्रबाट उक्त बाढी हिमताल फुटेर आएको हुनसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए। कुन हिमताल फुट्यो भन्ने एकिन नभएको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .