ad ad

कोशी


थामे घटनाको कारणबारे बाढी पूर्वानुमान महाशाखा : निरन्तर वर्षा र तापक्रम वृद्धिले हिमताल विस्फोट र पहिरो

थामे घटनाको कारणबारे बाढी पूर्वानुमान महाशाखा : निरन्तर वर्षा र तापक्रम वृद्धिले हिमताल विस्फोट र पहिरो

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार २२:३, काठमाडौँ

सोलुखुम्बुको खुम्बु पासाडल्हामु गाउँपालिका-५, थामेमा आएको बाढी र पहिरो हिमताल विस्फोटका कारण भएको हुन सक्ने प्रारम्भिक आकलन जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो करिब १:३० बजे थामेखोला एक्कासि बाढी आएको घटनाको प्रारम्भिक अध्ययन गर्दा सो थामेखोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा सानाठूला गरी ६ वटा हिमताल तथा हिमपोखरीहरू रहेको पाइएको छ। उक्त क्षेत्रको नजिक रहेको फोत्सें केन्द्रमा विगत ७ दिनमा कुल ६४ मिलिमिटर वर्षा मापन भएको, साउन २४ देखि दैनिक औसत तापक्रममा क्रमिक रूपमा बढ्दै गएको छ। दैनिक औसत तापक्रम ९.७ डिग्रीबाट ११.० डिग्री सेल्सियस पुगेको छ। साउन ३१ गतेको अधिकतम तापक्रम १४.९ डिग्री सेल्सियस रेकर्ड भएको छ। 

यसरी निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरूमध्ये कुनै हिमताल विस्फोट भएको हुन सक्ने आकलन महाशाखाले गरेको छ।

हेर्नुहोस् भिडिओ

बाढीको कारण जल तथा मौमस विज्ञान विभागको दूधकोसी रबुवाबजार बाढी मापन केन्द्र, खोटाङ (जुन थामेबाट करिब ८२ किलोमिटर तल्लो तटीय क्षेत्रमा छ) ले जलसतह आज साझ ५:१० बजे ४.२९ मिटरबाट ३० मिनेटमा एक्कासि करिब १.२० मिटर बढी साँझ ५:४० बजे ५.५३ मिटर पुगेको देखाएको छ। त्यसपछि विस्तारै घट्न थालेकोले रबुवाबजारभन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठूलो जोखिम नहुने देखिए पनि दूधकोसीको नदी तटीय क्षेत्रमा भोलि (शनिबार) बिहानसम्म सतर्कता अपनाईराख उपयुक्त हुने पनि महाशाखाले जनाएको छ।

स्थानीयहरूबाट प्रारम्भिक जानकारी प्राप्त हुनासाथ विभागले दूधकोशी जलाधारको सोलुखुम्बुदेखि खोटाङ र ओखलढुंगासम्मका तटीय क्षेत्रमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन दिउँसो २:३० बजेबाट पूर्वसूचनासमेत प्रवाह गराइसकिएको जानकारी पनि महाशाखाले दिएको छ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे बस्तीमा आएको लेदोसहितको बाढीले १४ वटा घर बगाएको छ। एकजना व्यक्ति बेपत्ता छन्। 

शुक्रबार साँझ विज्ञप्ति प्रकाशित गरी गाउँपालिकाले ‘उक्त बस्तीमा अचानक आएको बाढीबाट हालसम्म १ विद्यालय छात्रावास, १ क्लिनिक, ५ वटा होटल र ७ वटा घरसहित १४ वटा भवनहरु पूर्ण रुपमा बगेका र अन्य घरमा समेत बाढी पसी धनमालको व्यापक क्षति भएको’ बताएको छ। बाढीको बहाव क्षेत्रका अन्य भौतिक संरचनाहरूमा समेत व्यापक क्षति पुगेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले स्थानीय सरकार, स्थानीय प्रशासन र स्थानीय वासीको सहयोगमा उद्वार कार्य भइरहेको भन्दै खराब मौसमका कारण गाउँपालिकाका सबै जनप्रतिनिधि एवं कर्मचारी यथासमयमा उक्त बस्तीमा पुग्न नसकिएको र भोलि बिहानैदेखि उद्धार र तथा राहत कार्यमा सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारी खटिने बताएका छन्।

गाउँपालिकाले सो स्थानमा गर्नुपर्ने थप उद्वार, राहत तथा पुनःस्थापनाको लागि संघीय सरकार, प्रदेश सरकार एवं गैर सरकारी संघ संस्थाबाट थप सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीसँग टेलिफोनबाट वस्तुस्थितिको जानकारी लिई उद्धार र राहतमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्। मानवीय क्षति हुन नदिने गरी काम गर्न प्रधानमन्त्रीले भनेका छन्। 

यसैबीच रक्षामन्त्री मानवीर राई नेपाली सेनाको हेलिकप्टर लिएर शनिबार घटनास्थलतर्फ जाने भएका छन्। मौसमले साथ दिएमा रक्षामन्त्री राई त्यसतर्फ जाने कार्यक्रम रहेको प्रजिअ पाण्डेले बताइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .