ad ad

कोशी


सीमा क्षेत्रका नेपाली भन्छन् : भारतीय एसएसबीको ज्यादती बढ्यो, सरकारले सोचोस्

सीमा क्षेत्रका नेपाली भन्छन् : भारतीय एसएसबीको ज्यादती बढ्यो, सरकारले सोचोस्

नेपालखबर
फागुन १५, २०८० मंगलबार १५:४३, काठमाडौँ

पूर्वी नेपालको भारतसँग सीमा जोडिएको भेगमा बसोवास गर्दै आएका नेपालीले भारतीय सुरक्षा बल एसएसबीको ज्यादती बढ्दै गएको गुनासो गरेका छन्।

स्थानीयको धारणा बुझ्न पैदल यात्रामा निस्केको जिल्ला सुरक्षा समिति सुनसरीको टोली समक्ष सीमा क्षेत्रका नेपालीवासीले भारतीय सुरक्षा बल एसएसबीको ज्यादतीबारे आवाज उठाएका हुन्।

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सहितको टोलीमा रहेका सुरक्षा निकायका प्रमुख समक्ष आफ्ना गुनासा राख्ने क्रममा सीमाका नेपालीहरुले एसएसबीको ज्यादती बारेको जानकारी गराए।

सीमा क्षेत्रमा एसएसबीले नेपालीलाई गर्ने व्यवहार रुखो र अभद्र प्रकृतिको रहेको नेपाली भूमि तर्फका बासिन्दाको भोगाई छ। उनीहरुले एसएसबीले नेपालीलाई स–साना कुरामा भाटा हान्ने, कुटपिट गर्ने र अनाहकमा पक्राउ गरी दुःख दिने जस्ता कार्य गर्दै आएको नेपाली सुरक्षा निकाय समक्ष दुखेसो पोखेका छन्। 

 

स्वयं हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले समेतले एसएसबीको ज्यादती बढेको भन्दै नेपाली पक्षले सोच्ने बेला आएको धारणा राखे। एसएसबीले नेपाली भूमिमा खाल्डो पारिदिने, टहरा निर्माण गर्ने, नेपालीलाई अनाहकमा दुःख दिने जस्ता काम गर्दै आएको अन्सारीले बताए।

सीमामा एसएसबीको उपस्थितिको विषयमै प्रश्न उठाएका अन्सारीले भारतले लागुऔषध खुला रुपमा नेपाल भित्रन दिएर बालबालिकाको भविष्य अन्यौल बनाउने जस्ता कार्य गरिरहेको आरोप समेत लगाए। उनले एसएसबीले चोरी तस्करी नियन्त्रणमा समेत नेपाली पक्षलाई सघाउ नगरेको भन्दै सोबारे माथिल्लो तहमै आवाज उठाउन ढिला गर्न नहुने धारणा राखे।

स्थानीय अताबुल अन्सारी समेतले एसएसबीको ज्यादती बढेको देख्दा नेपाली भूमि नेपालको नभई भारतकै हो की भन्ने आभाष हुन थालेको बताए। उनले नेपाल सरकारले सो विषयमा ठोस कदम चाल्नुपर्ने बताए।

कोशी प्रदेशका नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआइजी समेतको उपस्थितिका बीच भारतीय सीमा सुरक्षा बल एसएसबीको कार्य शैलीको आलोचना गरेका स्थानीयले काउण्टर पार्टको बैठकमा सो विषय उठान गर्न माग समेत गरेका छन्।

सुनसरीमा ६२ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ। सीमा सुरक्षामा दुवै देशका सुरक्षाकर्मीको तैनाथी रहँदै आएको छ। यद्यपि सीमामा रातदिनको सुरक्षा तैनाथीका बाबजुत चोरी तस्करी भने रोकिन नसकेको स्थानीयको भनाई छ।

सीमा क्षेत्रमा स्थानीयको धारणा र दशगजा क्षेत्रको अवस्था बुझ्न तीन दिने पैदल यात्रामा निस्केका प्रजिअ जयनायारण आचार्यले स्थानीयका प्रत्यक्ष गुनासा र समस्या सम्बोधनका सवालमा सरकारको ध्यानाकर्षण गराइने बताए।

प्रजिअ आचार्यले पैदल यात्राको उद्येश्य सीमावासी सँगको प्रत्यक्ष भेटघाटसँगै समस्या र गुनासा सम्बोधनका लागि भएको बताए। यात्राको क्रममा स्थलगत अनुगमनसँगै वस्तुस्थिति बारेको प्रत्यक्ष जानकारी प्राप्त हुने प्रमुख जिल्ला अधिकारीले बताए।

प्रजिअ आचार्यले एसएसबी बारेको नेपालीको धारणा र नेपाली भूमिमा भारतीय टहरा बनाइएको भन्ने जस्ता विषयसहित स्थानीयले उठाएका मुद्दा दुई देशीय सुरक्षा समितिको बैठकमा कुरा उठाउने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .