ad ad

कोशी


प्रदेश सांसदले ऐनविपरीत लिएका सुविधा तत्काल फिर्ता गर्नूस्– प्रमुख सचेतक राई

प्रदेश सांसदले ऐनविपरीत लिएका सुविधा तत्काल फिर्ता गर्नूस्– प्रमुख सचेतक राई

नेपालखबर
जेठ २०, २०८० शनिबार ६:५४, काठमाडौँ

नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले सांसदहरुलाई पारदर्शी बन्न र आफूले बनाएको ऐन-कानुन पालना गर्न आग्रह गरेका छन्। शुक्रबार प्रदेशसभाको बैठकमा बोल्दै सांसद राईले जनप्रतिनिध भनेको भ्रष्टाचारी हुन्छन्, अपारदर्शी हुन्छन् भन्ने छाप नागरिकमा बसिसकेकाले त्यसलाई हटाउन सुध्रिनुपर्ने बताए। 

‘हामीले आफ्ना लागि कानुन बनाउने होइन, नागरिक र देशका लागि बनाउने हो। हामीले त्यसो गरेका छैनौं। कानुन बनाएका छौं, ऐन बनाएका छौं तर आफैं मानिरहेका छैनौं’, राईले भने। 

पछिल्लो राजनीतिक घटनाक्रमले जनप्रतिनिधिलाई निकै अप्ठेरो परिस्थितिमा पुर्‍याएको पनि उनले बताए। 

‘२/४ जना व्यक्तिका कारण हामी आलोचित हुनुपरेको छ। प्रदेश सदस्यहरुले पाउनेभन्दा बढी सुविधा लिइरहेका छन्। यो ठीक भएन। आवास र गाडीको सुविधा क-कसलाई दिइरहेको छ? कुन ऐनअनुसार दिइएको हो’, राईले प्रश्न गरे।

ऐनविपरीत सांसदलाई सुविधा दिइएको विषयमा आफूले संसद् सचिवालयमा कुरा उठाएको तर सचिवालयले मन्त्रिपरिषद्‌को निर्णयअनुसार दिएको भन्ने जवाफ दिएको उनले बताए। 

‘यदि मन्त्रिपरिषद्‌ले ऐनभन्दा बाहिर गएर निर्णय गर्न सक्छ भने यो सभा केका लागि? हामी किन यतिसारो लाचार भएर सुविधाभोगी बनिरहेका छौं? त्यत्रो आलोचना हुँदा पनि हामीले किन फिर्ता गरेनौं’, राईले भने। 

उनले सभापछि तत्काल त्यस्ता ऐनविपरीत लिइएका सुविधा फिर्ता गर्न पनि आग्रह गरे। कांग्रेसबाट कसैले लिएको छ भने फिर्ता गराउने प्रतिबद्धता जनाउँदै यसबारे पार्टीले निर्णय गरिसकेको कांग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका राईले बताए। 

यस्तै महालेखाको परीक्षण प्रतिवेदनबारे पनि उनले प्रदेशसभामा कुरा उठाए। प्रदेश सरकारले गलत ठाउँमा मनोमानी खर्च गर्दा प्रदेश संरचना नै बदनाम बनेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .