ad ad

कोशी


जातीय हिंसा भड्केको मणिपुरमा नेपालीभाषीको अवस्था के छ?

जातीय हिंसा भड्केको मणिपुरमा नेपालीभाषीको अवस्था के छ?

नेपालखबर
बैशाख २३, २०८० शनिबार १९:२८, झापा

पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित छन्। 

कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो। जसका कारण मणिपुरको प्रान्तीय राजधानी इम्फाल लगायतका प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कर्फ्यु लगाइनाका साथै हिंसा भड्किँदा जनजीवन आतङ्कित बनेको छ। नेपाली भाषी भारतीय नागरिकहरू हिंसामा नपरेको इम्फाल निवासी एसके विश्वकर्माले टेलिफोन सम्पर्कमा बताए।

‘चौबिसै घण्टा कर्फ्यु लगाइएको छ, यहाँका सडकमा सुरक्षाकर्मीहरूले गस्ती गरिरहेका छन्’, उनले भने, ‘हाम्रो नेपाली भाषी दाजुभाइ, दिदीबहिनीहरू कोही पनि सडकमा निस्कनुभएको छैन। कुनै पनि नेपाली बस्तीमा हिंसा भएको जानकारी आएको छैन।’

उनका अनुसार उत्तरपूर्वी भारतको पहाडी राज्य मणिपुरमा ५० हजारको सङ्ख्यामा नेपाली भाषीको बसोबास छ। उनीहरू अधिकांश खेतीपाती र केही व्यापार गर्छन्। थोरैले राज्यको नोकरी पनि गरिरहेका छन्। नेपालबाट घुम्न वा आफन्त भेटघाटका लागि मणिपुर आउजाउ हुने गर्दछ। तर, अहिलेसम्म नेपाली नागरिकहरू पनि हिंसाको चेपुवामा परेको जानकारी नभएको विकले बताए।

पूर्वीनाका काँकडभिट्टाबाट मणिपुरका लागि यातायातको टिकट काट्ने काम गर्दै आएको नेपाल यात्रु सेवाका सञ्चालक सुशील प्रधानले सीमावर्ती पानीट्याङ्कीबाट इम्फाल जाने कुनै पनि सवारीसाधन नचलेको जानकारी दिए। उनका अनुसार भारतीय नाका पानीट्याङ्कीबाट आसामको राजधानी गुवाहाटी हुँदै र सिधै इम्फाल जाने यात्रुवाहक सवारीसाधनको नियमित सेवा छ। साताको दुई पटकमात्र इम्फालका लागि पानीट्याङ्कीबाट यात्रुवाहक गाडी पाइने र सिधा यात्राको भाडादर प्रतिव्यक्ति भारु तीन हजार दुई सय रहेको उनले बताए। 

पूर्वोत्तर भारतको आसाम, मेघालय र नागालेन्डमा रोजगारी र घुमफिरका लागि नेपालीहरू बाक्लै जाने गर्छन्। तर, मणिपुर जानेको सङ्ख्या अत्यन्त न्यून हुने गरेको काँकडभिट्टास्थित ओम आशिष ट्राभल्सका सञ्चालक नेत्र कार्कीले बताए। ‘मणिपुरमा घुम्नलायक धेरै ठाउँ छैनन्, हिन्दू धार्मिकस्थल पनि छैनन्,’ उनले भने, ‘कोहीकोही आफन्त भेटघाटका लागि र केही चाहिँ बर्माको सीमा हेर्न जाने गर्छन्। एकदमै थोरै सङ्ख्यामा त्यहाँको होटलमा रोजगारीका लागि नेपालीहरू जाने गरेको पाइएको छ।’

मणिपुरको चारहजारे, कांगलतुम्बी, सेकमाईलगायत राजधानी इम्फालका केही बस्तीमा नेपालीको बाहुल्य छ। त्यहाँका नेपालीहरू माृतभाषामा माध्यमिक तहसम्मको अध्ययन गर्दछन्। आसामको गुवाहाटी र नागालेन्डको डिमापुर हुँदै रेल यात्रा गरेरसमेत मणिपुर पुग्न सकिन्छ। नेपालबाट मणिपुर जाने एकमात्र स्थलनाका काँकडभिट्टा नै हो। काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले मणिपुरको हिंसाका कारण नेपालीहरू त्यहाँ अप्ठेरोमा परेको भन्ने कुनै जानकारी नआएको बताए। 

नाकामा चेकजाँच हुँदा आधारकार्ड देखाएर भारतीय नागरिकहरूले नेपाल प्रवेश गर्न पाउँछन्। ‘चेकजाँचका क्रममा अहिलेसम्म कसैले पनि मणिपुरमा समस्या परेर आएको भनेका छैनन्,’ प्रहरी नायब उपरीक्षक भारतीले भने, ‘भारतीय सीमावर्ती सुरक्षा निकायका प्रमुखहरूसँग पनि सम्पर्क भइरहेकै हुन्छ। उहाँहरूले पनि भारतमा कुनै समस्या भयो भने हामीलाई जानकारी गराउने चलन छ। अहिलेसम्म नेपालीहरू मणिपुर हिंसामा परेको कुनै जानकारी छैन।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .