ad ad

कोशी


मुख्यमन्त्री कार्कीको सरकार ढाल्न राप्रपा फकाउँदै गठबन्धन

मुख्यमन्त्री कार्कीको सरकार ढाल्न राप्रपा फकाउँदै गठबन्धन

ध्रुव भट्टराई
बैशाख २, २०८० शनिबार १३:५९, विराटनगर

कोशी प्रदेश सरकार परिवर्तनका लागि गठबन्धनको केन्द्रीय तहबाटै कसरत सुरु भएको छ।

एमालेका नेता हिक्मत कार्कीको नेतृत्वमा रहेको सरकार ढालेर गठबन्धनको नयाँ सरकार गठनका लागि केन्द्रीय तहबाटै पहल सुरु भएको हो। यसका लागि कोशी प्रदेशका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका संसदीय नेताहरूले शीर्ष नेताहरूले भेटेर पहल गरिदिन आग्रह गरेका छन्।

केही दिनअघि कांग्रेसका नेता उद्धव थापा, माओवादीका इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए। केन्द्रबाट सरकार परिर्वतनको लागि साथ पाए कोशी प्रदेश सरकार ढाल्ने तयारीमा गठबन्धनमा रहेका दलहरू छन्।

तर नयाँ सरकार गठनका लागि अझै एक सांसद कम रहेको अवस्थामा राप्रपा फकाउने र आधार तय गर्ने प्रयासमा गठबन्धनको छ। जसका लागि केन्द्रीय गठबन्धनले राप्रपालाई पनि गठबन्धनमा ल्याएर कोशी प्रदेशमा नयाँ सरकार गठनको पहल थालेको बताइएको छ।

कोशी प्रदेशमा राप्रपालाई गठबन्धनमा ल्याउन सकेको खण्डमा नयाँ सरकार गठनका लागि सहज बहुमत पुग्ने भएकाले  पनि केन्द्रीय तहबाटै राप्रपालाई फकाउन प्रयास शुरु भएको काग्रेसका एक सांसदले बताए। नयाँ सरकार पनि टिक्न नसक्ने अवस्था भएकै कारण कोशी प्रदेशमा राप्रपालाई जसरी भए पनि सरकारमा सहभागी गराउन नयाँ गठबन्धनको कसरत जारी छ ती सांसदले भने, यद्यपि उसले अहिलेसम्म ठोस जवाफ दिएको छैन।

गठबन्धनले राप्रपालाई साथमा लिएको खण्डमा नयाँ सत्ता कसरतले हिक्मत कार्की नेतृत्वमा रहेको कोशी प्रदेश सरकार संकटमा पर्नेछ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालले सरकारलाई समर्थन नरहेको सूचना दिएलगत्तै एमाले संसदीय दल नेता कार्की नेतृत्वको सरकार अल्पमतमा पर्नेछ। माओवादी र जसपाले समर्थन नरहेको जनाउ दिएको एक महिनाभित्र मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ। यी दुई दलको समर्थन नरहेपछि कार्कीको पक्षमा बहुमत पुग्नेछैन। उनको सरकार ढल्नेछ।त्यो सगै नँया सरकार गठनका लागि बाटो खुल्ने छ।

कुल ९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ। यो संख्या कुनै एक मात्रै दलसँग उपलब्ध छैन। एउटै मात्रै दलसँग बहुमत नभएकै कारण अहिले एमाले, माओवादी, राप्रपा र जसपा सम्मिलित सरकार प्रदेशमा छ।नयाँ मुख्यमन्त्रीले विश्वासको मत पाउनलाई प्रदेश  सभामा ४७ मत प्राप्त गर्नुपर्छ।

सभामुखलाई समेत जोड्दा गठबन्धनसँग ४७ मत पुग्छ। तर सभामुखले मत बराबरी भएको अवस्थामा बाहेक सामान्य अवस्थामा मत हाल्न पाउने छैनन्। त्यहीबेला सरकार ढाल्ने र नयाँ बनाउन संसदमा  किनबेच समेत हुनसक्ने भय गठबन्धनभित्र देखिन्छ। तसर्थ राप्रपालाई पनि साथमा लिएर सरकार गठनको प्रयासमा गठबन्धन छ।

नयाँ मुख्यमन्त्रीले विश्वासको मत लिने दिन एमाले र राप्रपाका सबै सांसद उपस्थित भएर मुख्यमन्त्रीको विपक्षमा मतदान गरे भने पक्ष र विपक्षमा ४६–४६ मत हुनेछ। यस्तो अवस्थामा सभामुख गौतमले निर्णायक मत दिएर सरकार बचाउन सक्नेछन्। संविधानअनुसार मत बराबरी हुँदा मात्रै सभामुखले मतदान गर्न पाउनेछन्। तर त्यसदिन एमाले र राप्रपाका एक जना मात्रै सांसद अनुपस्थित रहे भने पक्ष र विपक्षमा बराबरी मत हुने छैन।

कोशीमा एमालेसँग ४० जना सांसद छन्। त्यो संख्यामा जम्मा ७ जना थपिँदा सरकार बनाउन पुग्ने बहुमत पुग्थ्यो। अहिले सभामुखसहित १३ सदस्य भएको माओवादी, ६ जना सांसद भएको राप्रपा र १ जना सांसद भएको जसपाले साथ दिएपछि एमाले नेतृत्वमा आरामदायी बहुमतसहित सरकार बनेको छ।

भेटका क्रममा आफूहरूले वर्तमान सरकारमा रहेको नेकपा माओवादी र जसपाका मन्त्रीले सरकार छोड्ने विषयमा कुराकानी गरेको नेकपा एकीकृत समाजवादीका नेता राईले बताए।

‘अब चार/पाँच दिनभित्रै नयाँ सरकार बनाउने प्रक्रिया आरम्भ गर्छौं,’ नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले भने, ‘हिजो एक प्रकारको गठबन्धन गरेर बनाएको सरकारमा सहभागी भएका केही दलका मन्त्रीले राजीनामा दिनुहुन्छ। त्यसपछि नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुन्छ।’

अविश्वासको प्रस्तावबाटभन्दा सरकार ढाल्न साविक मन्त्रिमण्डलमा रहेका मन्त्रीहरूले राजीनामा दिने र दलले समर्थन फिर्ता लिने सहज बाटो अपाउनेगरी केन्द्रका नेताहरूसँग छलफल गरिएको उनले बताए। मुख्यमन्त्री बन्ने विषयमा दल नेताहरूको तर्फबाट शीर्ष नेताले जसलाई निर्णय गरेर पठाए पनि मान्न तयार देखिएका छन्। 'छिटो हुने प्रक्रियाको बाटो खुलाइदिनुहोस् भनेर भनेका छौं,’  राईले भने, ‘आलोपालोको कुरा केन्द्रको सरकारको नेतृत्वमा पनि भएको र विभिन्न ठाउँका मुख्यमन्त्री पनि आलोपालोको कुरा चलिरहेको हुँदा यहाँ पनि त्यो हुन सक्छ।’

माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धनले कोशी प्रदेश सरकार गठनको आधार तय गरेपछि नयाँ सत्ता समीकरणको लागि पहल सुरु गर्ने बताए। ‘केही सांसदको संख्या थपेर नयाँ सत्ता समीकरणको प्रक्रिया अघि बढाउने केन्द्रीय गठबन्धनले औपचारिक निर्णय गरेपछि मुख्यमन्त्री कार्की नेतृत्वको सरकारको समर्थन फिर्ता लिन्छौं,' उनले भने।

राप्रपा संसदीय दलका नेता एवं मन्त्री भक्तिप्रसाद सिटौलाले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार ढलेपछि कसको नेतृत्वमा सरकार बन्छ भन्ने हेरेर मात्रै आवश्यक निर्णय गरिने बताए।अहिले नै पार्टीले कुनै निर्णय लिइनसकेको उनको भनाइ छ।

एमालेको नेतृत्वमा रहेको कोशी प्रदेशमा माओवादीको तर्फबाट दुर्गाप्रसाद चापागाई, जीवन आचार्य र जसपाको तर्फबाट निर्मला लिम्बू सरकारमा सहभागी छन्। केन्द्रको सत्ता समीकरण फेरिए पनि कोशी प्रदेशमा भने फेरिएको छैन। 

कोशी प्रदेशमा नेपाली कांग्रेसका २९, माओवादी ९सभामुख सहित १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाका १ सांसद छन्। सरकार बनाउनका लागि ४७ सांसद चाहिन्छ। चार दलका सांसद जोड्दा ४७ मात्रै पुग्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .