कोशी


जलवायु अनुकूलित गाउँ बन्दै पाटापुर

जलवायु अनुकूलित गाउँ बन्दै पाटापुर

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १०:४५, मङ्गलबारे

इलामको दक्षिणी क्षेत्र रोङ गाउँपालिका–६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमुना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुर क्षेत्रलाई जलवायु अनुकूल गाउँ घोषणाको तयारी गरिएको हो। 

गाउँपालकिला र नामसालिङ सामुदायिक विकास केन्द्रले सो क्षेत्रलाई स्थानीय हावापानी सुहाउँदो बीउबाली, खेती प्रणाली प्रवद्र्धन, अन्य तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गरेको छ। यस्तै सोलार लिफ्टिङ प्रविधिको सिँचाइ आयोजना निर्माण गरिएको छ। 

चुरे क्षेत्रको पाटापुरमा सिँचाइका लागि नामसालिङ सामुदायिक विकास केन्द्रमार्फत सोलार लिफ्टिङ प्रविधिको सिँचाइ आयोजना उद्घाटन गरिएको छ। गाउँपालिका र स्थानीय सरकारको पहलमा क्यानेडियन कोषको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको हो। आयोजनाको संयुक्त रुपमा कोषका काउन्सिलर कोलिन र गाउँपालिका अध्यक्ष सुवास स्याङ्बोले बुधबार उद्घाटन गरे। 

नामसालिङ सामुदायिक विकास केन्द्रका हीराकाजी घलेका अनुसार गाउँमा रहेको सुक्खा जमिनमा सिँचाइ सुविधा उपलब्ध गराई यहाँ जलवायु अनुकूल बाली विस्तार गर्न ६० घर परिवारलाई सहयोग पुगेको छ। पाटापुरमा बाँदर हात्ती र बाघजस्ता वन्यजन्तुले हानिनोक्सानी नगर्ने बाली विकासका लागि बीउ वितरण गरिएको छ। 

यहाँका खेतबारीमा प्रयोग गर्न मिनी पावर टिलर, कुटानीपिसानी मिल र अन्य मेसिन वितरण गरिएको छ। गाउँमा छवटा लघुउद्यम सञ्चालन सुरु भएको गाउँपालिका अध्यक्ष सुवास स्याङबाले बताए। प्राङ्गारिक खेती प्रवर्द्धनका लागि २० घरधुरीमा स्थानीय स्रोत र साधन प्रयोग गरी गोठ तथा खोर सुधारमा सहयोग गरिएको छ। बेमौसमी तरकारी खेती प्रवद्र्धनका लागि गाउँवासीलाई प्लास्टिक टनेल वितरण गरिएको छ। कार्यक्रमले हावापानी सुहाउँदो खेतीप्रणाली सुरुआतका साथै कृषिमा प्रविधिको विकास भएको छ। पाटापुरमा  जलवायु अनुकूलन गाउँ योजना तर्जुमा सम्पन्न भएको संस्थाले जनाएको छ। 

कार्यक्रमका संयोजक शान्तिराम घिमिरेले नवीकरणीय ऊर्जामा आधारीत संस्थागत सुधारिएको चुलो निर्माण गरिएको जानकारी दिए। तीनवटा संस्थागत चुलो निर्माण गरिएको छ। कार्यक्रम गत वर्ष सञ्चालन भएकोमा यही महिनामा सम्पन्न हुने बताइएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad