प्रदेश १ को उपसभामुखको लागि सत्तारुढ दल र विपक्षी दलले छुटा छुट्टै उम्मेदवार उठाउने तयारी गरेका छन्। प्रदेश १ को उपसभामुखको निर्वाचनको मिति पुस ३० गतेका लागि तोकिएसँगै छुट्टाछुट्टै उम्मेदवार उठाउने तयारीमा दलहरु जुटेका हुन्।
बिहीबार बसेको प्रदेशसभाको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन पुस ३० गते बिहान ११ बजेका लागि तोकेका छन्। प्रदेश सभा सचिवालयले उपसभामुखको निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको छ।
दलीय भागबन्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ। एमालेले उपसभामुखमा भोजपुरकी सिर्जना राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने प्रतिपक्षमा रहेका दलहरुले नेकपा (एकीकृत समाजवादी) की प्रदेश सांसद खिनुलङ्वा लिम्बुलाई उम्मेदवार बनाउने तयारी गरेका छन्।
सभामुखमा उम्मेदवारी नदिएको नेपाली कांग्रेसले उपसभामुखमा खिनुलङ्वा लिम्बुलाई समर्थन गर्ने बुझिएको छ।
अहिलेकै अवस्था कायम रहिरहे एमालेकी सिर्जनाले ५९ मत प्राप्त गर्नेछिन्। एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ सिट रहेको छ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीकी सांसद लिम्बूलाई कांग्रेसको २१ र समाजवादीका ४ गरी २५ सांसदको समर्थन प्राप्त हुनेछ।
९३ जना सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छन्।
केन्द्रमा भएको सहमति अनुसार उपसभामुख एमालेको भागमा परेको छ। सभामुख र उपसभामुख चयन गर्दा दुईमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था धारा १८२ को २ मा उल्लेख छ। जस अनुसार सभामुखमा गौतम चयन भइसकेकाले अब उपसभामुख भने प्रदेश १ ले महिला पाउनेछ।
संविधानको धारा १८२ को उपधारा १ अनुसार प्रदेश सभाका सभामुख र उपसभामुखको चयन प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र गर्ने व्यवस्था छ। प्रदेश १ प्रदेश सभाको पहिलो बैठक गएको पुस १७ गते बसेको थियो।

प्रतिक्रिया