कोशी


झापाको भद्रपुरको बजेट ९१ करोड ३४ लाख

झापाको भद्रपुरको बजेट ९१ करोड ३४ लाख

नेपालखबर
असार १०, २०७९ शुक्रबार १२:५६, झापा

झापाको सदरमुकाम नगरपालिका भद्रपुरको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७९/८० को बजेट नगरसभाले पारित गरेको छ।

बिहीबार नगरसभाको ११औँ अधिवेशनबाट नगर प्रमुख गणेश पोखरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख राधा कार्कीद्वारा पेश गरिएको वार्षिक आयव्यय समेटिएको बजेट नगरसभाले पारित गरेको हो ।

समुन्नत नगर निर्माणका लागि ‘शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा र भौतिक पूर्वाधार : समृद्धिको मुख्य आधार’ नारासहित नगरपालिकाले आगामी नीति तथा कार्यक्रम र बजेट निर्धारण गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ९१ करोड ३४ लाख २३ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । 

उपप्रमुख कार्कीले आर्थिक विकासतर्फ तीन करोड ५१ लाख, सामाजिक विकासतर्फ ३२ करोड ६० लाख ७३ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८३ लाख ५० हजार, संस्थागत विकास÷सेवा प्रवाह÷सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ १६ करोड ४५ लाख र पूर्वाधार विकासतर्फ ३७ करोड ९४ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गर्नुभयो । एक सय ४६ बुँदामा समेटिएको नीति तथा कार्यक्रम विषयगत क्षेत्र समेट्दै नगरपालिकाको उन्नतिका लागि पूर्वाधार विकास, सामाजिक रूपान्तरण, राजस्व बाँडफाँट, नगर गौरव आयोजना, शिक्षा, स्वास्थ्यलगायत क्षेत्र समेटेर तयार पारिएको छ ।

शिक्षातर्फ संविधानले सुनिश्चित गरेको माध्यमिक तहसम्मको निःशुल्क शिक्षालाई कार्यान्वयन गरिने, सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार सुधार गर्दै विद्यालयका कक्षाकोठालाई आधुनिक सिकाइ वातावरण निर्माणका लागि प्रविधिमैत्री कक्षाकोठामा रुपान्तरण गरिनेछ । नगरमा बहुप्राविधिक विद्यालयको स्थापना गर्न आवश्यक नीतिगत व्यवस्था गरिनेलगायतका कार्यक्रम समेटिएका छन् ।

यस्तै स्वास्थ्य स्वास्थ्य संस्थाबाट प्रभावकारी र व्यवस्थित स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य केन्द्रबाट आवश्यक सामग्री तथा औषधिको प्रबन्ध गरिने, गरिबीको रेखामुनि रहेका नागरिक, अल्पसङ्ख्यक, सिमान्तकृत, दलित र विपन्न समुदायका मानिसको स्वास्थ्योपचारलाई सहज बनाउन निःशुल्क स्वास्थ्य बीमा गर्ने र नगर क्षेत्रमा कार्यरत मजदुर तथा ज्येष्ठ नागरिकको वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने शिविर सञ्चालन गरिने, गर्भवती महिलाको स्वास्थ्य सुरक्षा र सुत्केरी आमालाई पोषिलो खानाको प्याकेज उपलब्ध गराइने र नवजात शिशुको निःशुल्क एक हजार दिनको उपचार तथा स्वास्थ्य स्याहार कार्यक्रम सञ्चालन गरिनेलगायतका कार्यक्रम रहेको छ ।

नगरले कृषि तथा पशुपक्षीपालनलाई प्रोत्साहन एवं प्रवद्र्धन गर्न ‘मेचीपारि, तरकारी बारी’, ‘भद्रपुर नगर कृषिजन्य उत्पादनको लहर’लगायतका नारासहित विशेष प्राथमिकता दिएको छ । नगरभित्र सञ्चालन हुने हाट बजार तथा कृषि बजारलाई थप व्यवस्थित गर्दै भद्रपुर बजार र चन्द्रगढी बजारको तरकारी बजारलाई आधुनिक एकीकृत तरकारी बजारका रुपमा विकास गरिने, धान, मकै, तरकारी, पशुपक्षीपालन लगायतको कृषि पकेट क्षेत्र निर्धारण गरी कृषि उत्पादनको दिगो विकास गरिने नगरपालिकाको लक्ष्य छ ।

सामाजिक विकासअन्तर्गत महिलाको पहिचान, पहुँच सुनिश्चित गर्न महिला सशक्तीकरण र क्षमता विकास कार्यक्रम सञ्चालन गरिने जनाइएको छ भने महिलाको आय, रोजगारी र जीवनस्तरमा अभिवृद्धि गर्न आयमूलक र रोजगारमूलक कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

बालविकासका लागि बाल बचाउ, बाल संरक्षण, बाल अधिकार र बाल विकासका मान्यतालाई संस्थागत गर्दै लगिने, ज्येष्ठ नागरिकको स्वस्थ्य बीमा कार्यलाई अभियानका रुपमा सञ्चालन एवं ज्येष्ठ नागरिकमा भएको ज्ञान सीप अनुभवलाई उपयोग गर्न सबै माध्यमिक विद्यालयमा अन्तरपुस्ता ज्ञान हस्तान्तरण गरिने कार्यक्रम पनि नगरपालिकाले ल्याउने भएको छ ।

यस्तै नगरको पूर्वाधार विकासका लागि आवश्यकताका आधारमा सडक, कज्वे, नाला, खानेपानी चौतारा, पुल कल्भर्ट, मठमन्दिर, तटबन्ध, सडक बत्ती खेलकुद मैदान, सार्वजनिकस्थलमा सिसी क्यामेरा जस्ता पूर्वाधार र दूरसञ्चार सुविधाको विकास विस्तार गर्ने नगरपालिकाको कार्यक्रम छ ।

‘शून्य भ्रष्टाचार, जनताप्रति बफादार’ नारालाई आत्मसात् गर्दै नगरबाट हुने सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र चुस्त बनाइने, नगरपालिकाबाट प्रवाह हुने सबै सेवालाई सूचना प्रविधि प्रणाली एवं सफ्टवेयरमार्फत सञ्चालन गर्ने नीति नगरपालिकाले लिने भएको छ ।

यस्तै एक वडा एक खेल मैदानको अवधारणाको विकास गरी प्रत्येक वडामा एउटा खेलमैदानलाई विकास गर्दै लगिने, मेची रङ्गशालामा रात्रिकालीन खेल सञ्चालनका लागि फ्लडलाइट जडानका लागि पहल गरिन, प्रत्येक वर्ष मेची रङ्गशालामा राष्ट्रियस्तरको भद्रपुर गोल्डकप र नगर क्षेत्रमा रहेका खेलका प्रतिभालाई प्रोत्साहित गर्न वार्षिकरुपमा बहुखेल सप्ताह सञ्चालन गरिने जनाइएको छ ।

‘एक घर, दुई फलफूल बिरुवा’ भन्ने नारालाई साथर्कता प्रदान गर्ने कार्यलाई अघि बढाउँदै बिरुवा वितरण कार्यक्रमको सञ्चालन गरिने, प्रदूषणरहित नगर बनाउन चेतनामूलक र सिर्जनात्मक कार्यक्रमको सञ्चालन गर्ने नगरपालिकाको आगामी नीति छ ।

नगरपालिकाले बाढी तथा कटानको समस्या समाधानका लागि तटबन्धन कार्यलाई अघि बढाइने, ‘एक घर, एक धारा’ नारालाई चरितार्थ गर्न खानेपानी विस्तारका लागि ओभरहेड ट्याङ्कीबाट पानी नपुगेका नगरका आवश्यक क्षेत्रमा पाइपलाइन विस्तार एवं पहल गर्ने जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad