आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको गढ मानिने दैलेख निर्वाचन क्षेत्र नम्बर-२ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
यहाँ एमाले र कांग्रेसले २०७९ मा पनि चुनाव लडेका पुरानै अनुहारलाई पुनः मैदान उतार्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एमाले पृष्ठभूमिकै उम्मेदवार बनाएको छ।
जसका कारण यसपटक यस क्षेत्रमा पूर्वसहकर्मीबिच नै चुनावी भिडन्त हुने स्थिति सिर्जना भएको हो।
दैलेख-२ मा २ जना स्वतन्त्रसहित ११ उम्मेदवार छन्।
एमालेले पार्टीका पूर्वपोलिटब्युरो सदस्य लक्ष्मीप्रसाद पोखरलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले दिक्पालकुमार शाहीलाई उठाएको छ। अनि नेकपाले पहिले एमाले रहेका योगेन्द्र शाहीलाई प्रतिस्पर्धामा सामेल गराएको छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्जिनियर बखतबहादुर शाहीलाई अगाडि सारेको छ।
यसैगरी यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट बखतबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट कमलबहादुर बरैमगर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बबिताकुमारी शाही, नेकपा माओवादी (विप्लव) बाट कलम सिंह, आम जनता पार्टीबाट तिर्थाकुमारी वंशी मगर विक उम्मेदवार बनेका छन् भने लालबहादुर कठायत र हिमबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
दैलेख निर्वाचन क्षेत्र नम्बर-२ लाई एमालेको गढ मानिन्छ।
किनभने २०७४ मा भएका स्थानीय र संसदीय दुवै निर्वाचनमा यहाँ एमालेका उम्मेदवार विजयी भएका थिए भने कांग्रेस शून्यमा झरेको थियो।
तर २०७९ को प्रतिनिधि सभा निर्वाचनमा फेरि कांग्रेसका उनै शाहीले एमाले र नेकपा एकीकृत समाजवादीसमेतको गठबन्धनबाट उम्मेदवार बनेर गढ भत्काइदिए। अर्थात् अहिले पनि उम्मेदवार बनेका एमालेका पोखरेलाई हराइदिए।
त्यतिबेला शाहीले २० हजार १८३ मत प्राप्त गर्दा पोखरेलले २० हजार १६ मत ल्याएका थिए।
अहिले एमाले फेरि २०७४ को आफ्नो साख फर्काउने कसरतमा लागेको छ।
२०१९ सालमा जन्मिएका एमाले उम्मेदवार पोखरेल विद्यार्थीकाल २०३५ सालदेखि राजनीतिमा सक्रिय भएका थिए। २०३८ सालमा पार्टीको सदस्यता लिएका उनी २०४३ सालमा छिउडीपुसाकोट पञ्चायतको अध्यक्षमा निर्वाचित भएका थिए।
‘२०४९ सालमा छिउडीपुसाकोट पञ्चायतको अध्यक्षमा निर्वाचित भई लोकतन्त्र स्थापनाका लागि विभिन्न समयसम्म जेलनेलसमेत भागेको छु’, पोखरेलले नेपालखबरसँग भने, ‘विगतदेखि अहिलेसम्म विचलित नभई पार्टीका गतिविधिमा पनि उतिकै सक्रिय छु। पार्टीको पोलिटब्युरो सदस्य तथा संगठन विभागका सदस्यका रूपमा समेत सफलतापूर्वक काम गरिसकेको छु।’
पोखरेलले २०७० सालमा संविधान सभाको सदस्य पनि बनेर संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
२०७९ सालमा प्रतिनिधि सभा सदस्य चुनाव लडेका उनी कांग्रेसका उम्मेदवार शाहीसँग झिनो मतान्तर १५३ ले पराजित भए।
यसपटक उनी कांग्रेसका शाहीसँग अघिल्लो हारको बदला लिने दाउमा छन्।
‘अहिले जनाताले बुझेका छन्’, पोखरेलले भने, ‘जनताले एमाले नै विकासप्रेमी पार्टी भएको महसुस गरेका छन्। उनीहरूले मेरो अभाव महसुस गरेका छन्।’
यस्तै कांग्रेस उम्मेदवार शाही २०३६ सालदेखि राजनीतिमा होमिएका थिए। २०४३ सालमा प्रधानपञ्च पदमा लडे। २०४७ सालमा पार्टीमा जिल्ला सदस्य हुँदै उपसभापति, संगठन विभाग प्रमुख बने। त्यतिबेला जिल्लामा शिक्षक संगठनको स्थापना पनि उनैले गरेका हुन्।
२०४९ देखि २०५४ सम्म जिल्ला विकास समिति दैलेखको सदस्य बनेका शाही हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य भएका छन्।
२०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य पदमा उठेका शाही एमालेका राजबहादुर शाहीसँग हारे। राजबहादुरले ११ हजार ४४५ मत पाउँदा उनले ८ हजार ४६९ मत ल्याएका थिए।
२०७९ को निर्वाचनमा गठबन्धनको बलमा एमाले उम्मेदवार पोखरेलाई हराएर उनी प्रतिनिधिसभा सांसद चुनिएका थिए।
तर यसपालि उनलाई अघिल्लो निर्वाचनमा जस्तो जित्न सहज देखिँदैन।
गत चुनावमा प्राप्त समानुपातिक मतका आधारमा यहाँ कांग्रेस दोस्रो स्थानमा छ। तर अहिले एक्लै चुनावी मैदानमा रहेकाले यस अंकगणितमा फरक पर्ने निश्चित छ।
‘३२ महिनाको कार्यकालमा दैलेख-२ मा विकास निर्माण, स्वास्थ्य, शिक्षा तथा विभिन्न उद्धारमा प्रत्यक्ष संलग्न छु’, उम्मेदवार शाहीले नेपालखबरसँग भने, ‘विगतको भन्दा अहिले सशक्त रूपमा जनताको आशीर्वाद मिल्छ भन्नेमा विश्वस्त छु। म चुनावी अभियानमा जाँदा त्यो खालको वातावरण पनि देखिएको छ। जनतामा उत्साह छ।’
यस्तै नेकपाबाट उम्मेदवार बनेका योगेन्द्र शाही पूर्वएमाले नेता हुन्। उनले विद्यार्थीकालदेखि एमाले राजनीतिमा योगदान गरेका थिए। तर २०७९ मा पार्टीले टिकट नदिएपछि उनी उम्मेदवारी दर्ताको अघिल्लो राति तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दै प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए। त्यसबेला उनी एमालेकै उम्मेदवार विनोदकुमार शाहसँग झिनो मतान्तरले हारे।
उनै योगेन्द्रलाई अहिले नेकपाले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाएको हो।
हाल नेकपाका केन्द्रीय सदस्यसमेत रहेका योगेन्द्र वाम विद्यार्थी आन्दोलन हुँदै राजनीतिमा सक्रिय बनेका नेता हुन्। उनी २०५१ सालमा वाम विद्यार्थी मोर्चाका तर्फबाट १८ वर्षको उमेरमै सुर्खेत शिक्षा क्याम्पसको स्ववियु सभापति बनेका थिए।
२०५५ देखि २०५९ सम्म अनेरास्ववियुको प्रचार विभाग, प्रशिक्षण तथा संगठन विभाग र विदेश विभाग प्रमुखको जिम्मेवारीसमेत उनले वहन गरेका छन्।
यस्तै उनले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालका राजनीतिक सल्लाहकारका रूपमा समेत काम गरेका छन्। साथै ‘युथ भिजन २०२५’ निर्माण कार्यदलको संयोजक भई काम गरेका शाही कर्णाली प्रदेश योजना आयोगका सदस्य तथा उपाध्यक्ष पनि बनेका थिए।
शाहीले समग्र विकास, निर्माण र जनताको उज्यालो भविष्यका लागि आफूलाई नेकपाले उम्मेदवार बनाएको दाबी गरे।
‘राजनीतिक स्थिरता, योजनाबद्ध विकास, नीतिगत सुधार र जनउत्तरदायी नेतृत्व आफ्नो मुख्य एजेन्डा छ’, उनले भने, ‘सक्षम, योग्य र अनुभवी नेतृत्वलाई दैलेखी जनताले अवसर दिनेछन् भन्नेमा विश्वस्त छु।’
यस्तै रास्वपाबाट उम्मेदवार बनेका बखतबहादुर शाही पहिले तत्कालीन नेकपा माओवादी केन्द्रनिकट व्यक्ति हुन्।
माओवादीकै सिफारिसमा उनी विद्युत् उत्पादन कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत बनेका थिए।
दैलेखको दुल्लु घर भएका शाहीले २०४३ सालमा एसएलसी उत्तीर्ण गरेका थिए।
‘३९ वर्षको अवधिभर सिभिल इन्जिनियरिङ र वाणिज्य शास्त्र गरी २ वटा विषयमा स्नातक डिग्री र जलस्रोत व्यवस्थापन विषयमा स्नातकोत्तर डिग्री गरेको छु’, ‘शाहीले नेपालखबरलाई सुनाए, ‘साथै स्वदेश तथा विदेशका गैरसरकारी तथा निजी संस्थामा काम गर्दाको ज्ञान र अनुभवलाई आफ्नो मातृभूमिका निम्ति उपयोग गर्ने उद्देश्यका साथ उम्मेदवार बनेको छु।’
दैलेख क्षेत्र नम्बर २ मा दुल्लु, चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिका तथा ठाँटीकाँध र भैरवी गाउँपालिका पर्छन्। यहाँ अहिले ८१ हजार ५०३ मतदाता, ६६ वटा मतदान स्थल र १०४ वटा मतदान केन्द्र छन्।
२०७४ मा २३ हजार ३२३ मतसहित एमालेका राजबहादुर बुढा विजयी हुँदा कांग्रेसका शिवराज जोशी १६ हजार ६३४ मत ल्याउँदै पराजित भएका थिए।
२०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको मत हेर्दा एमालेले २१ हजार १६१ र कांग्रेसले १८ हजार ६१२ भोट प्राप्त गरेका छन्। यस्तै माओवादीले ५ हजार ७५५ र एकीकृत समाजवादीले ८३३ मत पाएका थिए।
यस्तै समानुपातिक मतमा पनि नेकपा एमाले अग्रस्थानमा थियो।
एमालेले १७ हजार ३१७, कांग्रेसले १५ हजार ५०४, (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी) ले संयुक्त ६ हजार ३५४, नेपाल मजदुर किसान पार्टीले ३ हजार ८९८, नेकपा एकीकृत समाजवादीले १ हजार ७५, राष्ट्रिय स्वतन्त्र पार्टीले ९०५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१८ मत प्राप्त गरेका थिए।
Shares

प्रतिक्रिया