कर्णाली


सुर्खेतमा फिल्डमा खटिए १६ सय निर्वाचन प्रहरी

चुनाव अवधिभर कर्णालीका १० वटै जिल्लाका कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई
सुर्खेतमा फिल्डमा खटिए १६ सय निर्वाचन प्रहरी

दिनेश बुढा
फागुन ५, २०८२ मंगलबार ९:५१, सुर्खेत

सुर्खेतमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरी फिल्डमा खटाइएको छ।

दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सोमबारदेखि १ हजार ६२८ निर्वाचन प्रहरीलाई मतदान केन्द्र र मतदानस्थलमा तैनाथ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार नेपाली प्रहरी र सशस्त्र प्रहरीमा गरी सुर्खेतमा १ हजार ८ सय ४० निर्वाचन प्रहरी भर्ना भएका थिए। 

उनीहरूलाई दुई निर्वाचन क्षेत्रअन्तर्गत रहेका ३५ भन्दा बढी प्रहरी युनिट मातहत रहने गरी खटाइएको उनले बताए। प्रहरीको मातहतमा निर्वाचनपूर्वका आवश्यक तयारीमा सघाउने उनीहरू मतदानका दिन पहिलो सुरक्षा घेरामा खटिने छन्।

निर्वाचन प्रहरीको मूल लक्ष्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनु हो। डीएसपी बुढाथापाका अनुसार दुवै निर्वाचन क्षेत्रमा नौ सयभन्दा बढी प्रहरी खटिने छन् भने आवश्यकताअनुसार सशस्त्र प्रहरी र नेपाली सेना पनि तैनाथ हुनेछन्।

निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाली सेना यसअघि नै सम्बन्धित निर्वाचन क्षेत्रमा तैनाथ भइसकेको प्रहरी प्रवक्ता बुढथापाले जानकारी दिए।

उनका अनुसार निर्वाचनका लागि खटाइएका सुरक्षाकर्मी, निर्वाचन अधिकृत, कर्मचारी आवश्यक सामग्रीसहित फागुन १८ गते सम्बन्धित मतदान केन्द्रमा पुग्ने छन्। 

सुर्खेतमा हालसम्म निर्वाचनलाई असर गर्ने कुनै खाले सुरक्षा चुनौती नदेखिएको उनको भनाइ छ। 

‘जिल्ला सुरक्षा समितिले सुर्खेतका दुवै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरिरहेको छ,’ उनले नेपालखबरसँग भने, ‘चुनावका समयमा कुनै अवाञ्छित गतिविधि भए तत्काल एक्सन लिने गरी सुरक्षा योजना बनाइएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन प्रहरीले कुनै कसर बाँकी राख्दैन।’

उनले निर्वाचन अवधिभर कर्णालीका १० वटै जिल्लाका कारागार कार्यालय सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको बताए। 

१४० मतदान केन्द्र, दुई लाख मतदाता 
सुर्खेतका दुई निर्वाचन क्षेत्रमा कुल एक सय ४० मतदान स्थलमा तीन सय दुई मतदान केन्द्र छन्। जसमा क्षेत्र नम्बर १ मा ७२ मतदान स्थल र एक सय ४८ मतदान केन्द्र छन्। 

यस्तै सुर्खेत-२ मा ६८ मतदान केन्द्र र एक सय ५४ मतदान स्थल रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दलाल चौलागाईंले जानकारी दिए।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा गुर्भाकोट, भेरीगंगा र लेकवेशी नगरपालिका, सिम्ता र चिङ्गाड गाउँपालिका, वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ वडा पर्दछन् भने सुर्खेत-२ मा वीरेन्द्रनगर नगरपालिकाका १ देखि १४ वडासम्म, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका पर्दछन्। 

सुर्खेतमा यस चुनावका लागि जम्मा २ लाख ४८ हजार ९४३ मतदाता कायम छन्। जसअनुसार सुर्खेत-१ मा ६० हजार ३९६ र सुर्खेत-२ मा ६१ हजार ४९३ मतदाता छन्। 

जसमा पुरुष १  लाख २१ हजार ८८९ र महिला १ लाख २७ हजार ५४ जना छन्। 

जसअन्तर्गत गुर्भाकोट नगरपालिकामा ३५ हजार ६९०, चिङ्गाड गाउँपालिकामा १० हजार २५, चौकुने गाउँपालिकामा १५ हजार ९५, पञ्चपुरी नगरपालिकामा २३ हजार २०५ मतदाता छन्। 

यस्तै बराहताल गाउँपालिकामा १७ हजार ४०, वीरेन्द्रनगर नगरपालिकामा ७१ हजार ८४०, भेरीगंगा नगरपालिकामा ३२ हजार ७९४, लेकवेशी नगरपालिकामा २२ हजार १४० र सिम्ता गाउँपालिकामा १ हजार ६७५ मतदाता रहेको प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ।

दुई सांसद पदका लागि सुर्खेत-१ मा १३ र सुर्खेत-२ मा १७ गरी ३० उम्मेदवार चुनावी मैदानमा छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलका साथै स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।

सुर्खेतमा निर्वाचन प्रहरी आफ्नो कार्यक्षेत्रमा प्रस्थान गर्दाका थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad