कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले संयुक्त सन्देश लेखेका छन्। सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भेटवार्तापछि अहिलेका समसमायिक राजनीतिक तथा समाजिक घटना विषयमा संयुक्त सन्देश दिएका हुन्।
उक्त संयुक्त सन्देशमा भ्रष्टाचार नियन्त्रण, सुशासन तथा स्थिर सरकार जस्ता मागहरु लिएर सडकमा आएको जेनजी पुस्ताको प्रदर्शनपछि भएको घटनामा मृत्युहुनेमा श्रद्धाञ्जली र घाइतेहरुप्रति स्वास्थ्य लाभको कामना गरेका छन्।
यस्तै उक्त सन्देशमा जेनजी पुस्ताका प्रदर्शन शान्तिपूर्ण रहने आयोजकहरुको पूर्वघोषणा विपरित सर्वोच्च अदालत, संघीय संसद, राष्ट्रपति भवन, ऐतिहासिक सिंहदरवार, प्रदेसभा भवन, सार्वजनिक, निजि तथा व्यापारिक संरचना लगायत सयौं संरचनामाथि आगजनी, तोडफोड तथा विध्वंसात्मक र विनाशकारी घटनाहरु कसले र कसरी घटाइएको भन्ने विषयमा घटनाको निष्पक्ष छानविन गरि दोषीमाथि कानुन बमोजिम कारवाही गर्न माग गरिएको छ।
उक्त सन्देशमा लेखिएको छ, ‘आम नागरिक र खास गरि युवा पुस्ताको बीचमा उत्पन्न निराशालाई बुझ्ने र समस्या समाधान गर्न भइरहेका पहलहरू प्रर्याप्त नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढ्नुलाई अन्थया मान्नु हुँदैन। विगतमा देखिएका यस्ता कमजोरीहरुलाई सच्याउनु र आत्म समीक्षा र आ–आफ्नो ठाँउबाट सुधार गर्दै युवा पुस्तासहित नागरिकमा भरोसा बढाउदै जानुपर्ने वास्तविक यर्थाथतालाई हामी सबैले स्वीकार्नै पर्दछ। अहिले देखिएको विषम परिस्थितिमा प्राप्त उपलब्धीको रक्षा गर्दै सम्हालिनु, थप एकतावद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु नै समयको माग हो।’
यस्तै, उनीहरूले राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सामु गम्भीर चुनौती उत्पन्नसँगै सुदृढ र रचनात्मक भूमिकाको माग भइरहेको यस विषम परिस्थितिमा सम्पूर्ण राजनितिक दलहरु, नागरिक समाज, युवा पुस्तालगायत सवैमा धैर्यरही संवैधानिक तथा लोकतान्त्रिक मूल्य मान्यता अनुसार थप एकतावद्ध हुन अपिल पनि गरेका छन्।
Shares

प्रतिक्रिया