जिल्ला प्रहरी कार्यालय सुर्खेतले जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट तथा अराजकता मचाउनेहरुको विवरण मागेको छ।
सोमबार एक सूचना जारी गर्दै प्रहरीले यस्ता गतिविधिमा संलग्नहरुको तस्बीर तथा भिडियोहरु ईमेलमा पठाएर सहयोग गर्न आग्रह गरेकोट छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले आन्दोलनका नाममा अराजकता फैलाउनेहरूको खोजी कार्य सुरु गरिएको बताए।
उनका अनुसार २३ र २४ भदौमा सुर्खेत जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा भएका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आमसर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्वीर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू उपलब्ध गराउन सुर्खेत प्रहरीले अनुरोध गरेको छ।
डिएसपी बुढथापाले निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाट मच्चाउनेहरूलाई कानुनी दायरामा ल्याएर कसुरअनुसार कारबाही जानकारी दिए।
सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचार र अनियमिताका विरुद्धमा सडकमा उत्रिएको जेनजी प्रदर्शनकारीले कर्णालीका महत्त्वपूर्ण सरकारी तथा निजी गरी ५२ बढी भवनहरु र सवारी तथा निजी सवारी साधानहरु ध्वस्त बनाएका छन्।
साथै विभिन्न सार्वजनिक पदधारण गरेका व्यक्तिहरूको निजी सम्पत्तिमा पनि अराजक युवाहरूको हुलले व्यापक क्षतिसँगै लुटपाट गरेको थियो ।
Shares

प्रतिक्रिया