कर्णाली


कर्णालीमा तरकारी र फलफूल उत्पादन बढ्यो

कर्णालीमा तरकारी र फलफूल उत्पादन बढ्यो

नेपालखबर
साउन ७, २०८२ बुधबार १८:३९, सुर्खेत

कर्णाली प्रदेशमा खाद्यान्न बाली उत्पादनको तुलनामा तरकारी र फलफुल बाली उत्पादन बढेको छ। नेपाल राष्ट्र बैंकले गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन (२०८१/८२) अर्धवार्षिक प्रतिवेदनले खाद्यान्न बाली उत्पादनमा ह्रास र तरकारी र फलफूल खेतीमा बृद्धि भएको देखिएको छ। खाद्यान्न बाली उत्पादनमा ह्रास आएपनि तरकारी र फलफूल उत्पादनमा भने बृद्धि भएको तथ्यांक छ।  

कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भू–क्षेत्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.११ प्रतिशतले घटेको छ। प्रमुख खाद्य बालीमध्ये धान ५.११ प्रतिशत, मकै ४.१६ प्रतिशत, गहुँ ४.८६ प्रतिशत, कोदो ११.५२ प्रतिशत र जौले ढाकेको क्षेत्रफल १.३९ प्रतिशतले ह्रास आएको छ। तर, तरकारी र फलफुल बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ। प्रतिवेदनमा तरकारी ३३.८८ प्रतिशत र फलफुल ८.१७ प्रतिशत बढेको उल्लेख छ। 

नेपाल राष्ट्र बैंक सुर्खेतका प्रमुख तथा उप–निर्देशक राजनप्रसाद रेग्मीले कर्णाली प्रदेशमा समग्र कृषि बालीको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.०६ प्रतिशतले बढेको जानकारी दिए।  उनकाअनुसार खाद्य, नगदे तथा अन्य बालीको उत्पादन ४.८३ प्रतिशतले घटेको छ। 

आर्थिक वर्ष २०८१/८२ को प्रथम अर्धवार्षिक अवधिमा तरकारी उत्पादन र फलफुल खेतीको उत्पादन क्रमशः २२.७४ प्रतिशत र ४४.७३ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ८.७१ प्रतिशत हिस्सा ओगटेको छ।

यस्तै, आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफलमा ०.११ प्रतिशतले कमी आई ३ लाख ७३ हजार ४१६.२५ हेक्टर कायम भएको उल्लेख छ। गत वर्ष यो अवधिमा यस्तो क्षेत्रफल ०.०१ प्रतिशतले वृद्धि भएको थियो। 

उप–निर्देशक राजनप्रसाद रेग्मीका अनुसार कर्णाली प्रदेशको खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ३.४१ प्रतिशतले कमी आएको छ। यो गत आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्मको मात्रै तथ्यांक हो। जसमा धान र मकै बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ५.११ प्रतिशत र ४.१६ प्रतिशतले कमी आएको उनल बताए। 

त्यसैगरी, गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ४.८६ प्रतिशत, ११.५२ प्रतिशत, १.३९ प्रतिशत र १२.२० प्रतिशतले कमी आएको छ।

कर्णाली प्रदेशमा रहेका १० जिल्लाहरुमध्ये खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफलमा जुम्ला जिल्लाले सबैभन्दा धेरै १९.१७ प्रतिशत र डोल्पा जिल्लाले सबैभन्दा कम २.३१ प्रतिशत हिस्सा ओगटेको छ। खाद्य तथा अन्य बालीले समग्रमा ८१.२० प्रतिशत हिस्सा ओगटेको छ।

यता बागवानी र तरकारी बालीले ढाकेको क्षेत्रफल क्रमश: १.५७ प्रतिशत र ४६.३२ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म तरकारी तथा बागवानी बालीले ढाकेको क्षेत्रफल समग्रमा ३३.८८ प्रतिशतले वृद्धि भएको उल्लेख छ। कर्णालीका १० जिल्लामध्ये तरकारी र बागवानी क्षेत्रमा सल्यान जिल्लाले सबैभन्दा धेरै २९.१३ प्रतिशत र मुगु जिल्लाले सबैभन्दा कम १.२६ प्रतिशत हिस्सा ओगटेका छन्। 

तरकारी तथा बागवानी बालीले समष्टिगत कृषि बालीले ढाकेको कुल क्षेत्रफलको ७.५४ प्रतिशत हिस्सा ओगटेको उप–निर्देशक रेग्मीले बताए। उनकाअनुसार आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म कर्णाली प्रदेशमा फलफूल बालीले ढाकेको क्षेत्रफल ८.१७ प्रतिशतले वृद्धि भई ३६ हजार २७४ हेक्टर पुगेको छ भने कुल फलफूल बालीले ढाकेको क्षेत्रफलमध्ये सबैभन्दा बढी जुम्ला जिल्लाले ५८.३९ प्रतिशत क्षेत्रफल ओगटेको छ, भने सबैभन्दा कम रुकुमपश्चिमले ०.७१ प्रतिशत भू–भाग ओगटेको छ। 

कर्णाली प्रदेशको खाद्य तथा अन्य बालीको उत्पादनमा ४.८३ प्रतिशतले ह्रास आएको छ। प्रमुख कृषि बालीमध्ये मकै बालीको उत्पादन ४.२४ प्रतिशतले वृद्धि भएको छ। 

त्यस्तै गत अवधिमा १२.०४ प्रतिशतले वृद्धि भएको धान उत्पादन समीक्षा अवधिमा १०.२५ प्रतिशतले घटेको छ। कर्णाली प्रदेशमा तरकारी तथा बागवानी उत्पादन २२.७४ प्रतिशतले वृद्धि भई दुई लाख ३१ हजार चार सय २८ मेट्रिक टन पुगेको छ। 

त्यसैगरी आँप, केरा र स्याउ उत्पादन क्रमशः १२.७४ प्रतिशत, ४१.०७ प्रतिशत र २.८० प्रतिशतले वृद्धि भएको उल्लेख छ। प्रदेशको कुल तरकारी तथा बागवानी उत्पादनको सबैभन्दा बढी हिस्सा सल्यान जिल्लाको ३५.० प्रतिशत रहेको छ, भने मुगु जिल्लाको सबैभन्दा न्यून ०.९० प्रतिशत हिस्सा रहेको छ। त्यस्तै फलफूल मात्रै उत्पादनमा सबैभन्दा बढी हिस्सा ३०.९४ प्रतिशत सुर्खेत जिल्लाको रहेको छ, भने सबैभन्दा कम जाजरकोट जिल्लाको २.६९ प्रतिशत रहेको छ।

मासु र दूध उत्पादन घट्यो
कर्णालीमा पशुपंछी तथा माछा उत्पादन समीक्षा अवधिमा दूध उत्पादनमा ९.०८ प्रतिशतले ह्रास आई ४३ हजार ६०२.१३ हजार लिटर कायम भएको छ। गत अवधिमा यो उत्पादन ८.४३ प्रतिशतले वृद्धि भएको थियो। त्यस्तै मासु उत्पादनमा १.०८ प्रतिशतले ह्रास आएको छ। गत वर्ष यो अवधिमा १७.३१ प्रतिशतले कमी आएको थियो।

तर, कर्णालीमा अण्डा उत्पादनमा भने १३.३२ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष यो अवधिमा उत्पादनमा २.०५ प्रतिशतले ह्रास आएको थियो। यता माछा उत्पादन १.१३ प्रतिशतले वृद्धि भई २०९.४६ मेट्रिक टन पुगेको प्रतिवेदनमा उल्लेख छ। 

प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रहरुमा भेडा, च्याङ्ग्रा र चौरीपालन व्यवसाय प्रवद्र्धन गर्न सकिने उच्च सम्भावना रहेको छ। यस्ता क्षेत्रमा पशुपालन व्यवसाय प्रवद्र्धन भएमा ऊन, दूध, छुर्पी र मासुको उत्पादन समेत वृद्धि हुने देखिन्छ। अन्य पहाडी जिल्लाहरुमा व्यावसायिक बाख्रापालन, गाई÷भैंसीपालनको सम्भावना रहेको छ।

तर, कर्णाली प्रदेशको जुम्ला लगायतका हिमाली जिल्लामा व्यावसायिक स्याउ, ओखर खेती तथा अन्य पहाडी जिल्लाहरु दैलेख, सुर्खेत, कालिकोट, सल्यानमा व्यावसायिक सुन्तला, केरा, आँप खेतीको उच्च सम्भावना रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad