कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा लुतो फालिएको छ। जुम्ली एकता समाज सुर्खेतको आयोजनामा लुतो फालिएको हो।
समाजका अनुसार कर्णालीको मौलिक पर्व साउने सङ्क्रान्तिको अवसरमा वीरेन्द्रनगर नगरपालिकाको अगाडी देउडा पार्कमा सल्लाको झरोसहितको राँका (आगो) बालेर लुतो
फालिएको हो।
कर्णाली प्रदेशका सबै जिल्लाहरूमा साउन १ गते साउने सङ्क्रान्तिका दिन यसरी नै आगो बालेर लुतो फाल्ने चलन छ।
सामान्यतः जेठ असारमा किसानहरू लामो समय बर्खे खेती लगाउनका लागि हिलोमा काम गर्ने गर्दछन्। करिब दुई महिनासम्म किसानहरू हिलोमै रहेर काम गरेपछि हिलोबाट लुतो जस्ता छालासम्बन्धी रोग लाग्ने सम्भावना रहन्छ।
त्यसपछि उनीहरूले जेठबाट सुरु गरेको धान रोप्ने लगायतको सबै काम असार महिनामा सकेर साउन १ गते बेलुका साँझ पर्ने समयमा लुतो फाल्ने गर्दछन्।
साउने संक्रान्तिको दिन हुम्ला, मुगु, जुम्ला, डोल्पा लगायतका जिल्लामा प्रत्येक घरका छतमा र अन्य जिल्लाहरूमा घर बाहिर ओटालोमा राँको बालेर यो पर्व मनाउने गर्दछन्।
यो पर्वमा राँका (आगो) बालेको समयमा एक गाउँकाले अर्को गाउँका वा घर वारीपारीकालाई गाली गर्ने प्रचलन छ।
यस्तै, सोही अवसरका दिन कर्णाली प्रदेश सरकारले आज कर्णाली प्रदेशभर सार्वजनिक बिदा समेत दिएको थियो।








Shares

प्रतिक्रिया