जाजरकोट जिल्लामा भूकम्पपछिकाे पुनर्निर्माणका प्रगतिबारे नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन विभागका प्रमुख निरज आचार्यले जाजरकोटको चौथो बैठकमा जानकारी गराएका छन्। उनले पार्टीको निरन्तर पहलकदमी र खबरदारीका कारण जाजरकोटमा पुनर्निर्माणका कामले गति लिएको दाबी पनि गरे।
भूकम्पपछिको पुनर्निर्माणका लागि ‘विपद् पुनःस्थापना, प्रबलीकरण तथा पुनर्निर्माण कार्यविधि’ संशोधनसहित पारित भइसकेको उनको भनाइ छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र पुल्चोक इन्जिनियरिङ क्याम्पससँग सहकार्य गरी भेरी नगरपालिका वडा नं. १ र ३ तथा नलगाड नगरपालिका वडा नं. १ बाट पहिलो चरणको काम सुरु गर्न आवश्यक तयारी पूरा भएको उनले बताए।
उनका अनुसार, २०७४ मा आएको बाढी र पहिरोका कारण ठूलो क्षति व्यहोरेकाे बारेकोटका ७१ घरपरिवारका लागि राहत रकम निकासा भएको छ। पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउन हिमाली, पहाडी र तराई क्षेत्रका लागि क्रमशः ५ लाख, ४ लाख र ३ लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ।
उनले पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट ३ अर्ब रुपैयाँ बजेट विनियोजन भएको जानकारी पनि दिए।
‘हामीले थालनी गरेका प्रयासहरूका कारण अहिले जाजरकोटमा पुनर्निर्माण र पुनर्स्थापनाका काम अघि बढेका छन्। अब यी कामलाई समयमै सम्पन्न गर्न प्रभावकारी कार्यान्वयन र अनुगमनमा ध्यान दिनुपर्छ,’ उनले भने।
बैठकमा सहभागी नेताहरूले पुनर्निर्माण कार्यलाई थप प्रभावकारी बनाउन केन्द्र, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताएका थिए। साथै, पीडितका लागि छुट्याइएको रकमलाई पारदर्शी रूपमा वितरण गर्नुपर्नेमा उनीहरूको जोड थियो।
Shares

प्रतिक्रिया