कर्णाली


ग्रामथानपछि त्रिपुरासुन्दरी-५ मा पनि कांग्रेस छाडी माओवादी बनेका उम्मेदवार विजयी

ग्रामथानपछि त्रिपुरासुन्दरी-५ मा पनि कांग्रेस छाडी माओवादी बनेका उम्मेदवार विजयी

त्रिपुरासुन्दरी-५ मा विजयी नरबहादुर झाँक्री


नेपालखबर
मंसिर १७, २०८१ सोमबार ११:५१, काठमाडौँ

नेपाली कांग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका अर्का उम्मेदवार पनि भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को उपनिर्वाचनमा माओवादी उम्मेदवार नरबहादुर झाँक्री निर्वाचित भएका हुन्। 

विजयी उनले १ सय ८१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले १ सय १६ मत मात्र ल्याए। कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्र पाए। 

उपनिर्वाचनमा विजयी झाँक्री २०७९ को आम निर्वाचनमा भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए भने ८२ मत मात्र ल्याएर तेस्रो स्थानमा थिए।

त्यसबेला एमाले उम्मेदवार नन्दलाल रोका १ सय ८ मतसहित विजयी हुँदा माओवादी केन्द्रका जंगबहादुर रोकायालाई १ सय २ मत प्राप्त भएको थियो। 

गत स्थानीय तहको निर्वाचनमा विजयी एमाले र निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवारलाई पछि पार्दै झाँक्री अहिले माओवादीबाट विजयी भएका हुन्। 

सो उपनिर्वाचनमा यसअघि मोरङको ग्रामथान गाउँपालिकामा पनि कांग्रेस छाडेर माओवादी बनेका उम्मेदवार नमोनारायण माझी विजयी भइसकेका छन्। 

माओवादी केन्द्रबाट विजयी माझी २०७४ को स्थानीय तह निर्वाचनमा ग्रामथान गाउँपालिका-१ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए। 

२०७९ को निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रूपमा वडाध्यक्ष उम्मेदवार बनेका उनी दोस्रो स्थानमा रहँदै पराजित भए। 

गत भदौमा मात्र उनी नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका थिए। उनलाई माओवादीले यो उपनिर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको थियो। 

यसअघि नेपाली कांग्रेसले विजय हासिल गरेको यो गाउँपालिकामा निकै ठूलो मतान्तरसहित उनी विजयी भएका हुन्।

६ हजार ९ सय ६९ मतसहित माओवादीका माझी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत मात्र पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad