ad ad

कर्णाली


चाडपर्वको मौकामा चर्को भाडा लिएको भन्दै कर्णालीका नागरिक आक्रोशित

चाडपर्वको मौकामा चर्को भाडा लिएको भन्दै कर्णालीका नागरिक आक्रोशित

फाइल तस्बिर


दिनेश बुढा
असोज १२, २०७९ बुधबार १५:४, सुर्खेत

काठमाडौंदेखि सुर्खेतसम्मको हवाइ भाडा भारतको राजधानी दिल्ली गएभन्दा महंगो छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ। 

तर, यो यथार्थ हो। निजी क्षेत्रको सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको राजधानी नयाँ दिल्लीभन्दा काठमाडौं–सुर्खेतको महँगो भाडा लिइरहेको छ। 

यसले चाडपर्वको बेला कर्णालीबासीलाई चिन्तित बनाएको छ।

अनलाइन टिकट बुकिङ्गमा १ घण्टा ४५ मिनेटको दूरीमा रहेको दिल्लीसम्मको टिकट १४ हजारमै उपलब्ध छ तर सोही एयरकै सुर्खेत–काठमाडौंको भाडा भने १४ हजार ८ सय ९५ रुपैयाँ रहेको छ। जब कि काठमाडौं सुर्खेतको हवाइ दूरी १ घण्टा हो। 

काठमाडौंबाट सुर्खेत र नयाँ दिल्लीको भाडा दर

चाडपर्वका बेला अस्वाभाविक भाडा वृद्धि गरिएपछि सामाजिक सञ्जालमा बुद्ध एयरको आलोचना भएको छ। कर्णालीलाई संघीय राजधानी काठमाडौंसँग हवाइ सेवामा जोड्दै आएको एकमात्र बुद्ध एयरले लोड पेनाल्टीका नाममा नागरिकको ढाड सेकिने गरी भाडा असुलेको गुनासो बढेको हो। 

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत बुद्ध एयरले मनलाग्दी असुल्दै आएको भाडा नियमन गर्न सरकारसँग माग गरेका छन्। ४२ सिटे जहाजमा एक हप्ता अघिसम्म ११ हजार लिने गरेको बुद्धले अहिले चाडपर्वको अवसरमा टिकट प्याक भएको बहानामा १५ हजार लिने गरेको भन्दै कँडेलले विरोध जनाएका छन्। 

उनले लेखेका छन्, ‘के एउटै सामानको मुल्य कहिले कति कहिले कति राखेर बेच्न पाइने हो? बढी बिक्री हुन लाग्यो भनेर बढाउने र कम हुन लाग्यो भनेर घटाउने हुन्छ?’ 

हवाइ भाडामा मनलाग्दी मूल्य निर्धारण गरे यातायात व्यवसायी र अन्य व्यवसायीले आफूखुसी मूल्य बढाए सरकारले के गर्ने? कँडेलको प्रश्न छ। प्रदेश सरकारप्रति आक्रोश पोख्दै कँडेलले भाडा समायोजन गरी कम्तीमा ७० प्रतिशत सिट सस्तो मूल्यमा पाउने व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्। दुवै रुटमा यात्रु प्याक हुँदासमेत बढी भाडा तिर्नुपर्ने बुद्धको व्यवसायिक छुटमाथी कँडेलले टिप्पणी गरेका छन्।  

यस्तै, सुर्खेत–काठमाडौं, काठमाडौं–सुर्खेत रुटको दीर्घकालीन भाडाको समस्या समाधान गर्न परीक्षण उडान सफल भइसकेका अन्य कम्पनीलाई उडान भर्न दिइनुपर्नेमा उनको जोड छ। कर्णालीका नागरिकप्रति राज्य गम्भीर हुन नसक्दा वर्षेनी चाडपर्वका बेला नागरिकले सास्ती व्यहोर्नुपरेको छ ।

यस्तै वीरेन्द्रनगर–८, का धर्मराज आचार्यले पनि बुद्धले मनलाग्दी तोकेको भाडा दर अस्वाभाविक रहेकाले नियमन गर्नुपर्ने बताए। 

उनी भने, ‘चाडपर्वका बेला यात्रुलाई सहुलियत दिनुको साटो दोब्बर भाडा लिने बुद्ध एयरको विकल्प खोज्नुपर्छ, परीक्षण उडान गरेको गुण एयरलाइन्सलाई दबाब दियर हुन्छ या सहुलियत दिएर हुन्छ भाडादर घटाउनुपर्छ।’ 

तर, बुद्ध एयरले भने यो कुरा मान्न तयार छैन्। बुद्धका प्रतिनिधि दिपेन्द्र कर्णले भाडा बढाइएको भनेर आएका समाचार निराधार रहेको बताए। 

कर्णले भने, ‘भाडा निर्धारण हामीले गर्ने होइन, प्राधिकरणले गर्ने हो, प्राधिकरणले तोकेको भाडाभन्दा हामीले १ रुपैयाँ बढी लिँदैनौँ।’ 

कर्णालीका नागरिकलाई हवाइ सेवामा सहजता ल्याउन एकतर्फि नियमित उडान भर्ने गरेको भन्दै चाडपर्वका बेला सिट खाली हुँदा ‘लोड पेनाल्टी’ मिलान गर्न र इन्धनमा भएको मूल्य समायोजनले भाडा महंगो परेको कर्णको भनाइ छ। 

धावन मार्गका कारण ठुला जहाज अवतरण हुन नसक्नुले पनि भाडा महँगो पर्न गएको उनले स्पष्ट पारे। कर्णका अनुसार दशैंका कारण यात्रुको संख्या कम हुँदा बढेको भाडा १०/१५ दिनमै पहिलेकै अवस्थामा कायम हुनेछ।  

यस्तै, नेपाल नागरिक उड्ययन प्राधिकरणले सुर्खेत–काठमाडौं भाडा दर न्यूनतम ११ हजार ४ सय तोकेकोमा असोज २८ गतेका लागि बुद्धले ८ हजार ५ सयदेखि १४ हजार ८ सय ९५ सम्म टिकट दर तोकेको छ।

हालको धावनमार्गलाई उत्तरतर्फ विस्तार गरेर एक हजार ५ सय ५५ मिटर पु¥याउँदा ७० देखि ८० सिटे ‘एटीआर ७२’ जहाज अवतरण गराउन मिल्ने गरी धावनमार्ग विस्तारको योजना अगाडि सारिएको थियो। 

तर, स्थानीयको अवरोधपछि सो योजना स्थगित भएको छ। हाल सुर्खेत विमानस्थलमा ४० सिटे ‘एटीआर ४२’ जहाज मात्रै अवतरण हुने गरेको छ। 

काठमाडौं–सुर्खेत सिधा उडानका लागि केही समय अघि गुण एयरले ७२ सिटे जहाजको सफल परिक्षण उडान गरेको थियो। तर, हाल बुद्धसँग प्रतिस्पर्धा गर्न नसक्दा गुणले नियमित उडान स्थगित गरेको अवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .